आज न्वागी पर्व मनाउँदै चेपाङ समुदाय

हिमालय टाइम्स
Read Time = 2 mins

चितवन । चेपाङ समुदायले आज न्वागी अर्थात् नयाँ वर्ष मनाउँदैछन् । लोपोन्मुख चेपाङ (प्रजा) समुदायले हरेक वर्ष मध्य भदौमा यो पर्व मनाउने गर्दछन् । उनीहरूले यस पर्वलाई छोनाम पनि भन्ने गर्दछन् । यस वर्ष यो पर्प आज (भदौ २२) गते बुधबार मनाइँदै छ ।

यसै दिन पितृहरूको सम्झनामा पूजा गरिन्छ । घैया धानलाई टाउकोमा राखेर आशिष लिने गरिन्छ । यस्तै यस दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । यो समुदायले ‘भूयार’ र ‘न्वागी’ गरी दुईवटा पर्वलाई विशेष हर्षोल्लासका साथ मनाउने गर्दछन् । यो समुदायले ‘खेती लगाउने समयमा ‘भूयार’ र खेती थन्काउने बेलामा ‘न्वागी’ मनाउने गर्दछन् ।

फागुन र चैतमा रोपेका बाली साउन/भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरूपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाइ खान सुरु गरिन्छ ।

यस वर्षबाट चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङ जिल्लामा बागमती प्रदेश सरकारले पहिलो पटक सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातिको बसोबास बढी छ । विसं २०६८ को गणना अनुसार नेपालमा यो जातिको संख्या ६८ हजार तीन सय ९९ छ । पछिल्लो जनगणनाको संख्या हालसम्म आइसकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?