रूपन्देही । रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रण हुने गरी निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्माण सम्पन्न बुटवल-लुम्बिनी डबल सर्किट प्रसारण लाइन र त्यसअन्तर्गतको मैनहिया सबस्टेसनको उद्घाटन गर्नुभएको हो ।
प्राधिकरणका अनुसार प्रसारण लाइन र सबस्टेसन निर्माणसँगै भैरहवा क्षेत्रमा करिब दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधारसमेत भएको छ । सो अवसरमा मन्त्री भुसालले आन्तरिकरूपमा खपत गरेर बढी भएको विद्युत् अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसाथ काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत् नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत् पु¥याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिका लागि काम गरिरहेका छौं, यसका साथै बुढीगण्डकीलगायतका ठूला जलाशययुक्त आयोजना निर्माण गरिनेछ । खाना पकाउन प्रयोग हुने एलपिजी ग्याँस विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत् दिने, यातायातमा विद्युतीय सवारीसाधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत् प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नुपर्छ ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारण लाइन र सबस्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने दाबी गर्नुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार भएको र उद्योगलाई मागेजति विद्युत् दिन सकिने अवस्था बनेको बताउनुभयो । बुटवल सबस्टेसनबाट मात्र विद्युत् आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उहाँले अब यो क्षेत्र विद्युत् हब बनेको र वितरण प्रणालीमा सुधार भएको दाबी गर्नुभयो ।
प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत् आपूर्ति दिइएको आयोजना प्रमुख हरि पाण्डेले बताउनुभयो । प्राधिकरणका अनुसार स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चारवटा फिडर हाल सञ्चालनमा रहेका छन् । विद्युत् भोल्टेजको सुधारका लागि दुईवटा क्यापासिटर बैंक राखिएको छ ।
१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको छ । प्राधिकरणका अनुसार मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । हाल उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया-सम्पत्तिया बनेपछि दुई देशबीचको अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बन्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका