उपचार खर्च असुल्ने नाममा जग्गा कब्जा

हिमालय टाइम्स
Read Time = 7 mins

विवेक खड्का/हिटा
दाङ । दाङको राजपुर गाउँपालिका-४ निवासी श्यामकुमारी यादवले कृष्णकुमारी अहिरको नाममा रहेको जग्गा हडपेको आरोप लागेको छ । बिरामी हुनुभएकी कृष्णकुमारीलाई उपचार गरेको र सो बापतको खर्च भराउनुपर्ने भन्दै श्यामकुमारीले चार कठ्ठा १३ धुर जग्गा आफ्नो नाममा पास गरेको खुल्न आएको हो । चलन चल्तीको मूल्यअनुसार प्रतिकठ्ठा चार लाख रुपैयाँमा किनबेच भइरहेको जग्गा श्यामकुमारीले सबै जग्गा चार लाख रुपैयाँमा किनेको देखिन्छ तर जग्गाधनीले एक रुपैयाँ नबुझेको बताएका छन् ।

अहिले जग्गा पास लिने श्यामकुमारी, सिफारिस दिने वडाध्यक्ष रामेश्वर यादव, सचिव मीना चौधरी र श्यामकुमारीका श्रीमान हिरालाल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा ठगी मुद्दामा उजुरी परेको छ । कृष्णकुमारीका छोरा सुरेश यादवले ठगी मुद्दामा किटानी जाहेरी दिनुभएको हो । पक्षघातको बिरामीलाई उपचार गराउने बहानामा जग्गा हडपेको आरोप जाहेरीमा लगाइएको छ । ‘म अटो चलाउँछु । घरमा आमा बिरामी हुनुहुन्छ । उपचार गर्न थालेको धेरै भइसक्यो । आमालाई उपचार गराउने बहानामा जग्गा नै पास गरेर लगेको थाहा पाएँ’, सुरेश यादवले भन्नुभयो, ‘उपचारमा चार लाख खर्च लागेको भनेर भन्नुभएको छ । त्यसको प्रमाण देखाउनुस्, हिसाब गरौँ भनेको छु ।’

सुरेश यादव र उहाँकी आमा कृष्णकुमारीले लमहीमा पत्रकार सम्मेलन गर्दै आफूहरू ठगिएको भन्दै न्यायको माग राख्नुभएको छ । ‘बिरामी आमालाई उपचार गराउने बहानामा जग्गा नै हडपे । कसरी फिर्ता ल्याउन सकिन्छ ?’, छोरा सुरेशले भन्नुभयो- ‘बुवा हुनुहुन्न । आमा र म मात्रै छौँ । सोझोपनको फाइदा उठाएर हामीलाई ठगे ।’ कृष्णकुमारीका एक छोरा र दुई छोरी हुनुहुन्छ । जसमध्ये दुई छोरीको विवाह भइसकेको छ ।

जेठ १९ गते मालपोत कार्यालयबाट जग्गा पास भएको देखिन्छ । यो घटनामा जग्गा पाससम्बन्धी सिफारिस दिने वडाध्यक्ष र वडा सचिवको समेत मिलोमतो रहेको भन्दै उजुरी दिइएको छ । चलनचल्तीको मूल्यअनुसार अहिले त्यो जग्गा चार लाख रुपैयाँ कठ्ठामा किनबेच हुँदै आएको छ । तर, मुख्य आरोपी श्यामकुमारी यादवले आफूले सबै जग्गा चार लाख रुपैयाँमा किनेको दाबी गर्नुभएको छ । ‘मेरो माइली सासूले जग्गा बिक्री गर्ने भन्ने थाहा पाएँ । बिक्री गर्ने भए म किन्छु भनँे । त्यसपछि कुरा मिल्यो चार लाख रुपैयाँ नगद बुझाएर किनेको हुँ’, श्यामकुमारीले भन्नुभयो, ‘वडा कार्यालयमा सिफारिस लिन आफैँ जानुभयो । मालपोत कार्यालयमा चारपटक सोधेको हो । पैसा बुझेर पास गरिदिन लागेको आफैँ बताउनुभयो । अनि जग्गा मेरो नाममा आयो ।’

तर श्यामकुमारीले आफूलाई एक रुपैयाँ पनि नबुझाएको कृष्णकुमारीले बताउनुभयो । ‘मलाई केही थाहा छैन । एक रुपैयाँ पनि बुझेको छैन’, उहाँले भन्नुभयो, ‘म बिरामी छु । औषधि उपचार गर्ने भनेर यताउता घुमाए ।’ वडा कार्यालयबाट जग्गा बिक्रीसम्बन्धी सिफारिस दिँदा ध्यान नदिएको आरोप छ । ‘एउटा बिरामी मान्छे जान्दा जान्दै पनि जग्गा बिक्रीसम्बन्धी सिफारिस दिइयो । त्यही सिफारिसले जग्गा सबै अर्काको नाममा गयो’, सुरेश यादवले भन्नुभयो- ‘सिफारिसबारे बुझ्न जाँदा वडा कार्यालयमा दुव्र्यवहार भयो । कुट्ने, पिट्ने धम्की आयो ।’
वडाध्यक्ष रामेश्वर यादवले जग्गाधनी स्वयं सिफारिस लिन वडा कार्यालयमा आएपछि आफूहरूले सिफारिस दिएको बताउनुभयो । ‘स्वयं व्यक्ति सिफारिसका लागि आएपछि सिफारिस रोक्न पनि भएन’, वडाध्यक्ष यादवले भन्नुभयो- ‘ठगी भएको हो भने यस बारेमा बसेर निकास निकाल्न सकिन्छ ।’ वडा कार्यालयबाट सिफारिस दिए पनि मुद्दा पर्ने, नदिए पनि मुद्दा पर्ने अवस्था रहेको वडा सचिव मीना चौधरीले बताउनुभयो ।

‘यो घटनामा मात्रै होइन, अन्य विषयमा पनि यस्तै हुन्छ । स्वयं व्यक्ति आएपछि सिफारिस दिनै प¥यो । पछि किन सिफारिस दिएको भनेर उजुरी हाल्ने गरिन्छ’, उहाँले भन्नुभयो- ‘हामी सकेसम्म सचेत भएकै छौँ । तर, सिफारिस रोक्न भने मिलेन ।’ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले ठगी मुद्दाको किटानी जाहेरी परेको र यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो । ‘जाहेरी दर्ता भएको छ । हामीले यसबारेमा अनुसन्धान गर्दैछौँ’, उहाँले भन्नुभयो- ‘सम्बन्धित पक्षसँग बुझ्ने काम हुँदैछ ।’ तर, प्रहरीले यस घटनालाई चासो नदिँदा अप्ठेरोमा परेको पीडितहरूले बताएका छन् । यता, मालपोत कार्यालय लमहीले प्रक्रिया पूरा भएर जग्गा पास भएको बताएको छ । ‘सबै प्रक्रिया पूरा भएर जग्गा पास भएको छ’- मालपोत कार्यालय लमहीका प्रमुख मानबहादुर कुँवरले भन्नुभयो- ‘आफू ठगिएको महसुस हुन्छ भने अदालतमा पुनरावेदन गर्न मिल्छ । घटना थाहा पाएको ३५ दिन भित्र उजुरी दिन सकिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?