अपर कर्णालीबारे ऊर्जामन्त्रीको स्पष्टोक्ति

Read Time = 4 mins

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगानी बोर्डको सिफारिसमा मन्त्रिपरिषद्ले जिएमआर अपर कर्णाली हाइड्रो पावर लिमिटेडको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरेको संसद्लाई जानकारी गराउनुभएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको उहाँले बताउनुभएको हो ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौताको कार्यान्वयन र जलविद्युत् आयोजनामा राष्ट्रिय हित संरक्षणसम्बन्धी सांसदहरूले गर्नुभएको ध्यानाकर्षणका सम्बन्धमा मन्त्री भुसालले भन्नुभयो, ‘पारदर्शीरूपमा इच्छुक/स्वदेशी लगानीकर्तालाई समानरूपमा प्रतिस्पर्धा गर्ने मौका दिएको थियो । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण एवं सञ्चालन गर्न संयुक्त उपक्रमद्वारा नेपालमा स्थापना भएको जिएमआर अपर कर्णाली हाइड्रोपावरसँग परियोजना सम्झौता गरिएको हो ।’

विकासकर्ताले तोकिएको अवधिमा कार्ययोजनाबमोजिम विद्युत् बिक्री सम्झौता, वित्तीय व्यवस्थापनलगायत विषय सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आयोजना निर्माणपछि नेपालले पाउने १२ प्रतिशत निःशुल्क विद्युत् र नेपाल विद्युत् प्राधिकरणले पाउने २७ प्रतिशत निःशुल्क सेयर पाउने जानकारी गराउँदै उहाँले जलविद्युत् विकास नीतिअनुसार रोयल्टीसमेत प्राप्त हुने तथा आयोजना व्यापारिकरूपले सञ्चालन भएको २५ वर्षपछि चालु अवस्थामा नेपाललाई निःशुल्क हस्तान्तरण हुने हुँदा आयोजना चाँडो अघि बढाउन सबै पक्षबाट पारस्परिक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाबाट उत्पादित विद्युत् निर्यात भई बंगलादेशको बजारमा खपत हुनसक्ने देखिएकाले विद्युत् व्यापारलाई द्विपक्षीयबाट बहुपक्षीयमा लैजान सहयोग पुग्ने ऊर्जामन्त्री भुसालको दाबी छ । पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि नेपालले विगत लामो समयदेखि नै प्रयास गरिरहेको भन्दै उहाँले फ्रान्सेली परामर्शदाताले पहिचान गरेको तीन सय ५० मेगावाटको उक्त आयोजनाको विकास गर्न अष्ट्रेलियन कम्पनी (स्मेक) र तत्कालीन जलस्रोत मन्त्रालयबीच समझदारी भएको जानकारी दिनुभयो ।

मन्त्री भुसालले अर्थतन्त्रको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा भएको उल्लेख गर्दै देश विकासका लागि जलस्रोतलगायतका प्राकृतिक स्रोतको उचित प्रयोगमा जोड दिनुभयो । मन्त्री भुसासलले ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत भई बढी हुने ऊर्जालाई निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी रहेको औंल्याउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?