एन्जिलाको कप्तानीमा उत्रिँदै नेपाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली राष्ट्रिय महिला फुटबल टोली भुटानविरुद्ध मंगलबार हुने साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा उत्रिने भएको छ । एन्जिलाले पहिलोपटक महिला राष्ट्रिय टोलीको कप्तानी गर्न लाग्नुभएको हो । सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान तथा अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिनुभएको हो ।

नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उहाँको स्थानमा एन्जिलाले कप्तानीको जिम्मेवारी पाउनुभएको हो । एन्जिलाले सन् २०१६ मा राष्ट्रिय टोलीबाट डेब्यु गर्नुभएको थियो । एन्जिलाले चार वर्षअघि भएको हिरो कपमा कार्यवाहक कप्तानको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

‘मलाई कप्तान बनाउनुभएकोमा धन्यवाद । त्यो विश्वासलाई गुम्न दिने छैन,’ एन्जिलाले भन्नुभयो, ‘कप्तान हुने इच्छा सबैमा हुन्छ । मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ । योपटक मलाई टिमप्रति विश्वास छ । अहिले बोल्नुभन्दा मैदानमा देखाउने छौं ।’
नेपाल साफ च्याम्पियनसिपको समूह ‘बी’मा रहेको छ । यसै समूहमा अर्को टोली श्रीलंका रहेको छ । अर्को समूहमा साबिक विजेता भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलोपटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने बताउनुभएको छ । प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न आफूहरूले प्रयास गर्ने जनाउनुभयो ।

‘घरेलु मैदानमा उपाधि जित्ने हाम्रो धोको रहँदै आएको छ । यसअघि पनि उत्कृष्ट प्रदर्शनका बाबजुद पनि हामी सफल हुन सकेका थिएनौं,’ एन्जिलाले भन्नुभयो, ‘अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौं । पहिलोपटक उपाधि जित्न सबै प्रयास गर्ने छौं ।’

महिला साफको पाँच संस्करणमा नेपाल चारपटक उपविजेता बनेको छ । नेपालकै विराटनगरमा भएको पछिल्लो संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक थापाले बिगतलाई बिर्सिएर प्रतियोगितामा राम्रो गर्ने योजना रहेको बताउनुभयो ।

‘सबै विगतलाई बिर्सिएर राम्रो गर्ने लक्ष्य छ । सात हप्ताको अभ्यासले टिम राम्रो अवस्थामा रहेको छ । सिनियर र नयाँ खेलाडीको कम्बिनेसन रहेको छ,’ थापाले भन्नुभयो, ‘हामीले कसैलाई पनि अन्डरस्टिमेट गर्दैनौं । सबै टोली राम्रो भएर आएका छन् । पहिला लिग चरणमा केन्द्रित रहन्छौं । त्यसपछि बल्ल नकआउटमा ध्यान दिने छौं । हामी तयार छौं ।’

समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?