नवौं राष्ट्रिय खेलकुदः साइक्लिङका खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौं राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत् खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत् नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष एवं प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुदका लागि महिलातर्फ प्रदेशबाट ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिमांशु राई, सोफिया विक, सदीक्षा भण्डारी छनोट हुन सफल हुनुभयो । यसैगरी ‘रोड रेसमा’ निकिता परियार, बबिता परियार, स्पर्श उदास र पवित्रा परियार छनोट हुँदा ‘डाउन हिल’तर्फ जमुना थापा छनोटमा पर्नुभएको छ । छनोट प्रतियोगितामा कास्कीबाहेक अन्य जिल्लाले साइक्लिङमा सहभागिता जनाएका थिएनन् ।

यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशबाट प्रतियोगिताको ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट हुनुभयो । ‘डाउन हिल’तर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छनोट हुँदा ‘रोडरेस’तर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

कास्कीबाट पुरुषतर्फको ‘क्रसकन्ट्री’मा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, ‘डाउन हिल’तर्फ अजय क्षेत्री, सुजन अधिकारी र ‘रोडरेस’ मा सुमित गुरुङ र सुवास लामा छनोट हुनुभएको छ । प्रतियोगिता क्रसकन्ट्री र रोडरेस पोखरा–१८ मेथलाङडाँडा र डाउन हिल पोखरा–२२ स्थित रानीवन–तितेपानी क्षेत्रमा सञ्चालन भएको थियो ।

नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि प्रदेशको छनोट खेल सम्पन्न भएका छन् भने खेलस्थलको अन्तिम टुंगो लगाउने काम भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङले बताउनुभयो ।
प्रतियोगिताको एक महिनाभन्दा अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौंमा राम्रो नतिजाका लागि असोज १ देखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेशले जनाएको छ ।

यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय (हाई अल्टिच्युड) प्रशिक्षण दिइने जनाएको छ । भलिबल, बास्केटबल, कराँते, आइटिएफ तेक्वान्दो, फुलकन्ट्याक्ट कराँते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाई अल्टिच्युड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?