राप्रपाले कसैसँग गठबन्धन गर्दैन : लिङ्देन

‘सांसद हुँ भन्न लाज लाग्यो, त्यसैले संसद् पद त्यागे’

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले आधारभूत रूपमा पार्टीले कुनै पनि दलसँग तालमेल वा गठबन्धन नगर्ने बताउनुभएको हो । जिल्ला तहको हकमा आवश्यकताअनुसार कुनै राजनीतिक दलसँग सिटको आधारमा सहकार्य गर्ने जाने उहाँको भनाइ छ ।

त्यसको लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग केही कुराकानी भएको तर, मिडियामा आएको जस्तो कुनै पनि निर्णय वा सहमति नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘एमालेसँग जिल्ला तहमा सिटको आधारमा सहकार्यको प्रयास भइरहेको छ । त्यसले ठोस आकार लिएको छैन । दुवै पार्टी सहकार्यको पक्षमा छौँ, उहाँले भन्नुभयो । राष्ट्रियताका सवालमा विचार र मुद्दा मिल्ने दलसँग सहकार्य जाने पक्षमा आफ्नो पार्टी रहेको उहाँको भनाइ थियो ।

सञ्चारकर्मीको प्रश्नमा लिङ्देनले ऐन नै संशोधन गरेर संसद्को आयु मंसिर ४ गते पछिसम्म पनि लम्ब्याउन खोजेपछि आफू त्यो अनैतिक काममा सामेल नहुने गरी संसद् पदबाट राजीनामा घोषणा गरेको प्रष्ट पार्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसद्को रूपमा तलब भत्ता नलिने र बैठकमा समेत उपस्थिति नहुने भन्दै राजीनामा घोषणा गर्नुभएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएपछि संसद्लाई लम्ब्याउन नहुने र चुनावी सरकार बनाउनुपर्ने आफूहरूको प्रस्तावलाई सुनुवाई नगरिरहेको अवस्थामा ऐन संशोधन गरेर नै संसद्को आयु थप्न खोजिएपछि राजीनामा घोषणा गरिएको बताउनुभयो । सांसद पदबाट राजीनामा घोषणा गरेपछिको यो उहाँको पहिलो पत्रकार सम्मेलन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?