सत्ता गठबन्धनमा सिट बाँडफाँट गलपासो !

कार्यदलले बुझायो अपूर्ण प्रतिवेदन, सिट संख्या टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको छ । प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको छ । कार्यदलका सदस्य तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सिट संख्या शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाएको जानकारी दिँदै भन्नुभयो, ‘मोटामोटी रूपमा हामीले सबै क्षेत्रमा सहमति कायम गरेका छौँ । नमिलेका केही ठाउँमा द्विपक्षीय दाबी छ, त्रिपक्षीय दाबी भने कम छ । अब बाँकी रहेका कुराहरू शीर्ष नेताहरूले मिलाउनु हुनेछ ।’

सिट बाँडफाँट टुंगो लगाउन कार्यदलले बिहीबार बिहानैदेखि प्रयास सुरु गरे पनि कार्यदलमा रहेका सदस्यहरू आ-आफ्नो पार्टीगत अडानबाट पछि नहटेपछि शीर्ष नेतालाई पूर्ण प्रतिवेदन बुझाउन कार्यदल असफल भएको हो । बुधबार बसेको कार्यदलको बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार कार्यदलले सहमति जुटाएर मापदण्डसहितको सुझाव प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने दाबी गर्नुभएको थियो । तर, बिहीबार बसेको कार्यदलको बैठकमा पनि मापदण्ड र सिट बाँडफाँटमा सहमति जुट्न सकेन ।

गठबन्धनमा सबैभन्दा बढी समस्या प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा देखिएका छन् । प्रदेश–१ मा अधिकांश सिटमा कांग्रेसले दाबी गरेको छ भने मधेश प्रदेशमा जनता समाजवादीले सबैभन्दा बढी सिटमा अडान राखेको छ । बागमती प्रदेशमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच कुरा मिल्न बाँकी छ । लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी केन्द्रको बीचमा बढी विवाद देखिएको छ ।

कांग्रेसले दाबी गरेका मध्ये ६० सिटमा अरू कसैको दाबी नपरेकाले ती सिटमा कांग्रेसले उम्मेदवारी पाउने पक्का भएको छ । त्यस्तै, माओवादीले दाबी गरेका मध्ये १२ सिटमा गठबन्धनका अन्य दलको दाबी छैन । एकीकृत समाजवादीका पनि अध्यक्ष माधवकुमार नेपालले चुनाव लड्ने रौतहट-१, झलनाथ खनालको इलाम-१ र सचिव रामकुमारी झाँक्रीको गुल्मी-२ सहित आठ सिटमा अरूको दाबी छैन । जनता समाजवादी पार्टीका पनि आठ निर्वाचन क्षेत्रमा एकल दाबी छ । कार्यदलका एक सदस्यका अनुसार शीर्ष नेताहरूले ४० देखि ५० निर्वाचन क्षेत्रको समस्या हल गर्नुपर्ने देखिन्छ ।

गठबन्धनमा मोरङ क्षेत्र नम्बर ४, सिन्धुपाल्चोक क्षेत्र नम्बर १, डोटी, लगायतका क्षेत्रको सिट बाँडफाँट जटिल छ । मधेशमा कांग्रेस र जसपाबीच मुख्य रस्साकस्सी छ । मधेश प्रदेशमा प्रतिनिधिसभाका ३२ सिट छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारको प्राप्त मतका आधारमा मधेशका १८ क्षेत्रमा कांग्रेस एक्लै अघि छ । त्यसैका आधारमा कांग्रेसले २० भन्दा बढी निर्वाचन क्षेत्रमा दाबी गरेको छ । वडाध्यक्षको मतका आधारमा मधेशमा एमाले ६, जसपा पाँच, माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी एक÷एक सिटमा मात्र अघि छन् । तर, जसपाले मधेश प्रदेशलाई आफ्नो पार्टीको मुख्य आधार क्षेत्र मानेर दाबी प्रस्तुत गरिरहेको छ ।

एक महिनाअघि गठन भएको कार्यदलले सुरुमा प्रतिशतमा भागबण्डा गर्न खोजे पनि समझदारी बन्न नसकेपछि एक÷एक सिटमा छलफल गरेको थियो । समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने तालिका छ । प्रत्यक्ष सिटमा बाँडफाँट नभएसम्म समानुपातिकमा कसको नाम पठाउने वा नपठाउने भन्ने अन्योल हुने भएकाले अहिले नै सबै विषय टुंगो लगाउने गठबन्धनको प्रयास छ । निर्वाचन आयोगले प्रत्यक्ष प्रणालीतर्फको निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । पछिल्लो एक महिनायता शीर्ष नेतासहित कार्यदलको बैठक निरन्तर चलिरहेको छ ।

सिट बाँडफाँट चाँडै टुंगो लाग्छ : सभापति देउवा
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच चाँडै सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने बताउनुभएको छ । बिहीबार बिहान बागमती प्रदेशका कांग्रेसका जिल्ला सभापतिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले गठबन्धनमा सिटको बाँडफाँट गर्दा सबै दललाई न्याय हुनेमा आश्वस्त हुन आग्रहसमेत गर्नुभयो ।

१०० सिट नपाए कांग्रेसमा विद्रोह हुन्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाएमा विद्रोह हुनसक्ने चेतावनी दिनुभएको छ । बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाएमा विद्रोह हुनसक्ने चेतावनी दिँदै भन्नुभयो, ‘बहुमत बनाउन त कम्तीमा पनि १०० सिट त लिनुपर्‍यो । नत्र बहुमत कहाँबाट बन्छ ? १६५ सिटमा हामी उठ्यौँ भने आकांक्षी नपुग्ने अवस्था छ ।’

तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले भन्नुभयो, ‘विद्रोह हुनसक्छ नेपाली कांग्रेसभित्र । यो कुरालाई हामीहरूले पटकपटक केन्द्रीय नेतृत्वको सामुन्ने राखेका छौँ । आज र भोलिभित्र उहाँहरूले केही न केही निर्णय गर्नुपर्छ ।’

जसपा गठबन्धनबाट बाहिरिने मनस्थितिमा
सत्तारूढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका ३२ मध्ये कम्तीमा आधा सिट नपाए गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सिट र पहाड तथा सहरमा समेत गरी २५ सिटको माग गर्नुभएको छ । अध्यक्ष यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सिट बाँडफाँट नभए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको थियो । जसपाले मधेशमा एक्लै लड्दा पनि १२ सिट जित्ने भन्दै गठबन्धनमा त्योभन्दा तल झरेर सिट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरू एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा रहेको अध्यक्ष यादवको भनाइ छ । स्थानीय चुनावको आँकडासमेत पेश गर्दै मधेशमा आफ्नो पार्टी कांग्रेस एमालेको हाराहारीमा रहेको यादवको दाबी छ ।

सबै ठाउँमा रूख चिन्हमा भोट हाल्न पाउनुपर्ने जिल्ला सभापतिहरूको माग
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आगामी निर्वाचनमा सबै मतदाताले रूखमा भोट हाल्न पाउनुपर्ने माग गरेका छन् । बिहीबार बिहान जिल्ला सभापतिहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सबै ठाउँका मतदाताले प्रत्यक्षतर्फ नै रूख चुनाव चिन्हमा मतदान गर्न पाउनुपर्ने माग गरेका हुन् । कांग्रेस जिल्ला सभापतिहरूले संघ नपाए सम्बन्धित संघीय क्षेत्रका दुवै प्रदेशसभा क्षेत्र कांग्रेसले राखेर सिटको बाँडफाँट हुनुपर्ने माग गरेका हुन् । धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले प्रदेशका १३ वटै जिल्ला सभापतिहरूको तर्फबाट आफूले सभापति देउवालाई ज्ञापनपत्र बुझाएको जानकारी दिँदै भन्नुभयो, ‘मतदाताले मतपत्रमा प्रत्यक्षतर्फ नै रूख चुनाव चिन्ह रोज्न पाउनुपर्छ । रूख चुनाव चिन्हबिनाको मतपत्र हुनु पार्टीका लागि राम्रो होइन । हामीले सबै क्षेत्रका जनताले कांग्रेसलाई रोज्न पाउनुपर्ने माग सभापतिसमक्ष राखेका छौँ ।’ पार्टी सभापति देउवासँगको भेटमा कुनै पनि क्षेत्रमा कांग्रेसका उम्मेदवार नहुने अवस्था आउन नदिन आग्रह गरेको दोलखा जिल्लाका सभापति बर्मा लामाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?