वीपी साहित्य सम्मान गौतम र सेनानी सम्मान कार्कीलाई प्रदान

Read Time = 5 mins

काठमाडौं । जननायक वीपी कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा कृष्ण गौतम र जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कार शान्ति कार्कीलाई प्रदान गरिएको छ ।

जननायक वीपी कोइराला स्मृति ट्रष्टले वीपीको १०९औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले उक्त पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

जननायक वीपी कोइराला साहित्य सम्मान तथा पुरस्कारको राशि रु एक लाख एक हजार र जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान तथा पुरस्कारको राशि रु ५१ हजार नगद र प्रशंसापत्र रहेको छ ।

नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका वरिष्ठ साहित्यकार गौतम र विसं २००७ देखि कांग्रेसमा सक्रिय रहेर प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएकी वीरगञ्जकी ९२ वर्षीय कार्कीलाई उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।

गत वर्षको जननायक वीपी कोइराला प्रजातन्त्र सेनानी सम्मान भक्तपुरका तिलक कायस्थलाई प्रदान गरिएको छ । निरन्तर १६ वर्ष भक्तपुर कांग्रेसको सभापति बनेर काम गर्नुभएका कायस्थ विसं २००७ देखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । कायस्थले ‘झुक्न नसक्ने राजनेता वीपी कोइराला’ नामक पुस्तकसमेत प्रकाशन गर्नुभएको छ ।

सम्मानित डा गौतमले वीपी कोइराला राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय नेतासमेत भएको बताउनुभयो । सम्मानित व्यक्तित्व कार्कीले वीपी र किसुनजीको आदर्श र प्रेरणाबाट आफू राजनीतिमा अगाडि बढेको स्मरण गर्नुभयो । कार्यक्रममा डा गोविन्दराज भट्टराईद्वारा लिखित ‘वीपी साहित्यको अभिलेख’, डा साधना प्रतिक्षाद्वारा लिखित ‘वीपी कोइरालाको उपन्यासमा नारीवाद’ र लीला रानाद्वारा लिखित ‘वामरी फूल’ र ‘ए पाहुनी’ कृतिको विमोचन गरिएको थियो ।

‘वीपी साहित्यको अभिलेख’ पुस्तकबारे बोल्दै लेखक डा भट्टराईले वीपीका १६ कृतिको, जेल बस्दा लेखेको डायरी र जर्नललाई अध्ययन गरेर उक्त पुस्तक तयार पारेको बताउनुभयो । वीपीबारे नबुझेको र नबुझाएको कुरालाई उक्त कृतिमा समावेश गरिएको उहाँको भनाइ छ । ‘वीपी कोइरालाको उपन्यासमा नारीवाद’ पुस्तकबारे लेखक डा प्रतिक्षाले वीपीको कृतिमा ओझेलमा परेको नारीवादी चिन्तनलाई पुस्तकमार्फत बाहिर ल्याएको बताउनुभयो ।

रानाद्वारा लिखित ‘वामरी फूल’ र ‘ए पाहुनी’ कृतिकाबारेमा राष्ट्रिय गानका रचयीतासमेत रहनुभएका प्रदीपकुमार राई ‘ब्याकुल माइला’ले मगर भाषा र नेपाली भाषामा लेखिएका उक्त कृतिले समाजवादको वर्तमान विषयवस्तुलाई उजागर गरेको बताउनुभयो । ट्रस्टका सम्मानित सदस्य पुरुषोत्तम बस्नेत र प्रा डा ज्ञानु पाण्डेले वीपीको साहित्य र राजनीतिक क्षेत्रलाई अगाडि बढाउनका लागि ट्रस्टले काम गर्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?