जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि मेराे मुख्य भूमिका छ : प्रचण्ड

Read Time = 4 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताउनुभएको छ ।

बुधवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरु तयार होउन् भन्ने आफ्नो सपना रहेको बताउनु भयो ।

उहाँले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफूले सबै चिज भएको बताउनु भयो । उहाँले पार्टीलाई एकतावद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडी बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अर्थमन्त्री समेत रहनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उहाँको भनाइ थियो । उहाँले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनु भयो । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका रहेको बताउनु भयो । उहाँले शर्मालाई आफूले रक्षा र विकास गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा । म तपाईहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भुमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरें । जनयुद्धको पनि नेतृत्व गरें । संविधानसभाको पनि नेतृत्व गरें । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरु तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडी बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडी बढुन् । हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ । तपाई विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्नको लागि सहयोग गर्नुस् । यही अपील र आग्रह छ ।’

अध्यक्ष दाहालले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धीको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताउनु भयो । उहाँले सडकको हिरो युवा र विद्यार्थीहरु भएको उल्लेख गर्दै उनीहरु सडकमा नआउँदासम्म देशले गति नलिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?