कविता : साहित्य र संगीत

Read Time = 3 mins

-राजेश अधिकारी

हे कर्णप्रिया भावपुन्ज भावना !
तिमी चट्टान झैं अडिक बन्दै जाऊ
म मुटु झैं कोमल बनेर
तिम्रो कठोरतालाई पगाल्दै जान्छु
तिमी लाभा झैं रापिलो हुँदै जाऊ
म पवन झैं सितल बनेर
तिम्रो उत्तापलाई सहँदै जान्छु
तिमी किनारा भै दूर भाग्दै जाऊ
म हुरी झैं भंगालो बनेर
तिम्रो सामिप्यतालाई छुँदै जान्छु
तिमी भागिराख,म पछ्याइरहन्छु
तिमी छक्याएर लुकिराख,म खोजिरहन्छु
अन्ततोगोत्वा म तिमीसित एकाकार हुनैपर्छ
किनकी म कर्मी तिमी कर्म
म कृती तिमी मर्म
नत्र कसरी कविता जन्मिन्छिन् ?
नत्र कसरी छन्दको मृदुल अलंकारले
काव्यको मादल घन्किन्छ?

हे मनमोहिनी कल्पपुन्ज कल्पना !
तिमी मरुभुमी झैं बन्जर बन्दै जाऊ
म मोती झैं आँशु बनेर
तिम्रो रुखोपनालाई सिंचित गर्छु
तिमी हुण्डरी झैं बिनाशक बन्दै जाऊ
म पहाड झैं कवच बनेर
तिम्रो उदण्डतालाई बशिभुत गर्छु
तिमी जून झैं नील गगनभित्र लुकिराख
म बादल झैं पिछलग्गू बनेर
तिम्रो आभासलाई आत्मसात गर्छु
तिमी हराइराख, म भेटिरहन्छु
तिमी छद्मभेसी बनिराख,म चिनिरहन्छु
अन्तत म तिमीभित्र समाहित हुनैपर्छ
किनकी म बादक तिमी बाध्य
म साधक तिमी साध्य
नत्र कसरी संगीत जन्मिन्छिन्?
नत्र कसरी सुरतालकी छहाराले
मधुर धुन गुन्जाउँछिन् ?

युद्दलाई रोक्ने, शान्ति बोलाउने
अस्त्र हो कविता
बिध्वंश रोक्ने,क्रान्ती निम्त्याउने
माध्यम हो कबिता
कबिता भावनाको झरी हो
म यसैमा रुझ्न चाहन्छु
भावना परमानन्दको सागर हो
म यसैमा डुब्न चाहन्छु
हृदय जोड्ने ,खुशी दिलाउने
कसी हो संगीत
दुखिपन तोड्ने , प्रशन्नताको आभा छर्ने
शशी हो संगीत
संगीत अतिदर्दको बुटी हो
म धारण गर्न चाहन्छु
संगीत खुशीको सगर हो
म यसैमा उड्न चाहन्छु
स्वार्गानन्द बोकेका कलाश्रेष्ठ बिधाहरू
साहित्य र संगीतलाई मेरो नमन ।

-इति-

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?