किलोको ९० मा बेचिन्छ अकबरे खोर्सानी, उत्पादन बढी मूल्य कम

Read Time = 4 mins

-निरोज कोइराला
भोजपुर । कृष्णकला तामाङ भोजपुर सदरमुकाममा लाग्ने साप्ताहिक हटियामा ९० रुपैयाँ प्रतिकेजी अकवरे खोर्सानी बेचिरहनु भएको थियो । उत्पादन बढी भएका कारण तामाङले कम मूल्यमा खोर्सानी बेच्नु पर्ने वाध्यता छ । बिगतमा चारदेखि पाँच सय रुपैया केजीसम्म बेचिने गरेको खोर्सानीको मुल्य अहिले एक सय भन्दा तल झरेको हो ।

पछिल्लो समय अन्य बाली छाडेर भोजपुरका अधिकांश ठाउँमा अकबरे खोर्सानीको व्यवसायिक खेती सुरु गरिएको छ । जिल्लाको विभिन्न भेगमा विभिन्न जातको अकबरे खोर्सानी खेती गर्ने कृषकहरू बढेका छन । अन्य बालीहरुको तुलनामा अकवरे खोर्सानी खेती बढी हुन थाले पछि मूल्य भने घटेको छ ।

“मेहनत नगरी त अकवरे खोर्सानी पनि कहाँ राम्रो उत्पादन गर्न सकिन्छ र तर ब्यवसायिक खेती नै सवैले गर्न थाले पछि मुल्यमा गिरावट आएको यसले चाँही कृषक मारमा परेका छन ।” कृषक हरि प्रधानले भन्नुभयो । अकवरे खोर्सानीलाई स्वास्थ्यको हिसावले पनि राम्रो मान्ने गरिन्छ । अकबरे खुर्सानीको नियमित सेवन गर्दा स्वास्थ्यलाई पनि फाइदा हुने स्वास्थ्यकर्मीहरुको पनि भनाई रहेको छ ।
उच्च पहाडदेखि गर्मी हावापानीमा समेत खेती गर्न सकिने भएपछि यो खेतीमा कृषकको रुचि बढेको हो ।पछिल्लो समयमा भोजपुरका कृषकमा खुर्सानी मोह बढ्न थालेको छ । कृषकहरूले उत्पादन गरेको खोर्सानी जिल्लामा मात्र नभएर धरान हुँदै बाहिरी जिल्लामा समेत ढुवानी हुने गरेको छ । कृषकका अनुसार राजधानी काठमाडौँ लगायतका ठाउँबाट समेत खुर्सानीको माग आइरहेको हुन्छ ।

मकै, कोदो, आलुलगायत बालीनाली लगाउँदै आएका कृषकले परम्परागत बालीनाली छोडेर अकबरे लगाउन थालेको स्थानीय कृष्णा श्रेष्ठकोे भनाई रहेको छ । खोर्सानी अन्य बालीनालीभन्दा स्याहारसुसार गर्न सजिलो र बजार राम्रो हुने भएकाले पछिल्लो समय अकबरे खुर्सानीतर्फ आकर्षण बढेको प्रधानको धारणा छ । भोजपुरको षडानन्द, अरुण, भोजपुर, टेम्केमैयुङ लगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती हुने गरेको छ । भोजपुरमा अकबरे खुर्सानी राम्रो सम्भावना रहेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुने गरेको छ । प्रदेश नम्वर १ का पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।
उत्पादन भएको खोर्सानी जिल्लामा मात्र खपत नहुने भएकाले कृषकले उत्पादन गरेको खोर्सानी ढुवानीका लागि ठुलो बजार आवश्यक भएको भोजपुर नगरपालिकाका कृषक सिताराम प्रधान बताउनुहुन्छ । “अकवरे खोर्सानी भनेको कृषकहरुको नगदे बाली हो, उत्पादित खोर्सानीलाई उचित बजार भने भएन ।” प्रधानले भन्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?