कार्टुनमार्फत भ्रष्टाचारविरोधी अभियान

Read Time = 8 mins

बुटवल । कार्टुनिस्ट क्लब अफ नेपालले कार्टुनमार्फत भ्रष्टाचारविरोधी अभियान चलाएको छ । ‘निसाना’ भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी आइतबारदेखि रूपन्देहीको बुटवलमा सुरु भएको हो । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा बुटवलको सुख्खानगरस्थित होटल स्पानमा आइतबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीमगरले यसको उद्घाटन गर्नुभएको हो ।

उहाँले भ्रष्टाचार सामाजिक अपराध भएको भन्दै यसले मानिसमा खराब मनोवृत्तिको विकास गरिरहेको जिकिर गर्नुभयो । भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनीमा नेपालका करिब तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको उक्त कार्यक्रममा सभामुख घर्तीमगरले भ्रष्टाचारले समाजलाई आक्रान्त पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार हरेक मुलुकमा हुने गरे पनि विशेषगरी भ्रष्टाचार तीन आयामका रूपमा घुसखोरी, नीतिगत र अख्तियारीको दुरूपयोग गरी भइरहेको छ ।’

उहाँले नजिकका मान्छेलाई टेण्डर दिनेगरी हुने भ्रष्टाचारले जनता आजित भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै न कुनै रूपमा जनप्रतिनिधिमूलक संस्थाबाट यस्ता किसिमका हर्कत भएका छन् । यसलाई कम गर्न कलाका माध्यमबाट कार्टुनिस्टले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तसर्थ कार्टुन प्रदर्शनीलाई अझै व्यापक ढंगले समाजका तल्लो तहसम्म लैजानु पर्दछ ।’

उहाँले भ्रष्टाचारकै कारण देश र सर्वसाधारणको जीवन बर्बाद भएको सुनाउँदै राज्यले यसको नियन्त्रणमा निर्ममतापूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले कार्टुनमा कलाकारले आग्रह पूर्वाग्रहविना गर्ने तीखो प्रहारले गल्ती गर्नेलाई सच्चिन बाध्य पार्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले भ्रष्टाचारले समाजका विभिन्न स्थानमा जरो गाडेको बताउनुभयो । उहाँले भ्रष्टाचार अन्त्यका लागि समाजका सबै तहतप्काबाट पहलपदमी लिनुपर्ने भनाइ राख्नुभयो ।

जनसांस्कृतिक महासंघ नेपालका लुम्बिनी प्रदेश संयोजक कविराज पौडेलले क्लबले देशव्यापी रूपमा भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत गरेर देश र जनताप्रति विशिष्ट भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भ्रष्टाचार अन्त्यका लागि साहित्यकार, कलाकार, पत्रकार एवं संस्कृतिकर्मीलगायत सबैले सिर्जनात्मक ढंगले पहल लिनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रदर्शनीमा बोल्दै प्रगतिशील लेखक संघ, रूपन्देहीका अध्यक्षसमेत रहनुभएका पौडेलले दृश्य सामग्रीले मनोविज्ञानमा सिधै प्रभाव पार्ने बताउँदै यो कार्यक्रम बुटवल आइपुगेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कलाकार सुमित्रा रानाले कलामार्फत सर्जकले समाजलाई सचेतना जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रङ, रेखा र शब्दद्वारा कलाकारले समाजमा रहेका विकृति विसंगतिप्रति व्यंग्य गरेर सामाजिक दायित्व निर्वाह गर्न सफल भएका छन् ।’ नेपाल ललितकला पत्रकार समाज (सोफाज)का अध्यक्ष केशवराज खनालले भ्रष्टाचारविरुद्ध अभियानका रूपमा क्लबले देशका सातै प्रदेशमा कार्टुन प्रदर्शनी गरिरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध देशव्यापी रूपमा जनचेतना जगाउने लक्ष्यका साथ दुई दिने कार्टुन प्रदर्शनी गरिएको हो ।’

उहाँले कार्टुन कलाको माध्यमले समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको धारणा राख्नुभयो । अखिल नेपाल ललितकला संघका लुम्बिनी प्रदेश संयोजक कलाकार खेमबहादुर बिकले समाजमा जागरण ल्याउने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताउनुभयो । उहाँले विकृति विसंगतिविरुद्ध कार्टुनिस्टले जेहाद छेडेको जिकिर गर्नुभयो ।

आयोजक संस्था कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले पाठकले सधै पत्रपत्रिकामा मात्रै कार्टुन हेर्दै आए पनि प्रदर्शनीका रूपमा कार्टुनलाई देशका सातै प्रदेशमा लगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पत्रपत्रिकामा मात्रै नभएर प्रत्यक्ष देखाउने चाहनासँगै भ्रष्टाचारको जरो समाजको तलसम्म फैलिएझै भ्रष्टाचारविरोधी अभियान कार्टुनमार्फत सोही स्थानसम्म पुर्‍याउने लक्ष्यका साथ क्लबले प्रदर्शनी आयोजना गरेको हो ।’

क्लबले यसअघि बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, मधेस प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको क्लबका महासचिव रवि मिश्रले बताउनुभयो । प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, महेश बस्ताकोटी, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशवराज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, पानसिंह तमोर, रामहरि रिमाल लगायत कार्टुनिस्टका कार्टुन राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?