‘गोर्खाः बिनिथ द ब्रेभरी’को प्रिमियर शो

Read Time = 4 mins

काठमडौं । चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’को प्रिमियर शो गरिएको छ । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको हो ।
यो चलचित्रको शोहरूबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रष्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ । खुकुरी रम प्रमोसनल पार्टनरको रूपमा रहेको यो चलचित्र यही भदौ २४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बन्नुभएको थियो । तर, उहाँ बाँच्न सफल हुनुभयो । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिनुभयो । यही घटनापछि उहाँलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथा चलचित्रमा देख्न पाइन्छ ।

विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताउनुभयो । जोखिम मोलेर विश्व शान्तिका लागि लड्ने पुर्खाहरूलाई श्रद्दाञ्जलि दिन चलचित्र निर्माण गरेको उहाँको भनाइ थियो । विशेष ‘शो’मा कुलवीर थापाका छोरा, बुहारी तथा नातिहरूको उपस्थिति थियो । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकार समीर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आउनुभएको थियो ।

चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । चलचित्रको कथा निर्देशक शाही आफैँले लेख्नुभएको हो । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रूपमा हुनुहुन्छ भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ हुनुहुन्छ ।

चलचित्रमा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रूपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रवीन श्रेष्ठको साउण्ड ट्रयाक छ । नेपाल प्रदर्शनभन्दा अगाडि यो चलचित्रको युके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो । नेपालमा यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?