काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार शीतल निवासमा आयोजना गरिएको एक विशेष समारोहमा राष्ट्रपति भण्डारीले महारथीको दर्जा प्रदान गरी सम्मान गर्नुभएको हो । साथै राष्ट्रपति भण्डारीले पाण्डेलाई खड्ग तथा प्रमाण-पत्रसमेत प्रदान गर्नुभएको थियो ।
प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सो सम्मान प्रदान गरिएको थियो । समारोहमा मुख्यसचिव शंकरदास वैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतको उपस्थिति थियो ।
नेपाल-भारतबीच नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाध्यलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ ।
नेपाल र भारतबीच सन् १९५१ देखि एक-अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।
विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलोपटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो । सोही प्रचलनको निरन्तरतास्वरूप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई सोमबार मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको हो ।
अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसकेका छन् ।
जंगी अड्डामा सम्मान अर्पण
भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई सोमबार सैनिक मुख्यालय जंगी अड्डामा सम्मान अर्पण गरिएको थियो । नेपाल भ्रमणमा रहनुभएका सेनाध्यक्ष पाण्डेको सम्मानमा जंगी अड्डामा सोमबार बिहान आयोजित एक समारोहमा सम्मान गारत अर्पण गरिएको थियो । सो अवसरमा उहाँले जंगी अड्डा मूलभवन परिसरमा वृक्षरोपणसमेत गर्नुभएको थियो । यसअघि उहाँले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
यस्तै, प्रधानसेनापति शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता भएको छ । उहाँहरूबीच सोमबार सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो ।
नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आउनुभएको थियो । उहाँ प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो ।
सैनिक सामग्री हस्तान्तरण
भारतीय सेनाले नेपाली सेनालाई करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले सैन्य सामग्री सोमबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भारतीय सेनाध्यक्ष पाण्डेले २२ करोड रुपैयाँ बराबरको सैनिक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो । भारतीय सेनाको तर्फबाट १० वटा माइन प्रोटेक्टिभ भेइकल (एमपिभी), चारवटा घोडा, मेडिकल उपकरण, गाडी र हतियारको लागि दुईवटा सिमुलेटर र मेन्टिनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई सोमबार हस्तान्तरण गरिएको हो । २२ करोडमध्ये १३ करोड २० लाख रुपैयाँ भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने आठ करोड ८० लाख रुपैयाँ नेपाल सरकारले व्यहोरेको हो ।
आज प्रधानमन्त्री देउवालाई भेट्दै
पाँचदिने भ्रमणका क्रममा पाण्डेले आज (मंगलबार) बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ । यस्तै, अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहन्छ भने साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।
बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमान्ड हेटक्वार्टरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्ने कार्यक्रम छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कने जनाइएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका