सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी

Read Time = 3 mins

मोगादिसु । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ । कोषले केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो ।

सोमालियाका लागि संयुक्त राष्ट्रसंघीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ । यसैबीचमा केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ ।’

यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ । यो संख्या यहाँको पाँच वर्षमुनिका बालबालिकाको संख्याको करिब आधाजति नै हो । यसरी पाँच वर्षमुनिका बालबालिकाको संख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था रहेको पनि उहाँले बताउनुभएको छ ।

यहाँ कुपोषण देखापरेका बालबालिकाको संख्यामध्ये करिब चार लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ । यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठूलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसंघीय बालकोषले जनाएको छ ।

गत जनवरीदेखि यतासम्मको तथ्यांकमा यहाँका ७३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसंघीय बालकोषले जनाएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?