नेपाल पूर्वाधार सम्मेलन, विकासका लागि कनेक्टिभिटीमा जोड

Read Time = 9 mins

काठमाडौं । विकासका लागि पूर्वाधार भन्ने नाराका साथ बिहीबार काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन आयोजना भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ(सिएनआई)द्वारा संयुक्तरूपमा आयोजित चौथो पूर्वाधार सम्मेलनका वक्ताहरूले तत्काल मुलुकको ऊर्जा, कृषि, पर्यटन उत्पादन निर्यातमा जोड दिनुपर्ने बताएका छन् ।

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कनेक्टिभिटीबिना विकासले गति लिन सहज नरहेको भन्दै कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकास लागि कनेक्टिभिटी अति आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हवाई, जल, स्थल, रेल सञ्जालको आवश्यकता छ । एउटामात्र मुलुकको विकासले विश्व आर्थिकरूपमा मजबुत हुन सक्दैन । रिजनल कनेक्टिभिटी अघि बढाउन आवश्यक छ । रिजनलसँगै आन्तरिक कनेक्टिभिटीको पनि उत्तिकै आवश्यक छ ।’

हाल ४० मुलुकसँग दुईतर्फी हवाई उडान सम्झौता गरेको सरकारले अमेरिका र रुसमा उडान गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । एउटामात्र हवाई बिन्दु रहेका कारण महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु सञ्चालनमा ल्याउन भारतसँग छलफल भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ । पछिल्लो समय दक्षिण एशिया क्षेत्रमा रहेका अधिकांश मुलुकमा पूर्वाधार विस्तारका लागि लगानी वृद्धि हुँदै आएको बोर्ड अफ डाइरेक्टर्स पार्टनरसिप फर ट्रान्स्प्यारेन्सीका प्रतिनिधि रजत नागले बताउनुभयो । रिजनल कनेक्टिभिटीका लागि नेपालसँग जोडिएका विभिन्न मुलुकको सीमा क्षेत्र लचिलो हुन आवश्यक रहेको उहाँको भनाइ छ । रजत नागले भन्नुभयो, ‘क्षेत्रीय व्यापारमा ठूलो सम्भावना रहेको छ । पूर्वाधारतर्फ यतिखेर मल्टीमोडल यातायात अभाव छ । अहिलेको मुख्य आवश्यक भनेको सडक र जलमार्गलाई मजबुत बनाउनु हो । सडकमार्गबाटै ७० प्रतिशत सामान ढुवानी हुँदै आएको छ । अधिकांश ट्रकले प्रतिघण्टा ३० किलोमिटर दूरी पार गर्दै आएको हुन्छ ।’

भारतीय सीमा क्षेत्रमा दैनिक सात सय ५० ट्रक र बंगलादेश सीमामा दैनिक तीन सय ५० मालवाहक ट्रकको निरीक्षण हुँदै आएको पनि उहाँले जानकारी गराउनुभयो । हाल सडकमार्ग, ऊर्जा र प्रविधि विकासमा सहयोग गर्दै आएको विश्व बैंकले नेपालका लागि रिजनल कनेक्टिभिटी अति आवश्यक रहेको निर्देशक सेसील फ्रम्यानले बताउनुभयो । नेपालसँग स्थलमार्गबाट जोडिएका विभिन्न मुलुकमा सहजै मालवाहक गाडी आवागमनको व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ ।

फ्रम्यानले भन्नुभयो, ‘क्रस बोर्डर ट्रेडका लागि यहाँ ठूलो सम्भावना रहेको छ । यसका लागि नेपाल र भारतबीच आउजाउ गर्ने मालवाहक गाडीलाई सहजताको व्यवस्थापन गरिदिनुपर्नेछ । हामीले यही कुरा मध्यनजर गर्दै बोर्डर एण्ड बोर्डर इन्फ्रास्ट्रक्चर, उड्डयन, जलमार्ग, डिजिटलाइजेसन, क्लाइमेट चेन्जलगायतमा वित्तीय सहयोग गर्दै आएका छौं ।’

नेपाल-बंगलादेशतर्फ आवतजावत सहजताका लागि १.२ अमेरिकी डलर खर्च गर्ने योजना बनाएको जानकारी दिँदै उहाँले विश्वबजारमा माग आइरहेको ऊर्जा विस्तारका लागि बैंकले सन् २०१५ देखि सन् २०३० सम्मका लागि दुई सय २६ विलियन डलर खर्च वित्तीय सहायता गरेकाले क्रस बोर्डर विस्तारका लागि महŒवपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

वरिष्ठ अर्थशास्त्री थियम ही एनजीले हाल ऊर्जा, यातायात, उड्डयन क्षेत्रमा वित्तीय सहयोग गर्दै आएको एशियाली विकास बैंकले नेपाल बौद्ध धर्मावलम्बीको केन्द्रबिन्दु भएका कारण पर्यटन क्षेत्रमा अब्बल सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्रीय विकासका लागि हामी आफ्नातर्फबाट लागिपरिरहेका छौं । हामीले नेपालमा ऊर्जा, यातायातमा वित्तीय सहायता दिँदै आएका छौं । रिजनल कनेक्टिभिटीसँगै व्यापार व्यवसायका लागि नेपालमा ठूलो सम्भावना रहेको छ, किनभने नेपाल ऊर्जा र पर्यटन उत्पादनको मुख्य गन्तव्य हो ।’

नेपाल पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनी लाहेले मुलुकको पर्यटन क्षेत्र पुनरुत्थान र विस्तारका लागि क्षेत्रीय सञ्जालको भूमिका महŒवपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोभिडयता विस्तारै पुरानो लयमा फर्किएको मुलुकको पर्यटन क्षेत्रका लागि एयर कनेक्टिभिटी, होटल, रेष्टुरेण्टको भूमिका महŒवपूर्ण रहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा सञ्चालनमा आउने तयारीमा छ । यसमार्फत् एयर कनेक्टिभिटी थप प्रभावकारी हुने देखिएको छ, बोर्डले पनि नयाँ गन्तव्य पहिचान अभियानलाई अघि बढाउँदै आएको छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणले आगामी चार वर्षमा मुलुकको ऊर्जा क्षमता १३ हजार मेगावाट पु¥याउने योजना रहेको बताउनुभयो । भारत र बंगलादेशसँग ट्रान्समिसन कनेक्टिभिटीको सम्भावना बलियो रहेको उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘ट्रान्समिसन कनेक्टिभिटीका लागि भारत र बंगलादेश नै प्रमुख बजार हुन् । हामीले गत महिनामात्र बंगलादेशका प्रतिनिधिसँग भेट्यौं । दुई पक्षीय सम्झौताबारे कुरा भइसकेको छ ।’ सिएनआईका ऊर्जा परिषद् सभापति ज्ञानेन्द्रलाल प्रधानले नेपालमा भएको ऊर्जा बिक्रीका लागि भारत र बंगलादेश नै प्रमुख बजार रहेको बताउनुभयो ।

पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहनरूपमा छलफल भएको आयोजकले जनाएको छ । सम्मेलनको टाइटल स्पोन्सरमा सगरमाथा सिमेन्ट र जेसिबी, प्लाटिनम स्पोन्सरमा नेपाल इन्भेष्टमेन्ट बैंक, गोल्ड स्पोन्सरमा नेपाल दूरसञ्चार प्राधिकरण र भूमि रहेका थिए । त्यस्तै, सिल्भर स्पोन्सरमा स्ट्याण्डर्ड चार्टर्ड, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक रहेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?