महोत्तरीमा बाढीको बितण्डा, सयौँ बिघा धान खेत डुबानमा

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा-६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित् हुनुहुन्छ । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि सरस्वती चिन्तित् बन्नुभएकाे हाे ।
वाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्‌काे कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँउनुभयाे ।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिदै गएको छ । ‘अब खै यसपालि त भोकमारी नै लाग्ला जस्तो छ,’ उहाँले भन्नुभयाे । सरस्वती र रामवतीको जस्तो खेतबारी डुवान मात्र हैन एकडारा-६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन ।

गनरापुराका कै रविशंकर दासको परिवार यतिबेला घर न घाटको बनेका छन । कुलोसँगै जोडिएको उहाँको घर डुबानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजारा गरिरहेको दासले बताउनुभयाे ।

बाढीले खेत गेग्रानमा परिणत भएकाे छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।

‘सानो वर्षापछि आएको बाढीले त बितन्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० बर्षिय सुरदेव यादव चिन्ता व्यक्त गर्नुहुन्छ ।
अघिल्लो बर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो ।

हामीलाई यो कुलोले निक्कै समस्या बनाउदै आएको छ । बर्सेनि यही कुलाको कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्नुहुन्छ ।

कुलोमा आउने वाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी, थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् ।

यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार जोखिममा छन् । स्थानीय सरकारले आफूहरुको समस्यालाई बेवास्ता गरेको पीडितहरुको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरुको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?