प्रिमियरमा तारिफ पायो ‘ऐना झ्यालको पुतली’ ले

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘ऐना झ्यालको पुतली’ ले प्रिमियर शोमा तारिफ बटुलेको छ । सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताउँदै चलचित्रको तारिफ गरेका हुन् । कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका चलचित्रकर्मी तथा साहित्यकारले चलचित्रले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए ।

फिल्मको प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले चलचित्र असाध्यै सुन्दर बनेको बताउँदै यो चलचित्र नेपालभरिका स्कुलमा देखाउन आग्रह गर्नुभयो । पहिलो चोटि हेर्दा धित नमरेर दोस्रोपटक चलचित्र हेर्न आउनुभएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली चलचित्र कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको जिकिर गर्नुभयो ।

ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस हुन्छ । चलचित्रले बालापन दुरुस्त उतारेको छ ।

यस्तै साहित्यकार नयनराज पाण्डेले चलचित्रलाई पाँचमा पाँच रेटिङ दिँदै चलचित्र हेर्दा आफूलाई डेढघण्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै नाटक निर्देशक विमल सुवेदीले चलचित्रलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताउनुभयो । निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’ पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने चलचित्र रहेको बताउनुभयो ।

यसैगरी दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुतलगायतले चलचित्रमा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभएको थियो । यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रमा सुजित बिडारीको लेखन तथा निर्देशन छ । चलचित्रलाई आकाश पौडेल, प्रवीन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो ।

संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको चलचित्रले उच्च शिक्षा लिन चाहाने किशोरी सपनालाई सिसाको झ्यालमा अड्किएको पुतलीको बिम्ब सादृश्य वर्णन गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?