फैलिँदै डेंगु, सबैभन्दा बढी घोराहीमा संक्रमित

Read Time = 6 mins

-विवेक खड्का
दाङ । दाङको घोराही क्षेत्रमा देखिएको डेंगु लमही र तुलसीपुर क्षेत्रमा पनि देखिन शुरु गरेको छ ।
सबैभन्दा बढी घोराही क्षेत्रमा डेंगु संक्रमित रहेको पाइएको छ । घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार भदौ १६ गतेसम्म घोराही उपमहानगरपालिका अन्तर्गतका अस्पतालहरूमा परीक्षणको क्रममा एक सय ४८ जनामा डेंगु संक्रमण भएको छ । ज्वरो आएर जाँच गर्न अस्पताल पुगेकाको डेंगु परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । भदौ १६ गतेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै ५८ जनामा संक्रमण देखिएको थियो । तीन दिनमै १९ गते आइतवारसम्म पोजेटिभको संख्या बढेर एक सय ३२ पुगेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब प्रमुख दामोदर शर्माले साउन १ गतेदेखि ३१ गतेसम्म एक सय दुई जनामा डेंगु जाँच भएकोमा १६ जनामा पोजेटिभ देखिएको जानकारी दिनुभयो । साउनमा ८६ नेगेटिभ रिपोर्ट आएको थियो । भदौ १ गतेदेखि १९ गते साँझसम्म दुई सय ६४ जनामा डेंगु परीक्षण गर्दा एक सय १६ जनामा पोजेटिभ र एक सय ४८ नेगेटिभ रिपोर्ट आएको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १५ गते ३२ जनामा डेंगु परीक्षण गर्दा २८ जनामा डेंगु पोजेटिभ रिपोर्ट आएको थियो ।

‘दैनिक १०/१२ जना जतिमा डेंगुको पोजेटिभ रिपोर्ट आएको छ’– ल्याब प्रमुख शर्माले बताउनुभयो । उहाँका अनुसार आइतबार साँझसम्म १० जनामा डेंगु पोजेटिभ देखिएको छ । निजी अस्पतालमा समेत डेंगुका बिरामी बढेको पाइएको छ । भदौ १६ गतेसम्मको तथ्यांकअनुसार घोराहीकै नेशनल प्याथोलोजीमा ११ जना, मितेरी अस्पतालमा तीनजना, गोरखा अस्पतालमा १३ जना, बुद्ध अस्पतालमा ४३ जना र दीपज्योति अस्पतालमा २० जनामा डेंगु पोजेटिभ देखिएको थियो ।

घोराहीमा मात्रै नभएर तुलसीपुर र लमहीमा समेत डेंगुका बिरामी बढेको पाइएको छ । स्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा नौजना डेंगु संक्रमित बिरामी फेला परेका छन् भने लमही अस्पतालमा चारजना फेला परेका छन् । स्वास्थ्य कार्यालय दाङका ल्याब टेक्निसियन अधिकृत देवीलाल डाँगीले मेडिकलमा गएका बिरामीको रेकर्ड नआएको जानकारी दिनुभयो । ‘यो प्रादेशिक अस्पताल र लमही अस्पतालको तथ्यांक हो, मेडिकलको रेकर्ड आएको छैन’– उहाँले भन्नुभयो– ‘अन्य घोराही, तुलसीपुर र लमही बाहेकका पालिकाबाट डेंगु संक्रमितको विवरण आएको छैन ।’

दाङका अन्य पालिकामा संक्रमित भएको जानकारी नआएको उहाँले जानकारी दिनुभयो । ल्याब टेक्निसियन अधिकृत डाँगीले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान चलाउनुपर्ने बताउनुभयो । ‘लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्ने, झुलमा सुत्ने, सफा पानी जम्ने ठाउँ नराख्ने गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘सबै सचेत हुनुपर्ने अवस्था छ ।’
दाङमा अघिल्ला वर्षहरुमाभन्दा यस वर्ष धेरैमा डेंगु संक्रमण भएको देखिएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा ४१ जना पुरूष र ३० जना महिलामा गरी ७१ जनामा डेंगु संक्रमण देखिएको थियो ।
स्वास्थ्य कार्यालय दाङले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७७/७८ मा नौजना पुरूष र छजना महिला गरी १५ जनामा डेंगु संक्रमण देखिएको थियो । आव ०७८/७९ मा जिल्लामा छजनामा मात्रै देखिएको डेंगु संक्रमण आव २०७९/०८० को दुई महिना नपुग्दै भदौ १९ गतेसम्म पोजेटिभ साढे दुई सय पुग्न लागेका छन् ।

घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बिरामी भएर स्वास्थ्य संस्था पुगेर परीक्षणका क्रममा डेंगु संक्रमण देखिएकाको अवस्था हेर्दा लक्षण नदेखिएको डेंगु संक्रमित धेरैको संख्यामा रहेको हुनसक्ने बताउनुभयो । ‘एक हजार संक्रमितमा नौ सयजनालाई त लक्षण नै देखिदैन तर उनीहरूबाट स्वस्थ मान्छेमा सर्ने जोखिम हुन्छ’– उहाँले भन्नुभयो– ‘लक्षण देखिएकामध्ये पनि ४० प्रतिशतलाई त अस्पताल भर्ना गर्नुपर्ने हुन सक्छ ।’
उहाँले ज्वरो आएका बिरामीले डाक्टरको सल्लाहबिना औषधि सेवन नगर्न सुझाव दिनुभयो । ‘निम्स, ब्रुफिन, रगत पातलो बनाउने एस्प्रिन जस्ता औषधि सेवन गर्नैहुँदैन’– उहाँले भन्नुभयो– ‘कडा ज्वरो आएमा मेडिकलमा गएर औषधि किनेर खानुहुँदैन, अस्पतालमा जँचाएर मात्रै सेवन गर्नुपर्छ ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?