रात्रिकालीन बजार सञ्चालनका लागि पहल

Read Time = 4 mins

चन्द्रकान्त खनाल/हिटा
रूपन्देही । रात्रिकालीन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रूपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डको मस्यौदामाथि बुटवलका व्यावसायिक संघ संस्थाहरूले छलफल गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजनामा यस क्षेत्रका व्यावसायिक संघसंस्थाले सञ्चालन मोडलबारे छलफल गरेका हुन् । जिल्ला सुरक्षा समितिले रात्रिकालीन बजार सञ्चालनका लागि मापदण्डको मस्यौदा बनाएर व्यावसायिक संघ संस्थालाई छलफल गरी सुझाव दिन आग्रह गरेको थियो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना महामारीसँगै ओरालो लागेको व्यापार व्यवसाय मुलुकमा उत्पन्न भएको आर्थिक मन्दीले झनै धरासायी भएकाले व्यवसायी टिकाउन र बजार चलायमान बनाउने विकल्पअन्तर्गत रात्रिकालीन बजारको अवधारणा ल्याइएको बताउनुभयो ।

रात्रिकालीन बजार पहल पैरवी समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रतीक पोखरेलले रात्रिकालीन व्यवसाय सञ्चालन गरिएमा आन्तरिक तथा बाहृय पर्यटकलाई भित्र्याउन सकिने र बजार पनि चलायमान हुने बताउनुभयो । बुटवल उद्योग वाणिज्य संघले बुटवलको अमरपथ र कालिका पथमा रात्रिकालीन बजार सञ्चालन गर्न प्रस्ताव गरेको छ ।

कार्यक्रममा व्यावसायिक संघ संस्थाका प्रतिनिधिहरूले रात्रिकालीन बजारको अवधारणा राम्रो भएको भन्दै शान्तिसुरक्षाका विषयमा व्यवसायी पनि संवेदनशील हुनुपर्ने बताएका छन् । बुटवल उपमहानगरपालिका-९ का अध्यक्ष प्रदिप श्रेष्ठ र वडा ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले रात्रिकालीन व्यवसाय रातीको समयमा सञ्चालन हुने भएकाले शान्तिसुरक्षाको विषयमा प्रहरी प्रशासनमात्रै नभएर स्वयं व्यवसायी पनि संवेदनशील हुनुपर्ने बताउनुभयो ।

होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले उद्योग वाणिज्य संघको पहलको स्वागत गर्दै शान्तिसुरक्षाको दृष्टिकोणले पनि होटल व्यवसायीले पहिले आफ्ना व्यवसायलाई व्यवस्थित गर्ने र सुरक्षा समितिले बनाएको मापदण्डको अक्षरशः पालना गर्नुपर्ने बताउनुभयो । संघका महासचिव विमलराज भट्टराईले कोरोनापछि व्यापार व्यवसाय घट्दो क्रममा रहेकाले व्यापार व्यवसाय बचाउन पनि घरधनीहरूलाई घरभाडा घटाउन आग्रह गरिएको बताउनुभयो ।

कार्यक्रममा नाटा लुम्बिनी प्रदेशसहित यस क्षेत्रका व्यावसायिक संघसंस्था, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघ, उद्योग व्यापार संघलगायतका प्रतिनिधिको सहभागिता थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?