राजनीतिले गिजोलियो सरस्वती मावि

राजनीतिले गिजोलियो विद्यालय

Read Time = 10 mins

चिसाङ शेर्पा/हिटा

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा अवस्थित सरस्वती नमुना माध्यमिक विद्यालयलाई लामो समयदेखि विज्ञान विषय शिक्षकको खाँचो छ । विगत लामो समययता निमावि तहको विज्ञान शिक्षक दरबन्दीको शिक्षक नहुँदा विद्यालयले चरम अभाव झेल्दै आएको छ । निमावि तहको सामाजिक विषय शिक्षकले अहिलेसम्म जेनतेन विज्ञान कक्षा हेरिरहेको अवस्था थियो । तर, विज्ञान विषय पढाउँदै आउनुभएका उनै सामाजिक शिक्षक पनि साउन २ गतेदेखि अनिवार्य अवकास भएपछि विज्ञान विषयका अधिकांश कक्षाहरू(घण्टी) खाली हुँदै आएको छ । विज्ञान विषय पढाउनुपरेमा अन्य विषयका शिक्षकहरूलाई कक्षा लिन पठाउनुपर्ने बाध्यता छ ।

विद्यालयमा साउन २ गतेभन्दा अगाडि निमावि तहमा सामाजिक शिक्षक चारजना थिए । एकजना शिक्षक अनिवार्य अवकास भएपछि अब तीनजना सामाजिक शिक्षक छन् । सामाजिक शिक्षकको एक दरबन्दी खाली छ । तर, विज्ञान विषय शिक्षक दरबन्दी अहिलेमात्रै हैन, अघिल्लो विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयप्रसाद आचार्य र प्रधानाध्यापक ध्यानबहादुर राई र ज्ञानबहादुर राईकै पालादेखि खाली रहेको थियो ।

विज्ञान हेर्ने तिनै सामाजिक शिक्षक अवकास भएपछि भने अहिले विद्यालयलाई विज्ञान शिक्षकको अभाव छ । उहाँको स्थानमा विद्यालयको आवश्यकता विज्ञान शिक्षक रहेको भनी शिक्षक र कर्मचारीसहित ४० जनाको सहभागितामा १८ साउनमा बैठक बसेर निर्णयसहित विव्यसलाई अनुरोध गरिएको थियो । तर, विव्यस अध्यक्ष जयप्रसाद आचार्य र केही सदस्यहरूले व्यक्ति नै तोकेर अंग्रेजी शिक्षक ल्याउन अनुचित दबाब र अभद्र व्यवहार गरेपछि विज्ञान शिक्षक नियुक्तिको विषय निर्णयमा पुग्न नसकेको विद्यालय स्रोतले बताएको छ । ताकि विद्यालयमा सबैभन्दा बढी अंग्रेजी विषयका शिक्षकहरू कार्यरत छन् ।

विज्ञान शिक्षक राख्ने विषयमा विव्यसको चारवटा बैठक बसे पनि टुंगोमा पुग्न सकेको छैन । विव्यस अध्यक्ष आचार्यसहित उनी निकटका सदस्यहरू जसरी पनि आफ्नो मान्छे र आवश्यक नभएको अंग्रेजी विषय शिक्षक राख्ने अडानमा रहेको स्रोत बताउँछ । शिक्षकको बहुमत विज्ञान शिक्षक ल्याउनुपर्नेमा छ । त्यस विद्यालयमा कार्यरत शिक्षक धनीराम राईका अनुसार वर्तमान प्रधानाध्यापकको अडानका कारण विद्यालयको अहित हुने निर्णय विव्यसले गर्न नसकेको हो ।

राजनीतिक दल, दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको दबाबमा काम गर्ने विगतका प्रधानाध्यापकहरूजस्तै वर्तमान प्रधानाध्यापक भएका भए विद्यालयको हितविपरीत निर्णय भइसक्ने कुरासमेत शिक्षक राईले बताउनुभयो ।

विधार्थी बढी भएपछि कक्षा ७, ८, ९ को अंग्रेजी माध्यमका तीन सेक्सन र नेपाली माध्यमका कक्षा ८, ९ मा चार सेक्सन छुट्याएपछि दिनको पाँच घण्टी पढाउने विज्ञान शिक्षक खाँचो भएको हो । विज्ञान विषयका खाली कक्षाहरू व्यवस्थापन गर्न विद्यालयको प्रतिदिन ९०० खर्च भइरहेको छ । उता, सरकारी दरबन्दीमा शिक्षक पदपूर्ति नहुँदा सरकारबाट आउने निमावि तहको स्केल बिनाअर्थ खेर गइरहेको छ ।

विव्यसमा चार राजनीतिक दलका नेताहरू छन् । माओवादीबाट अध्यक्ष जयप्रसाद आचार्य, सदस्यमा राम हिङमाङ, दीपेन्द्र राई, कांग्रेसबाट नवराज राई, दिनेशकुमार घिमिरे, श्याम राई, नेकपा एसबाट संगीता राई र जसपाबाट रोजिना थापा राई छन् । नेकपा एसका संगीता र जसपाका रोजिना पनि अंग्रेजी शिक्षक ल्याउने भूमिकामा देखिएको स्रोत बताउँछ । विव्यस अध्यक्ष आचार्यको भने यो दोस्रो कार्यकाल हो ।

विव्यस समितिका जिम्मेवार सदस्यहरूले पदीय मर्यादाविपरीत केही शिक्षक र कर्मचारीलाई छुद्र बोली तथा अशिष्ट व्यवहार गर्ने साथै बैठक चलिरहँदा पनि बैठकको मर्यादा विपरीत अमर्यादित र अभद्र व्यवहार गर्ने गरेको एक शिक्षकले गुनासो पोख्नुभयो ।

शिक्षक नियुक्तिको द्वन्द्व चर्किंदै जाँदा शैक्षिक उपलब्धिमा पनि ह्रास आउने देखिएको र शिक्षक, कर्मचारीहरूमा आत्मसम्मान र आत्मस्वाभिमानमा ठेस पुगेको अनुभूति भएकाले कार्यक्षमतामा नकारात्मक असर हुने प्रष्ट देखिएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताउनुभयो । समयमा शिक्षक नियुक्ति गर्न नसक्दा विद्यालयलाई शैक्षिक, आर्थिक र शिक्षक, कर्मचारीमा मनोवैज्ञानिकरूपमा नकारात्मक असर परिरहेको प्रष्ट देखिएको छ ।

विद्यालयलाई नमुना मावि बनाउन एमएससी योग्यता भएका शिक्षकहरूको व्यवस्थापन गरी कक्षा ११ र १२ कक्षामा विज्ञान संकायको पढाइ गर्नुपर्ने हुन्छ । विगतमा मावि तहमा दुईजना शिक्षकहरू झनकबहादुर थापा र ध्यानबहादुर राई उमेर हदका कारणले अनिवार्य अवकास पाई उहाँहरूको दरबन्दी रिक्त भएको अवस्थामा विज्ञान शिक्षकको व्यवस्थापन गरी कक्षा ११ मा विज्ञान विषयको पढाइ सुरु गर्न सकिने अवस्था हुँदाहुँदै राजनीतिक दाउपेचका कारण गणित विषयका शिक्षकहरू ल्याउने काम भएको थियो ।

यसरी हेर्दा विव्यस र विगतको विद्यालय प्रशासनले समेत विशुद्ध शैक्षिक उन्नति र विद्यालय र विद्यार्थीको हितका निम्ति भूमिका निर्वाह नगरेको प्रष्ट देखिएको विद्यालय स्रोतले बताएको छ । ‘मावि र प्राविमा अंग्रेजी शिक्षक छन्, निमाविमा अंग्रेजी शिक्षक छैनन् । त्यहीकारण अंग्रेजी शिक्षक ल्याउनुपर्छ भन्ने साथीहरूको भनाइ छ । म चाहिँ विद्यालयको हित जसरी हुन्छ त्यसै गरांै भन्नेमा छु,’ विव्यस अध्यक्ष आचार्यले भन्नुभयो ।

‘स्टाफहरूले विज्ञान शिक्षक समस्या छ भन्नुभएको छ । हिजो हामीले नियुक्ति नगर्दा पनि चलिरहेको थियो । भर्खरै निजीमा विज्ञान एकजना शिक्षक नियुक्ति गरिदिएका छांै, अनि कसरी चलेन त ?’ आचार्यले भन्नुभयो, ‘हिजो अर्को प्रअ हुँदा तीनजना शिक्षक नियुक्ति नगर्दा पनि स्कुल राम्ररी चलिरहेको थियो । अहिले के भएर नचलेको भन्ने हो ।’ गणित र अंग्रेजी शिक्षक आवश्यक भनी निवेदन आएको तर विज्ञान शिक्षक आवश्यकता भनी निवेदन नआएको समेत विव्यस अध्यक्ष आचार्यले बताउनुभयो ।

विद्यालयमा मेरो-तेरो पार्टी नभनीकन विद्यालयलाई आवश्यक विषयगत शिक्षक चयन गर्नेमा आफ्नो अडान रहेको र विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न नदिने विव्यस सदस्य तथा दिक्तेलका वडाध्यक्ष नवराज राईले बताउनुभयो । ‘कुन आवश्यकता हो त्यही विषयको शिक्षक ल्याउनुपर्छ । मेरो वडाभित्रको विद्यालय पनि हो,’ वडाध्यक्ष राईले भन्नुभयो, ‘पाँच वर्षबीचमा दायाँबायाँ नगरी स्कुललाई कसरी नमुना स्कुल बनाउने भन्ने हो । यो पार्टी, त्यो पार्टी हुँदैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?