सिट बाँडफाँटको प्रतिवेदन कार्यदलले आज बुझाउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आज प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने भएको छ । बुधबार बालुवाटारमा बसेको कार्यदल बैठकमा सिट बाँडफाँटबारे अहिलेसम्म भएका सहमति र असहमतिका बुँदा समावेश गरेर प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय भएको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा काँग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?