प्रधानमन्त्री देउवाको आक्रोशः देशको दुर्गति हुनुको जिम्मेवारी को हो ?

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताउनुभएको छ ।

बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताउनु भयो । उहाँले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताउनु भयो । प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रिय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताउनु भयो । उहाँले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताउनु भयो । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरुलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्यूरोकेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ । हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ । बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन् । त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटाे बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार । देशभरको अवस्था त्यस्तै छ । पोलिसिले मात्रै केही हुनेवाला छैन, ब्यूरोकेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोकेसी छ । स्थानीय, प्रदेश, केन्द्रिय ब्यूरोकेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ । तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ । पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलव दिनपनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो । काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि । ब्यूरोकेसीको सहयोग बिना कुनैपनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोकेसी हो नि । उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन । सबै जिम्मेवार हुनुपर्छ । जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि । त्यही भएर तपाईहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।’

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले देश विकासको लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?