‘जनताको साथमा’ कांग्रेस अभियानको समापनमा प्रधानमन्त्री देउवा चितवन आउने

Read Time = 3 mins

चितवन । नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आउनुहुने भएको छ ।

यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम समापनका लागि प्रधानमन्त्री देउवा चितवन आउन लाग्नुभएको हो । नेपाली कांग्रेस चितवनले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री देउवा शुक्रबार चितवन आउन लाग्नुभएको जानकारी गराएको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जननायक विशेश्वरप्रसाद कोइरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न लागिएको हो । सो अवसरमा ज्येष्ठ राजनीतिकर्मी सम्मान, द्वन्द्व पीडित व्यक्तिहरुको सम्मान र मरणेपरान्त सम्मान गर्न लागिएको छ । जिल्लाका १५० भन्दा बढी व्यक्तिलाई सो अवसरमा सम्मान गर्न लागिएको खनालले जानकारी दिनुभयो ।

अभियानमा जिल्ला कार्यसमितिले पार्टीका आम संरचनालाई परिचालन हुन अपिल गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षित अभियानमा तीनवटै क्षेत्रिय कार्यसमितिको आयोजनामा क्षेत्रअन्तर्गत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेसभा कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापतिहरुको बीचमा अन्तरक्रिया, जिल्लाको आयोजनामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुबीच अन्तरक्रिया, सबै वडाका पार्टी सभापति, निर्वाचित वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रजातान्त्रिक विचार समाजको आयोजनामा पेशाकर्मी र बुद्धिजीवीहरुबीच अन्तरक्रियासमेत सम्पन्न गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियानका क्रममा जिल्लाका सात पालिकामा रहेका ९८ वटा वडामा दुई जनाका दरले प्रतिनिधि खटाई वडाको वस्तुस्थितिबारे जानकारी अध्यावधिक गर्ने कार्यसमेत प्रारम्भ भएको खनालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?