गोदावरी र भक्तपुर फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वडा १ ले भक्तपुर नगरपालिका वडा ५ तथा भक्तपुर नगरपालिका वडा २ ले ललितपुर महानगरपालिका वडा २ लाई समान ३-२ को सेटमा पराजित गरे ।

प्रतियोगिताको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीमा संयोग कपाली, रुविन महर्जन, शुभश्री श्रेष्ठ, वियन्का राई, इभाना थापा मगर, प्रिन्स थापा र प्रज्ज्वल मानन्धर रहनुभएको छ । उक्त प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा एक रजत र चार कांस्य पदक जितेको थियो । शुभश्री र वियन्काले रजत जित्नुभएको थियो भने बाँकीले कांस्य हात पारेका थिए ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा सात स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक समेत रहनुभएका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाउनुभएको छ ।

टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय नगद पुरस्कार प्राप्त गर्नेछन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले दुई हजार पाँच सय नगद पुरस्कार पाउनेछन् ।

टिम च्याम्पियनलाई रनिङ शिल्ड प्रदान गरिनेछ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ टिम च्याम्पियन बनेको थियो । प्रतियोगितामा ३५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेलप्रेमी पूर्णशंकर श्रेष्ठ रहनुभएको छ । प्रतियोगिता भदौ २५ गतेसम्म जारी रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?