मलाई सिध्याउन खोज्नेहरू जनयुद्धदेखि नै सक्रिय छन् : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताउनुभएको छ । शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान नेपालले काठमाडौंमा बिहीबार आयोजना गरेको २४औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (वैरागी) स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताउनुभएको हो । माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरू सक्रिय रहेको उहाँको दाबी छ । ‘जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता हो । बाँकी एजेण्डा पूरा गर्नका लागि म निरन्तर संघर्षमा छु ।’

अध्यक्ष प्रचण्डले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । अध्यक्ष दाहालभन्दा अगाडि मन्तव्य राख्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली कांग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गर्नुभएको थियो । त्यही टिप्पणीको जवाफ दिँदै उहाँले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले तत्कालीन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाका लागि गरिएको कामलाई गलत भन्न नहुने बताउनुभयो । उहाँले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन ? भन्ने प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ऋषिजीलाई म यति मात्रै भन्न चाहन्छु- ऋषिजी, तपाईं जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाईं त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाईं नै होइन र ? अनि अहिले कांग्रेससँग मिल्यो भनेर तपाईंले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाका लागि गरिएको कामलाई ।’

नेपाली जनताको साथ र सहयोग कारण माओवादी पहिलोपटक सरकारमा पुग्दा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने माइन्युटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसेकाले उक्त लडाइँ गठबन्धनबीच अहिले पनि जारी रहेको उहाँको भनाइ छ ।

‘निर्वाचनपछि सबै जीवन देशको समृद्धि र विकासमा लगाउँछु’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गतेको चुनावपछि आफ्नो सबै जीवन देश विकास र आर्थिक समृद्धिमा लगाउने बताउनुभएको छ । काठमाडौंमा बिहीबारदेखि सुरु भौतिक पूर्वाधार सम्मेलनलाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘मेरो सबै जीवन आर्थिक समृद्धि र विकासका लागि लगाउँछु भनेर घोषणा गरिसकेको छु । मंसिर ४ को चुनावपछि म त्यस दिशामा अघि बढ्नेछु’, उहाँले भन्नुभयो, ‘निर्वाचनपछि देशलाई आर्थिक विकासलाई गति दिन कानुन र नियम र ऐन सुधारमा जोड दिन्छु ।’

उहाँले अब देशमा राजनीतिक आन्दोलन र क्रान्ति पूरा भएकाले आर्थिक समृद्धितिर नै लाग्नुपर्नेमा पनि जोड दिनुभयो । निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने नै आफ्नो नीति रहेको बताउँदै उहाँले आफूहरूलाई शंका नगर्न पनि आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?