पहिरोले सिंगो बस्ती नै जोखिममा

हिमालय टाइम्स
Read Time = 4 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङ नगरपालिका-११ रायडाँडा, तल्लो रामतोलामा पहिरो खस्दा दर्जन बढी घर जोखिममा परेका छन् भने सयौँ रोपनी जमिनमा लगाएको सुन्तला खेती तथा अन्य अन्नपात बग्न थालेका छन् । केही दिनदेखिको निरन्तर वर्षाको कारण जमिन बग्न थालेपछि स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार विस्थापित भएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । पहिरोले सडक र जंगलसमेत बगेपछि गाउँभरि त्रास फैलिएको उहाँको भनाइ छ । पहिरोले पाइप बगाउन थालेपछि ५० घरमा खानेपानी अभाव भएको र विभिन्न स्थानमा पोल ढलेकाले आसपासका अन्य घरमासमेत बिजुली अवरुद्ध भएको गौतमले बताउनुभयो ।

केही घर परिवार सुरक्षित ठाउँको खोजीमा रहेको स्थानीय विष्णु पौडेलले जानकारी दिनुभयो । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुबारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ । ‘अहिलेको अवस्था हेर्दा यहाँको बस्ती नै जोखिम भयो, अब धेरै घरहरू विस्थापित हुने भए,’ पौडेलले भन्नुभयो, ‘कतै रोकथाम गर्ने अवस्था नै छैन, सबै जमिन चर्केको छ, यहाँका बस्तीहरू सबै त्रसित बनेका छन् ।’
पहिरो खस्न थालेपछि यहाँका ढालनाथ शर्मा, कुलराज शर्मा, वीरबहादुर केसी, भूमिश्वर शर्मा, मीनबहादुर केसी र दिलबहादुर केसीको घर भने स्थानीयले मंगलबार र बुधबार गरी खाली गराएका छन् ।

यस ठाउँबाट बगेको पहिरोले जैमिनी नगरपालिका पालिका-१ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ । केही स्थानमा क्षति भइसकेको स्थानीयले बताएका छन् । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका-१ मा पर्छ । यहाँ निरन्तर वर्षा भए माथिदेखि झरेको पहिरोले ठूलो क्षति पुर्‍याउन सक्ने स्थानीयले आँकलन गरेका छन् ।

केही दिनदेखि निरन्तर परेको वर्षात्ले थप पहिरो खसेको बागलुङ नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । पहिरोको आकार देख्दा जोखिम भएको स्थान मात्र नभई अन्य गाउँका स्थानीयसमेत त्रसित भएको इञ्जिनियर गिरीले बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यहाँ तत्काल कुनै पनि उपायले पहिरो रोक्न सकिने अवस्था छैन, निकै डरलाग्दो तरिकारले पहिरो जान थालेको छ, सिंगो पहाड खस्ने अवस्था देखिन्छ, यसले निकै ठूलो क्षति पुर्‍याउला जस्तो देखिन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?