विदेशी मुद्राको सञ्चिति किन घटिरहेको छ ?

Read Time = 13 mins

✍️ लक्ष्मण सिटौला

भनिन्छ, अर्थनीतिले आर्थिक क्षेत्रमा मात्रै असर गर्छ तर राजनीतिले मुलुकको सबै क्षेत्रमा प्रभाव पार्छ । राजनीतिकै कारण सबैभन्दा प्रभावित हुने क्षेत्र भनेको मुलुकको आर्थिक क्षेत्र नै हो । नेपालको अर्थतन्त्र यतिबेला एक्कासि यो अवस्थामा आएको भने पक्कै होइन । अर्थतन्त्र क्षयीकरणमा राजनीतिको प्रमुख हात हुन्छ । नेपाली अर्थतन्त्रले धान्नै नसक्ने संघीयता ल्यायौँ हामीले । यसका लागि खर्चिएको ठूलो धनराशि विकास निर्माणका लागि खर्चिएको भए मुलुकको विकासको तीव्रता यतिबेला निकै अगाडि पुगिसकेको हुन्थ्यो ।

दश वर्षको सशस्त्र युद्धले रुग्ण बनाएको नेपाली अर्थतन्त्रमाथि झन् संघीयताको भार थपियो । परिणामस्वरूप हामी अझै गरिब हुँदै गयौँ र अझै यही भाँडभैलो अवस्थामा मुलुकलाई छोडिदिने हो भने मुलुक टाट पल्टिने दिन नजिकिँदै छ । यसबारेमा राज्यले जनतालाई सुसूचित बनाउनु जरुरी थियो र सधैँ रहनेछ । एशियाली द्वीपमा सम्भवतः हामी नेपालीहरू नै बढी गरिब छौँ । फेरि हामीलाई नै बिलासिताको जीवन बाँच्न मन लाग्छ । सुन हामीलाई नै लगाउँन मन लाग्छ नि । सबैभन्दा महँगो कार हामीलाई नै चढ्न मन लाग्छ । विदेशी रक्सी हामीलाई नै पिउन मन लाग्छ । देशमा स्तरीय कलेज हुँदाहुँदै छिमेकीलाई देखाउन भए पनि पचासौं हजार डलर तिरेर छोराछोरीलाई विदेश पठाउन हामीलाई नै मन लाग्छ । आफूलाई कृषिप्रधान देश भन्छौँ तर वार्षिक तेत्तीस अर्बको भात चाहिँ भारतसँग किनेर खान हामीलाई नै पर्छ ।

नेपालमा विदेशी मुद्राको सञ्चिति यसरी नै घटिरहने र अरू थपिने काम नहुने हो भने हामी आर्थिक संकटको मारबाट अबको केही महिनाभित्रै गुज्रने अवस्थामा पुग्दैछौँ । विदेशी मुद्रा बचत नहुनु भनेको विदेशी कच्चापदार्थको निर्भरतामा चलिरहेका तमाम उद्योगधन्दा सबै बन्द हुनु पनि हो ।

घरको आँगन बारी बाझो राख्ने हामी नै र हामीलाई सबैभन्दा महँगा प्रजातिका फलफूल विदेशबाट झिकाएर खान मन लाग्छ । सबै कुरा आयात गरेर नेपाली बाँचिरहेका छौँ । सिटामोल बनाउने कच्चापदार्थ समेत डलर तिरेर ल्याउनु परेपछि किन घट्दैन त विदेशी मुद्राको सञ्चिति ? अरू कुरा त परै जावोस् जाबो दाँत कोट्याउने टुथपिक (काठको छेस्को) समेत आफूले बनाउन नसकेर वार्षिक अठ्ठाइस करोडको विदेशबाट किन्छौँ भने हाम्रो विदेशी मुद्रा सञ्चित कसरी बढ्छ त ?

नेपालमा विदेशी मुद्राको सञ्चिति यसरी नै घटिरहने र अरू थपिने काम नहुने हो भने हामी आर्थिक संकटको मारबाट अबको केही महिनाभित्रै गुज्रने अवस्थामा पुग्दैछौँ । विदेशी मुद्रा बचत नहुनु भनेको विदेशी कच्चापदार्थको निर्भरतामा चलिरहेका तमाम उद्योगधन्दा सबै बन्द हुनु पनि हो । यसबाट तत्कालीनमात्रै नभएर सुदूर भविष्यका आर्थिक सम्भावनाका ढोकालाई समेत बन्द गरिदिने प्रबल सम्भावना रहनेछ ।

विदेशी मुद्रा सञ्चिति भनेको के हो ?
विदेशी विनिमय सञ्चिति भनेको देशको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) मा राखिएको विदेशी मुद्राको परिमाण हो । सम्पत्ति हो जसले गर्दा आवश्यक पर्दा आफ्नो दायित्व तिर्न सकियोस् । विदेशी मुद्रा सञ्चिति एक वा बढी मुद्राहरूमा राख्ने गरिएको हुन्छ । विदेशी मुद्रा सञ्चिति प्रायः डलरमा र केही हदसम्म युरोमा राखिन्छ । कूल विदेशी मुद्रा सञ्चितिमा विदेशी बैंक नोट, विदेशी बैंक निक्षेप, विदेशी ट्रेजरी बिल र अल्पकालीन र दीर्घकालीन विदेशी सरकारी धितोहरूमात्र समावेश हुनुपर्छ । यद्यपि, सुनको भण्डार, आन्तरिक मुद्रा छपाइको विशेष अधिकार (एसडिआर) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा निक्षेपहरू पनि विदेशी मुद्रा सञ्चितिको हिस्सा बन्छन् ।

नेपालमा विदेशी मुद्रा आम्दानीको स्रोत भनेको निर्यातजन्य वस्तुबाट नभएर विदेशमा काम गर्न जाने नेपालीले पठाएको रेमिट्यान्सबाट मात्रै स्रोत निर्धारण गर्न थालिएको छ । नेपालमा काम गर्ने कूटनीतिक नियोगका कर्मचारीबाट, नेपाल घुम्न आउने विदेशी पर्यटकबाट निर्यातजन्य वस्तुको विदेश पैठारीबाट मात्रै हामी डलर आम्दानी गर्न सक्छौँ । हिजोका दिनमा नेपालको गलैँचा उद्योग खुब फष्टाएको थियो । नेपालमा प्रसस्त मात्रामा विदेशी पर्यटक घुम्न आउथे । यहाँको राजनीति द्वन्द्वका कारण ती सबै क्षत्रमा राजनीतिक ज्वालामुखी दन्कियो र हाम्रो डलर आम्दानीको मुहानै सुक्यो ।

आज हामी विदेशी मुद्राको विषम अभावमा गुज्रिरहेका छौँ । राष्ट्रबैंकका अनुसार हामीसँग अब नौ महिनालाई मात्रै धान्न सक्ने विदेशी मुद्राको सञ्चिति छ । रसिया युक्रेनका बीचमा लगातार भइरहेको सामरिक युद्धका कारण र अन्तर्राष्ट्रिय रूपमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको कारण पनि नेपालमा विदेशी मुद्राको सञ्चिति घटिरहेको छ । नेपाली अर्थतन्त्रमा विदेशी मुद्राको भण्डारणको अवस्थालाई नाजुक हुनबाट बचाउन तत्काल निम्न कार्य गर्नु जरुरी छ :-
१. गाडीहरूको आयात रोकौँ
२. सुन आयातमा पूरै बन्देज लगाऔँ
३. विदेश अध्ययन गर्न जाने विद्यार्थीबाट करोडौं डलर विदेशिँदै छ । बाहिर अध्ययनमा गएका करिब नब्बे प्रतिशत विद्यार्थी विदेशमै बस्ने र नेपाललाई हित हुने कुनै पनि काम गरेको नपाइएकाले सकेसम्म त्यस्ता विद्यार्थीले ब्याचलरसम्म नेपालमै अनिवार्य पढ्नुपर्ने कानुन ल्याउने र त्यसभन्दा अगाडि कोही विदेश पढ्न जाने हो भने त्यस्ता विद्यार्थीलाई डलर सटही सुविधा रोक्ने ः यो नियम पालना भयो भने पनि विदेशी मुद्रा सञ्चितिमा प्रसस्त सघाउनेछ ।
४. विदेशबाट भित्रिरहेका कुनै पनि रक्सी पर्फ्युम टोब्याकोमा पूर्णरूपमा आयात प्रतिबन्ध गरौँ ।
५. भारतबाट नेपालमा हुने चामल आयातमा थप कडाइ गरौँ । यसबाट कमसेकम चामल उत्पादनमा नेपाली आत्मनिर्भर त बन्न सक्नेथिए ।
६. गाडीहरूको आयातमा नियन्त्रण भएपछि स्वतः पेट्रोलियम पदार्थको पनि आयातमा कमी आउनेछ ।
७. औषधोपचारसँग सम्बन्धित र आन्तरिक उद्योग सञ्चालनमा प्रयोग हुने कच्चापदार्थबाहेक अरू सबै सामानमा आयातमा प्रतिबन्ध लगायौँ भने निश्चित रूपमा तरलतामा सुधार आउँछ र आएपछि विदेशी मुद्राको सञ्चिति बढ्न थालेपछि आवश्यकताको आधारमा आयात प्रतिबन्ध हटाउँदै जानुपर्छ ।
यसो गर्दा सरकारको आम्दानीको स्रोत अवश्य घट्छ तर देशलाई दीर्घकालीन आर्थिक संकटबाट भने अवश्य जोगाउन सकिँन्छ । केही समयका लागि दुःखको सामना गरौँ । स्वदेशी कपडा लगाऔँ, स्वदेशी उत्पादनलाई महत्व दिऔँ ।

अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चितिको महत्व :
विदेशी मुद्रा प्रसस्त मात्रामा सञ्चिति भएको खण्डमा यसले सरकारलाई आर्थिक वृद्धिमा आएको सुस्ततालाई रोक्न मद्धत गर्छ । सञ्चितिको कारण देशमा उत्पन्न हुने कुनै पनि बाहृय वा आन्तरिक वित्तीय संकटको सामना गर्न मद्धत गर्छ । देशको आर्थिक अवस्था र राज्यको आर्थिक तरलताको बाटो कत्तिको बलियो छ भन्ने आधारशीला नै विदेशी मुद्राको सञ्चिति हो जसले आर्थिक मोर्चामा संकटको समयमा देशलाई सहज स्थिति ल्याउँनमा मद्धत गर्छ ।

विदेशी मुद्रा प्रसस्त मात्रामा सञ्चिति भएको खण्डमा यसले सरकारलाई आर्थिक वृद्धिमा आएको सुस्ततालाई रोक्न मद्धत गर्छ । सञ्चितिको कारण देशमा उत्पन्न हुने कुनै बाहृय वा आन्तरिक वित्तीय संकटको सामना गर्न मद्धत गर्छ ।

मुलुकको विद्यमान विदेशी सञ्चितिले मुलुकको नौ महिनाको आयात बिल धान्न सक्छ भन्ने नेपाल रास्ट्र बैंकको भनाइले पनि हामी संकटउन्मुख छौँ भन्ने देखाउँछ । सञ्चिति बढाउन सकिएन भने नेपाल अन्तर्राष्ट्रिय ऋण लिन बाध्य हुनेछ जसका कारण हामीमा ऋणभार थपिँदै जानेछ । यस्तो अवस्था आउन नदिनका लागि कृषि उत्पादनमा राज्यको ध्यानाकर्षण हुनु अनिवार्य छ ।

आन्तरिक उत्पादन वृद्धिका कारण आयात घट्छ र विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन्छ । यसरी भएको वृद्धिले डलरको तुलनामा नेपाली रुपैयाँलाई आफ्नो स्थिति बलियो बनाउनसमेत मद्धत गर्छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै अवमूल्यन भएको यो प्रथम चोटि नै हो । इतिहासमा यस्तो कहिल्यै भएको थिएन । अहिले विदेशी विनिमय सञ्चिति जिडिपी अनुपात प्रतिशतको आधारमा हामी धेरै तल परिसकेका छौँ । अर्थतन्त्र नबुझेका मानिसहरू अर्थमन्त्री हुने यो देशमा आर्थिक संकट नआए कहाँ आउँछ त ? विदेशी मुद्रा सञ्चितिले आर्थिक संकटका बेला मुलुक बाहृय तथा आन्तरिक समस्यासँग जुध्न सक्षम छ भन्ने विश्वास बजारलाई दिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?