नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको क्रिकेट भदौ २३ बाट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको क्रिकेट खेल भने यही भदौ २३ देखि असोज ३१ गतेसम्म काठमाडौंको कीर्तिपुर मैदानमा हुनेछ ।

क्रिकेटको अन्तर्राष्ट्रिय खेलतालिकासँग नबाझिने गरी आयोजना गरिदिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्बन्धमा सहभागी ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागी सबै टिमबाट समेत सहमति भएपछि उक्त मिति र स्थानमा खेल हुन लागेको राखेपले जनाएको छ ।

खेलाडीहरूलाई बसोबास, खेलस्थलसम्मको आवतजावतका लागि यातायात, खेलमैदान तथा प्रविधिक र अन्य पक्षको तयारी सकिएको समेत राखेपले जनाएको छ ।

प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब एकै समूहमा परेका छन् । कुल ११ टोली सहभागी प्रतियोगितामा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा एनआरएन, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश एक र एपिएफ छन् ।

पहिलो खेलमा बिहीबार टियु मैदानमा एनआरएन र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । टियुमा सोही दिन दोस्रो खेलमा बागमती र प्रदेश एकबीच प्रतिस्पर्धा हुनेछ । उता मूलपानीमा बिहीबार पहिलो खेलमा मधेश प्रदेश र गण्डकी तथा दोस्रो खेलमा लुम्बिनी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।

भदौ २९ मा समूह चरणको अन्तिम खेल टियु मैदानमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । हरेक समूहका शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

एनआरएनले पहिलोपटक क्रिकेटमा सहभागिता जनाउन लागेको हो । एनआरएनको कप्तानमा सुनाम गौतम, पृथु बास्कोटा र सागर पुन जस्ता खेलाडी हुनुहुन्छ । यस्तै एनआरएनको टोलीमा घोषित टोलीको कप्तानमा नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी एवं अष्ट्रेलियाको एडिलेड विश्वविद्यालय क्रिकेट क्लबका खेलाडी सुनाम गौतम, नवीन प्रधान (न्युजिल्याण्ड), दिवस गिरी (युके लण्डन), दिनेश खरेल (न्युजिल्याण्ड), रसिम कँडेल (अष्ट्रेलिया), सन्दीप अधिकारी (अष्ट्रेलिया), वासु गिरी (अष्ट्रेलिया), सुनिल श्रेष्ठ (युके लण्डन), दीपेन श्रेष्ठ (युएसए), दीपक क्षेत्री (अष्ट्रेलिया), आशिष पोखरेल (अष्ट्रेलिया), गमबहादुर गुरुङ (युके लण्डन) र सागर पुन (युएसए) रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?