विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई प्रचण्डले पुल्पुल्याएको जनार्दन शर्माको आरोप

Read Time = 7 mins

काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताउनु भयो । उहाँले संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताउनु भयो । पार्टीमा एकले अर्काको बिरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृति रहेको भन्दै उहाँले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्नेकाम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताउनु भयो । उहाँले चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकतावद्ध भएर जानुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थी संगठनमा यहाँ त घोषणा गर्दिए हुन्छ, हिजो अर्कै एकजनाले गर्दै रहेको अवस्था हो । अब अराजकता गर्ने अनि त्यसैलाई नेतृत्वले पुल्पुल्याउने कुरा त्यो खराब कुरा हो त्यसको आलोचना गरौँ । त्यो कुरा मान्य हुँदैन । संगठन विधिमा बस्नुप-यो । पद्धतीमा बस्नुप-यो । विधि र पद्धतीमा बसेर संगठन गर्ने कुरा हुन सक्दैन । संगठन सुदृढ गरेर जानुपर्छ भन्ने मेरो आफ्नो भनाई छ । पद र शक्तिको होडमा आज कुरा गर्ने होइन, एजेण्डाको आधारमा कुरा गर्ने हो । संगठनको कुरा गर्ने हो । त्यसकारण मैले विद्यार्थी संगठनमा देखिएको समस्यालाई हल गर्नका लागि तपाई विद्यार्थी साथीहरुलाई गलत कुराको आलोचना गर्ने, सही कुराको समर्थन गर्ने हिम्मत गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु । कहिलेकाहीँ हामी लाइनीको कुरा सुनेर नीति बनाउने अनि सत्यतिर खोजि नगर्ने हाम्रो बानि छ । यो हाम्रो बानी खराब बानी हो । यो बानी हामीले सच्याउनुपर्छ । पार्टीमा संगठनमा । एउटा गएर कसैलाई कुरा लगाइदियो भने अध्यक्षले त्यही कुरा सुनेर अर्काप्रति रिसीइबी साँध्ने काम गर्नु हुँदैन । सत्य थाहा पाएर गर्नुपर्छ । चुनावमा गइरहेको बेलामा हामी कसैको भण्डाफोर गरेर होइन, पार्टीमा संयमताका साथ, पार्टीलाई एकतावद्ध गर्ने नीति लिएर जनताको जनमत लिने गरेर जानुपर्छ । म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ । नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ । सही नीति र नेतृत्वको रक्षा गर्ने दायित्व मेरो हो । त्यो कुराप्रति म गम्भिर छु । तर नीति र नेतृत्व सही ढंगले अगाडी बढ्नुपर्छ भन्ने कुरा पनि सँगसँगै मेरो माग हो । अध्यक्षको सबभन्दा बढी कडा आलोचक मै हुँ । अध्यक्ष कमरेडको सबैभन्दा बढी रक्षा गर्ने पनि मै हुँ । यो आज तपाईहरुको अगाडी म भन्न चाहन्छु । नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन पनि अगाडी बढ्दैन । नीति र नेतृत्वको रक्षा गर्नुपर्छ तर त्यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने होइन । आलोचना गर्नुपर्छ । म त प्रचण्ड कमरेडको आलोचक हुँ । आलोचना गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ । चाकडीले रक्षा हुँदैन । लाइनले रक्षा हुँदैन ।’

उहाँले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गर्नुभयो । उहाँले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो – ‘लोकतन्त्रपछि हाम्रो पार्टीको राजनीतिक एजेण्डा के हो त ? भन्ने कुरा हामीले स्पष्ट हुन जरुरी छ । हुनत हामीले आठौँ महाधिवेशन ग¥यौँ । आठौँ महाधिवेशनमा धेरै कुरा गरेका थियौँ, के–के ग-यौँ आज मैले बिर्सिइसकेको छु । तरपनि कुरा के हो भने, हाम्रो एजेण्डाहरु कार्यकारी नेतृत्व, राष्ट्रको नेतृत्व कार्यकारी हुनुपर्छ भन्ने हाम्रो राजनीतिक एजेण्डा हो । दोस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको कुरा हो । तेस्रो, हाम्रो राज्य पुनःसंरचना भएको छैन । पुनःसंरचनाको एजेण्डा हो । चौथो भनेको पहिचानको एजेण्डा हो । यिनै राजनीतिक एजेण्डा पार्टीका हुन् । तर विद्यार्थी संगठनका एजेण्डा के हो ? विद्यार्थी संगठनका एजेण्डा चाहियो ।’

 

उहाँले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?