बालेनको सुरुवाती सकस तथा हाम्रो नियति

हिमालय टाइम्स
Read Time = 14 mins
A A- A+

✍️ मेघनाथ दाहाल

पुख्र्याैली थलो महोत्तरी भए तापनि काठमाडौंमै हुर्कीबढी प्राविधिक जनशक्तिको (स्ट्रक्चरल इन्जिनियर)को रूपमा आफूलाई बालेनले चिनाएका हुन् । काठमाडौं महानगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवारको रूपमा उनेले आफूलाई चिनाउँदा धेरैको हाँसोको पात्र नभएका होइनन् । तर, माहोल विस्तारै विस्तारै उनको पक्षमा बन्दै गयो । उनको क्षमता, उमेर, शिक्षा, मतदाताहरूको परिवर्तनको चाहना तथा हाम्रा दलीय नेता तथा कार्यकर्ताको निरन्तरको (अ)परिणाममुखी कार्यक्रम ।

हालका दिनमा बालन मेयरको रूपमा सुरुवाती कामहरूमा डटेर लागिपरेको विभिन्न मिडियाले कभर गरिरहेका छन् । बालेनको विजयी यात्राको समयमा नै उनका एकथरी विरोधीले आजभोलि बजारमा सिर्जना भइरहेको अप्ठ्याराको तानाबुना रचेका हुन् भन्ने जानिफकारहरू पनि बजारमा नभेटिएका होइनन् । बहुदलीय प्रजातान्त्रिक पद्धतिको शासन व्यवस्थामा नेपाली राजनीतिक वृत्तमा विगत तीन दशकमा भएको काम भनेकै अति राजनीति तथा अनावश्यक विषयवस्तुमा भएको अति दलीयकरण हो ।

मेयरको रूपमा गैरदलीय, स्वतन्त्र, युवा उमेर समूहको उम्मेदवारको हैसियतले भएको बालेनको विजयी यात्रामा गैरदलीय स्वतन्त्रताले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको थियो । यसका अतिरिक्त उनको उमेर, प्राविधिक ज्ञान र क्षमता, वाकपटुता तथा काठमाडौं उपत्यकालाई आउँदो पाँच वर्षमा महसुस हुने किसिमको परिवर्तनका योजनाप्रतिको आममानिसमा भरोसा नै हो । तर, हाम्रो विडम्बना, आज यही विश्वास तथा उनको योजना नै उनका लागि आज फलामको चिउरा बनिरहेको छ ।

व्यक्तिगतभन्दा पनि नेपालको राजधानी काठमाडौंको महानगरपालिकाको मेयरको नाताले उनले अबका दिनमा संस्थागत परिपक्वता एवं कानुनी, सामाजिक, सांस्कृतिक रूपमा विवाद तथा उल्झन नआउने किसिमको कामकारबाही गर्न सकेमा उनको कार्यकाल सजिलोमात्र नभएर सफल हुने थियो ।

बालेनलाई कमजोर पार्ने तथा गैरदलीय व्यक्तिको जितले हाम्रो संयन्त्रमा काम गर्न सक्दैन भन्ने आममानिसमा छाप पार्न जुन किसिमका हर्कत तथा बदमासी भइरहेका छन् त्यसप्रति हामी सबै सजग हुनुपर्ने छ । यसको अर्थ बालेन स्वयं यही माटो तथा वातावरणमा हुर्किबढेको व्यक्ति भएकाले उहाँ पनि शुद्ध गाईको दूधले नुहाएको व्यक्ति भन्न खोजेको पक्का होइन । तर, काम गर्ने मौका नै नदिइकन कुनै पनि व्यक्ति विशेषको क्षमता तथा सामथ्र्यलाई मजाकको विषय बनाउनु समाज तथा समुदायका लागि लाज लाग्ने विषय हो भन्नमात्र खोजिएको हो ।

बालेनका हरेक संस्थागत क्रियाकलाप अत्यन्त सोचविचार पुर्‍याएरमात्र गर्नुपर्ने समय आएको जस्तो देखिन्छ । अन्यथा आगोमा घ्यू थप्ने काम उनका आफ्नै कामकारबाही नै नहोलान् भन्न सकिँदैन । निर्वाचित नै भए पनि हामी, हाम्रो समाज, समाजको संरचना तथा समाजमा विद्यमान विविध किसिमका मूल्य, मान्यता बालेनलाई भिटो पावर प्रयोग गर्ने अधिकार दिँदैन । हालैका दिनमा जाने बुझेका अग्रजले मिडियाबाजी गरेर बालेनलाई समुदायको सपोर्ट छैन भन्ने कुरा गरिरहेका छन् । खासगरी बालेनजस्तै स्वतन्त्र उम्मेदवारको रूपमा विजयी धरानका मेयर हर्क राई र बालेनको तुलनात्मक पक्षहरूमा यी कुराहरू मिडियामा आउने गरेका छन् ।

यस्ता किसिमका प्रवृत्तिले बालेनको विशुद्ध माहनगरको भलो चिताउने प्रवृत्ति तथा गन्तव्यमा पुग्ने अठोटमा चोट पुग्ने देखिन्छ । बालेन र उनको यो जित व्यक्तिगत नभएर समग्रमा हामी र हाम्रो प्रजातान्त्रिक अभ्यास, विगतका राम्राभन्दा नराम्रा किसमका राजनीतिक तिक्डमहरू, व्यवहार, विधि, परम्परा एवं राजनीतिक कुसंस्कारहरूको एकमुष्ट विकल्पको परिणाम मात्र हो । यसो भनिरहँदा बालेन व्यक्तिगत रूपमा असक्षम हुन्छन् भन्न न हक छ न त समयले नै त्यो सीमा प्रदान गरेको छ । व्यक्तिगत रूपमा कलाकारितामा समेत जमेका युवा ३२/३३ वर्षीय ठिटालाई कसैले नजरअन्दाज गर्न सकिँदैन ।

तर, व्यक्तिगतभन्दा पनि नेपालको राजधानी काठमाडौंको माहनगरपालिकाको मेयरको नाताले उनले अबका दिनमा संस्थागत परिपक्वता एवं कानुनी, समाजिक, सांस्कृतिक रूपमा विवाद तथा उल्झन् नआउने किसिमको कामकारबाही गर्न सकेमा उनको कार्यकाल सजिलोमात्र नभएर सफल हुने थियो । काठमाडौंवासीहरूको उनीप्रतिको चाहना भनेको नै हाम्रो विगत तीन दशकदेखिको अति यथास्थितिवादी सोच, काम गराइ, सबै दलहरूको धनवाद, डनवाद, ठेक्कावाद सर्वासधारणको कुनै आवश्यकता तथा अप्ठ्यारोमा मल्हमपट्टी लगाउन नसक्ने किसिमको व्यवहारमा प्रगतिशील परिवर्तनको अपेक्षामात्र हो भन्दा अतिसयोक्ति नहोला ।

आजको उपत्यका अब एकपक्षीय जनता तथा सोच भएका मानिसको झुण्ड रहेन । यहाँ ७७ भन्दा बढी जिल्लाको साथमा विदेशीहरूको उत्तिकै चासो रहेकाले बालेनले यस कुरालाई हृदयंगम गरेरमात्र कामकारबाही चलाउनु होला भन्ने सबैले आशा गरेका छन् । निर्वाचनताका नै बाहिर आएको काठमाडांै उपत्यकाको फोहोरमैलाको वैज्ञानिक, व्यावसायिक तथा दिगो व्यवस्थापनको कुराले आजभोलि बजारमा स्थान पाएको मात्र नभएर बालेनको सुरुवाती सकसको रूपमा देखिएको थियो ।

काठमाडौं उपत्यकाभित्रको सबै फोहोरमैलाको व्यवस्थित व्यवस्थापनको लागि राखिएको बञ्चरे डाँडामा भएको अति राजनीतीकरण र फोहोरी खेलले सत्ता र बाहिर बसेर राजनीति गरिरहेको एउटा समूहको मखुण्डोलाई सर्वसाधारणले राम्रोसँग चिन्न पाएका छन् । जनगणना २०७८ ले उपत्यकामा मात्र ३० लाख जनसंख्या रहेको कुरा गरेता पनि वास्तविकता अलि फरक नै रहेको पाइन्छ । स्वतन्त्र संस्था, व्यक्ति तथा समूहहरू एवं विदेशी विशेषज्ञहरू काठमाडौं उपत्यकाले दैनिक रूपमा पचास लाखभन्दा माथिको जनसंख्याको बोझ थेग्न बाध्य छ भन्ने कुरा गरिरहेका छन् । उपत्यकामा स्थायी रूपमा बसोबास गर्ने जनसंख्या ४० लाख र बाहिरी जिल्लाबाट विभिन्न कामले आउने तथा विदेशबाट आउने मानिसहरूको संख्या दश लाख जति देखिन्छ जुन स्थायी प्रकृतिको त छैन तर उसलाई पनि उपत्यकामा उपलब्ध भएको पूर्वाधारले नै थेग्नुपर्ने हुन्छ । यो जनसंख्या वृद्धिमा सबैभन्दा बढी योगदान माओवादीको एक दशकको सशस्त्र युद्धले दिएको हो ।

यति भन्दै गर्दा हाम्रो विकास प्रयास, योजना निर्माण, विकेन्द्रीकरणको थालनि र कार्यान्वयन तथा सरकारी सेवासुविधा दुर्गम, देहात तथा गाउँ तल्लो तहमा जानुपर्दछ भन्ने कुरामा समग्र प्रणाली कति संवेदनशील छ भन्ने कुराले उपत्यकाको जनसंख्या वृद्धिमा धेरै अर्थ राखेको पाइन्छ । साथै के बिर्सनु हुँदैन भने सन् १९९० को दशकपछि दक्षिण एशियाली मुलुकहरूमा देखापरेको अत्यन्त उच्चदरको शहरीकण, यसको प्रत्यक्ष प्रभावले धेरथोर योगदान दिएको छ । आज मुलुक संघीयतासहित तीन तहको सरकार तथा शासन व्यवस्थामा गएको कुरा कानुनी रूपमा देखिन्छ तर व्यवहारमा कहीँ कतै देखिँदैन । शिक्षा, स्वास्थ्य अन्य आधारभूत सेवासुविधामा हिजोको जस्तो धङ्धङी पाइन्छ । यी कुराहरूले काठमाडौंलाई एक सुन्दर नगरीबाट विस्तारै विस्तारै हामीले नै अस्तव्यस्तताको नगरीमा परिणत गरिरहेका छौँ । संघीयतासहितको नयाँ संविधानले स्थानीय तहलाई अत्यन्त दह्रो, शक्तिशाली एवं अधिकार सम्पन्न बनाएको एवं स्थानयी सरकारको रूपमै लिएको छ ।

महानगरले सम्पूर्ण कानुनी तथा अन्य सबै प्रक्रिया पूरा गरी सुरु गरेको गैरकानुनी तथा मापदण्डविपरीत बनेका विभिन्न संरचनाको विस्थापनमा देखिएको रोइलोले पुनः बालेनको उचाइ थपेको छ ।

अन्त्यमा, महानगरले सम्पूर्ण कानुनी तथा अन्य सबै प्रक्रिया पूरा गरी सुरु गरेको गैरकानुनी तथा मापदण्डविपरीत बनेका संरचनाको विस्थापनमा देखिएको रोइलोलाई राजनीतिले पनि पुनः बालेनको उचाइ थपेको छ । यो कार्य आवश्यक थियो र गरियो भन्ने कुरामा कसैको दुईमत नरहला । तर, विभिन्न बहानाबाजी जस्तो दशैँतिहारको मुखमा व्यापारी अन्यायमा परे । यस कुरालाई ध्यानमा राखेको भए-कसको के जान्थ्यो जस्ता कुराले भोलिका धेरै कामहरूमा समस्या ननिम्त्याउला भन्न सकिँदैन । त्यसर्थ महानगर तथा मुलुककै राजधानी शहरको भलो चिताउने क्रममा बाँकी चौवन्न महिना पनि काम गर्नु छ भन्ने कुराको हेक्का बालेनले राखेमा हामी सबैको भलो हुने थियो । साथै उनको नियतमा भएको सफाइलाई मतदानमा सबैले स्यालुट गरेकै हो । यतिमात्र नभई उनका यावत् गतिविधिले खराब नियतिको वर्तमान राजनीतिक परिदृश्यलाई निश्लेषण गर्दा राजनीतिक दलहरूको औचित्यमाथि प्रश्न खडा भएको अनुभूति हुन्छ ।

दलहरूका प्रमुख नेता आफ्नो सत्तास्वार्थमा आफ्ना पार्टीका नीति, सिद्धान्त र आदर्शलाई चटक्कै बिर्सेर जोसँग पनि हातेमालो गर्दै हिँडेका छन् । यो अस्वथ र अस्वाभाविक सहकार्यले राजनीतिमा घिनलाग्दो अवस्था सिर्जना भएको छ जुन उत्साह र उमंगका साथ नेपालीहरूले ठूलठूला परिवर्तनकारी आन्दोलनमा सहयोग र साथ दिए आज परिवर्तनका सम्वाहक नै गतिछाडा भएर निस्किए । परिणामस्वरूप अहिले चर्चा हुन थालेको छ अब दलहरूलाई किन मतदान गर्ने ? यदि दलहरू नै रोज्नुपर्ने हो भने त्यसको औचित्य र आवश्यकता के भन्ने फेरि अर्को प्रश्न स्वभावैले तेर्सिहाल्छ । यसर्थ अहिले जुन खालको राजनीतिक परिदृश्य देखिएको छ यसले आमनेपालीहरूलाई आश्वस्त पार्न सक्ने स्थिति देखिँदैन । कम्तीमा पनि अहिलेको युवा पिँढीलाई अब झुक्याउन सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?