बुर्तिबाङ बजार व्यवस्थापनमा चुनौती

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङको बुर्तिबाङ बजार आफैंमा साँघुरो छ । त्यसमाथि पनि व्यवसायी र गाडी चालकले जथाभावीरूपमा सामान र गाडी राख्दा बजार व्यवस्थापनमा चुनौती थपिएको छ । बजार क्षेत्रको फुटपाथ सबै व्यापारीका सामानले भरिएका छन् । बजार क्षेत्रभित्र रहेका सडक पनि निकै साँघुरो हुँदा यात्रुलाई हिँड्नसमेत समस्या परेको छ ।

पश्चिम बागलुङकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङ बजारमा पार्किङ सुविधा पनि छैन । पार्किङ सुविधा नहुँदा गाडी चालकहरूले जथाभावीरूपमा पार्किङ गर्दै आएका छन् । बुर्तिबाङ दश नमुना शहरमध्येको एक हो । तर, अपेक्षितरूपमा हुनुपर्ने विकास भने भएको छैन । नमुना शहर हुनका लागि पर्याप्त खेलमैदान, पार्किङ सुविधा, खानेपानी, बसपार्कलगायतका पूर्वाधार हुनुपर्छ । यीमध्ये बुर्तिबाङमा धेरै पूर्वाधार पर्याप्त छैनन् । बुर्तिबाङ बजारको बीचमा बसपार्क भए पनि धेरै सवारीसाधनहरू पार्किङ गर्न सकिँदैन । किनकि यो निकै सानो छ ।

बजार क्षेत्र निकै सानो क्षेत्रमा रहेको हुँदा नयाँ शहर बन्न आवश्यक पर्ने मापदण्ड पूरा हुन सकेको छैन । नयाँ शहर आयोजनाले केही वर्षदेखि बुर्तिबाङमै कार्यालय स्थापना गरेर पूर्वाधार निर्माण सुरु गरे पनि अहिलेसम्म अपेक्षित विकास भने भएको छैन । बजार व्यवस्थापनमा चुनौती बन्दै गएपछि सरोकारवाला निकायले चासो देखाएका छन् ।

ढोरपाटन नगरपालिका मेयर, उपमेयरसहित जनप्रतिनिधि, प्रहरी, प्रशासनलगायत टोलीले बजार क्षेत्रको अनुगमन गरी केही व्यवस्थित गर्ने प्रयास थालेको छ । बजारमा अव्यवस्थितरूपमा सवारी साधन पार्किङ गर्ने व्यवसायीले सामान सडकसम्म राख्ने गर्दा पैदल यात्रुलाई समस्या भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।

उहाँले बजारमा अस्तव्यस्तरूपमा राखिएका सामान र पार्किङ गरिएका गाडीहरूलाई व्यवस्थित गर्न थालेको बताउनुभयो । अव्यवस्थित पार्किङ र सडकपेटीमा राखिएका सामानले आमनागरिकलाई समास्या पर्नुका साथै बजारको सौन्दर्य नै कुरूप बनेको भन्दै त्यसको व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको उपप्रमुख कायत बताउनुहुन्छ । ‘बुर्तिबाङ बजार नै सानो छ, त्यसमा गाडीहरूको चाप उस्तै छ, बढ्दो जनसंख्या र व्यवसायीहरूले झन् सडकमै सामान राख्नाले पैदल यात्रुलाई समस्या हुने गरेको छ, दुर्घटनाको जोखिम बढेको छ, सडक पनि उस्तै साँघुरो हुँदा एउटा गाडी सडकमा रोकियो भने घण्टौंसम्म पछाडिका गाडीहरू रोकिनुपर्ने अवस्था छ,’ उपमेयर कायतले भन्नुभयो, ‘यो समस्याको समाधान गर्न हामीले प्रयत्न गरेका छौं, साँघुरो ठाउँ हुँदा समस्या भएको हो, विस्तारै यसको समाधान गर्ने छौं ।’

निसी, भूजी र तमानको संगमस्थलका रूपमा रहेको बुर्तिबाङ बजार पश्चिम बागलुङको मात्रै नभएर गुल्मी, रोल्पा र रुकुमको समेत किनमेल गर्ने बजार बनेको छ । यहाँ दैनिक हजारौं किनमेल गर्ने मानिसहरूको भिड लाग्ने गर्छ । रोल्पा र रुकुमका नागरिकहरू अहिले पोखरा-काठमाडौं आवतजावत मध्यपहाडी लोकमार्ग हुँदै गर्ने भएकाले पनि पछिल्लो समय बुर्तिबाङमा भिड हुने गरेको छ ।

बुर्तिबाङबाट दैनिक दर्जनौं यातायातका साधानहरू बाहिरिने र भित्रिने गर्छन् । जसका कारण मानिसहरूको चाप बढ्ने गरेको छ । बसपार्क र यहाँका साँघुरा सडकको सहीरूपमा व्यवस्थापन गर्न नसक्दा नागरिकले दुःख पाउनुपरेको गुनासो गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?