रमेश विश्वकर्मा/हिटा
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिले प्राध्यापक कर्मचारीबाट स्वेच्छिक अवकासका लागि आशय पत्र माग गरेको छ । गत साउन ३० गते अल्पकालीन समयका लागि रेसुंगा बहुमुखी क्याम्पसको आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्थिक संकटकाल घोषणा गरेको क्याम्पस सञ्चालक समितिले स्वेच्छिक अवकासका लागि आशय पत्र माग गरेको हो ।
क्याम्पसमा पत्रकार सम्मेलनमार्फत् आर्थिक संकटमा चुर्लुम्म डुबेको क्याम्पसलाई बाहिर निकाल्न सबैको सहयोगको आवश्यकता रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो । उहाँले क्याम्पसलाई आर्थिक संकटबाट बाहिर निकाल्नका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएको बताउनुभयो । क्याम्पसमा तत्काल आवश्यकताभन्दा बढी रहेका प्राध्यापक र कर्मचारीहरूलाई स्वेच्छिक अवकास र आवश्यक परे अनिवार्य अवकासको व्यवस्था मिलाइएको अध्यक्ष भलामीले बताउनुभयो । ‘इच्छुक प्राध्यापक कर्मचारीहरूबाट स्वेच्छिक अवकासका लागि आशय पत्र माग गरिएको छ ।’ अध्यक्ष भलामीले भन्नुभयो, ‘प्राप्त आशय पत्रमाथि अध्ययन, छानबिन गरी तत्काल क्याम्पसलाई अत्यावश्यक नरहेका प्राध्यापक र कर्मचारीहरूको स्वेच्छिक अवकास प्रक्रियालाई अगाडि बढाउने छौं ।’
‘मौजुदा विद्यार्थी संख्या र प्राध्यापक कर्मचारी संख्याबीच रहेको व्यापक असन्तुलन हटाउनका लागि तत्कालै प्राध्यापक कर्मचारी कटौती गर्नुपर्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘आवश्यकताका आधारमा प्राध्यापक र कर्मचारी कटौती गर्ने हाम्रो तयारी रहेको छ ।’ सेवारत कर्मचारीहरूले उपयोग गरेका केही सुविधाहरूलाई समेत हाललाई स्थगित गरी आर्थिक सन्तुलन कायम गर्न लागिएको अध्यक्ष भलामीले उल्लेख गर्नुभयो ।
‘हामीले विगतदेखि नै क्याम्पसको शैक्षिक र आर्थिक अवस्थाको सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौं,’ अध्यक्ष भलामीले भन्नुभयो, ‘हालसम्म प्राध्यापक तथा कर्मचारीहरूको विगत सात महिनादेखिको तलबबापतको एक करोड ३५ लाख ९९ हजार ४२४ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।’ क्याम्पस सञ्चालक बैंक खातामा मौज्दात रकम अन्यन्तै न्यून रहेको अध्यक्ष भलामीले बताउनुभयो । उहाँका अनुसार २३ लाख ६४ हजार ९०५ क्याम्पस सञ्चालक खातामा रहेको छ । अक्षयकोषको लगानी र मुद्दती गरी ९६ लाख ६३ हजार २३३ रुपैैयाँ रहेको छ ।
क्याम्पस सञ्चालनको मुख्य आम्दानीको स्रोत विद्यार्थीको शुल्कबापत प्राप्त हुने रकम प्राध्यापक कर्मचारीको तलब र क्याम्पस सञ्चालन खर्चको अनुपातमा ऋणात्मक रहेको अध्यक्ष भलामीले बताउनुभयो । उहाँका अनुसार मासिकरूपमा सात लाख ९१ हजार ७५८ रुपैयाँ तलब भत्ताका लागि अपुग देखिएको छ । त्यस्तै प्राध्यापक कर्मचारीहरूको उपदान उपचार तथा सञ्चित बिदा कोषमा सञ्चित मौज्दात रकम र वास्तविक कुल भुक्तानी गर्नुपर्ने रकमबीचको अन्तर ठूलो रहेको उहाँले जानकारी दिनुभयो । प्राध्यापक कर्मचारीहरूको उपदान उपचार कोषमा नियमित जम्मा गर्नुपर्ने रकम हाललाई यही साउन १ गतेपश्चात् स्थगित हुने र विभागीयलगायतका सबै प्रकारका अतिरिक्त भत्ता हाललाई स्थगित गर्ने अध्यक्ष भलामीले बताउनुभयो । अध्यक्ष भलामीले सबैसँगको छलफल, समन्वय र सहकार्यबाट क्याम्पसलाई छिट्टै आर्थिक संकटमुक्त गर्ने बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका