मालपोत तथा नापीको कामकाज कलैयामै राख्न माग

Read Time = 5 mins

-संजीव कुमार मिश्रा
बारा । नेपाल सरकारले घर घरमा सिहदरबारको अवधारण ल्यायो । त्यही अवधारणा अनुरुप अहिले जनताले सेवा सुविधा पाउने गरेका छन् । उनीहरुको घर घरमा सेवा पुग्ने गरी यो अवधारणा सरकारले ल्याएको हो । तर त्यही अवधारणालाई मध्ये नजर गरी पायेक पर्ने ठाउँको कार्यालय भन्दा अपायेक पर्ने ठाउँमा सारिएकोमा महागढीमाई नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुले मंगलबार विरोध गर्नु भएको छ ।

उहाँहरुले आफूहरुलाई पायेक भन्दा अपायक ठाउँमा नापी तथा मालपोत सेवा केन्द्र सारेर सरकारले दुःख दिने गरेको आरोप लगाउनु भएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर ९ का स्थानीयहरुले यो भन्दा अगाडी भूमिसुधार तथा मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत आफनो माँग सम्बोधन गर्न गराउन ज्ञापन पत्र बुझाइसक्नु भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार नै मंगलबार उहाँहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिनु भएको छ ।
हाम्रो माँगलाई सरकारले वेवास्ता गरेको छ, धर्ना तथा विरोध कार्यक्रमका संयोजक एवं महागढीमाई नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दिलिप शुक्लाले भन्नुभयो,‘जायज माँग सम्बोधनमा समेत सरकारले ढिलासुस्ती गरेको छ । पायेक पर्ने ठाउँ भन्दा अपायेक पर्ने ठाउँमा सेवा केन्द्र सारी साविक गाउँ विकास समिति पिप्राविर्ता हाल महागढीमाई नगरपालिका वडा नम्बर ९ का जनताहरुलाई दुःख दिन खोजिएको हो । हाम्रो माँगलाई सम्बोधन गर्न गराउन जिल्ला प्रशासन कार्यालय बाराले ३ दिनको समय लिएपनि अहिलेसम्म हामीलाई पायेक पर्ने कलैयामा हाम्रो वडाको कामकाज यथावत गराउन कुनै पहल गरिएको देखिएन । जसको कारण आफूहरु आन्दोलित हुनु परेको उहाँले बताउनुभयो ।’
हामी पूर्व निर्धारित कार्यक्रम अनुसार २१ गते विरोध प्रदर्शन र २२ गते भूमिसुधार तथा मालपोत कार्यालयको कामकाज ठप्प पार्ने योजना रहेको वडाध्यक्ष शुक्लाले जानकारी दिनुभयो ।

हामीले कलैयाबाट भुमिसुधार तथा मालपोत र नापी शाखाबाट प्रवाह हुने सेवा सहज रुपमा पाउँदै आएका थियौ बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले भन्नुभयो, ‘हामीलाई कलैया नै पायेक पर्छ । हाम्रो अर्को कुनै माँग समेत छैन । जनताको जायज माँगलाई समेत सम्बोधन गर्न सरकार ढिलाई गरेको अवस्था छ । आफनो कामकाज छोडेर आन्दोलन गर्नु हाम्रो शौख होइन बाध्यता हो । यो आन्दोलनको जिम्मेवार अरु कोही होइन स्वयं सरकार नै हो । हामीलाई पायेक भन्दा अपायेक ठाउँमा सेवा कार्यालय सारेर आन्दोलन गर्न बाध्य पारिएको छ । जनताको सजिलै पहुँच हुने ठाउँबाट सेवा पाउनु पर्ने उनीहरुको अधिकार हो । तर सरकारले संविधानले प्रदत्त गरेको अधिकारबाट नै जनतालाई बन्चित गर्ने काम गरेको यसले पुष्टि गरेको उहाँले जानकारी दिनुभयो ।’

आन्दोलनकारीहरुले कलैया बीरगंज सडकखण्ड केही बेर अवरुद्ध गरी आन्दोलन गरेका थिए ।
एकातिर गर्मीको मौसम त्यसमा पनि सयौको संख्यामा गाउँका मानिसहरु धर्ना दिन सदरमुकाम कलैया पुगेका थिए ।
यसैगरि देवताल गाउँपालिकाले समेत भूमिसुधार तथा मालपोत कार्यालय कलैयाबाट नै सेवा सुविधा लिने र यसै कार्यालयबाट हामीलाई पायेक पर्ने भनि भदौ १४ गते पत्र जारी गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?