बीपी कोइरालाको स्मृति सम्मानमा

हिमालय टाइम्स
Read Time = 9 mins

नेपालको वैचारिक राजनीतिक इतिहासको शिलान्यास गर्नु हुने बीपी कोइरालाको जन्मदिनमा सम्मान उहाँको स्मरण गर्न कुनै अवस्थामा कसैले पनि कन्जुस्याइँ गरिरहनु पर्दैन । राजनीतिक रूपमा बीपी कोइरालाभन्दा पहिले तत्कालीन बडामहाराज पृथ्वीनारायण शाहलाई स्मरण गर्नुपर्ने हुन्छ । राणाशासनको अन्त्यदायी नेतृत्वका कारणमात्रै बीपीको स्मरण गरियो भने अन्याय हुनेछ । त्यसमा त धेरैको योगदान रहेको छ तर बीपी कोइरालाले आधुनिक नेपालका लागि अनिवार्य वैचारिक भाष्य गर्नुभएको छ । उहाँले नेपालको सन्दर्भमा राष्ट्र र राष्ट्रियताको परिभाषा आधुनिक राजनीतिक सिद्धान्त अनुसार दिनुभयो । नेपालको आवश्यकतालाई सम्बोधन हुने गरी लोकतन्त्र र समाजवादको भाष्य गर्नुभयो । आजको लोकतन्त्रको मूलमा त्यही परिभाषा रहेको छ ।

बीपी कोइराला सत्ताका लागि मरिमेट्नु भएन । २००८ सालको एउटा अप्रत्यासित घटनामा आफू जिम्मेदार नभए पनि राजीनामा गरिदिनु भयो गृहमन्त्रीबाट । अनि लोकतन्त्रविरुद्ध सम्झौता गर्नुभन्दा उहाँले आठ वर्षको जेलजीवन र अर्को आठ वर्ष स्वनिर्वासन रोज्नुभयो । निर्वासनका क्रममा उहाँले नेपालका सामु रहेको यथार्थतालाई मिहीन रूपमा अनुभव गर्नुभयो । दक्षिण एसियाको राजनीति, महाशक्ति राष्ट्रहरूको रणनीति, नेपालको छिमेकी राष्ट्रहरू भारत र चीन आदि सबैको अध्ययन पश्चात् उहाँले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई आफ्नो विश्वासका रूपमा प्रस्तुत गर्नुभयो ।

यद्यपि बीपी कोइरालाभन्दा दशकअघि नै नेपाली कांग्रेसका नेता सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायले मेलमिलापको विषयलाई व्यावहारिकताका साथ उठाउनु भएको थियो । देशभित्रैबाट अहिंसात्मक आन्दोलनबाट, सत्याग्रहबाट नै परिवर्तन सम्भव हुने विचार कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिहरूले प्रस्तुत गर्नुभएको थयो । तर, बीपीले सशस्त्र आन्दोलनमार्फत परिवर्तन गर्न सकिने झिनो आशा र विश्वासका आधारमा गर्नुभएको आन्दोलन पूर्ण असफल सिद्ध भयो । यद्यपि त्यसले निर्दलीय निरंकुश सत्तालाई जोड्सँग धक्का दिएको मान्न सकिन्छ ।

सिक्किमको भारतमा विलय, इरानी राजा रेजापहल्वी शाहविरुद्ध विद्रोह, अफगानिस्तानमा सोभियत हस्तक्षेप आदिको सूक्ष्म विश्लेषण गरी नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा हेतु राजसंस्था र जनताका बीच समन्वय र मेल आवश्यक भएको निष्कर्ष तत्काल समयको राजनीतिका लागि महत्वपूर्ण पक्ष हो । बीपीको विश्वास थियो तत्कालीन राजासंस्थाले जनताको आवाजलाई स्वीकार गर्नेछ तर निर्दलीय पञ्चहरूको खेल, राजदरबारका स्वार्थी जमातको रणनीति, विदेशीहरूको स्वार्थ र स्वयम् राजाको समेत शक्तिमोहको समवेत चंगुलमा मेलमिलापको विषय गौण हुनपुग्यो । २०३६ मा जनमतसंग्रह गर्ने घोषणाले केही विश्वास नदिएको होइन तर निर्दलीय निरंकुशताका महारथीहरूले त्यो विश्वासलाई धराशायी बनाइ दिएपछि बीपीको प्रयास पनि सफल हुनसकेन ।

तैपनि बीपीको विचार कति शास्वत् थियो र छ भन्ने कुरा अहिले प्रमाणित भइरहेको छ । त्यसबेला बीपी कोइरालालाई फाँसी दिनुपर्छ भनेर नारा लगाउनेहरू र बीपीलाई सधँै वर्ग दुश्मन देख्ने उग्रवादी चिन्तन भएका कम्युनिष्टहरू समेतले अहिले आएर बीपीको योगदानको मूल्यांकन फरक ढंगले गर्न लागेका छन् । उनीहरू बीपी आफ्नो आदर्श भएको वा उहाँका विचारको सही उत्तराधिकारी भएको दाबी गरिरहेका छन् । नेपाली कांग्रेसका सदस्यहरू त यसै पनि बीपी विचारका पक्षमा बहस गरिरहेकै हुन्छन् ।

तर, बीपी कोइरालाको उत्तराधिकारी दाबी गर्दैमा, अनुशीलनको भाषण गर्दैमा वा विचारको शाब्दिक बहस गर्दैमा बीपीप्रति न्याय हुनेछैन । बीपीको विचार सिद्धान्तको पोको मात्रै थिएन । आचरण र व्यवहारको समुद्र नै त्यसभित्र भेटिनसक्छ । अहिलेको राजनीतिक परिवर्तनको प्राक्कल्पना बीपीले गर्नुभएको थिएन तर उहाँले जनताको राजा हुन नसके जनता पनि राजाको नहुने निश्चयी वाक्यले आजको परिवर्तन जहिले पनि हुनसक्ने गर्नुभएको थियो । कुनै पनि शासकका जनता स्थायी समर्थक वा शक्ति हुँदैनन् । जनताका विरुद्ध उभिनेहरूलाई जनताले भीरबाट लडाउने खतरा जहिले पनि हुन्छ । जो शासक आफूलाई मालिक र आमनागरिक वा उसका सहयोगी सहकर्मीहरूलाई कामदार जस्तो ठान्दछ त्यसको पतन निकट हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । बीपीले आफ्नो विश्वासमा हरेक समय जनतालाई केन्द्रमा राख्नुभयो । जनता केन्द्रमा राखेरमात्रै देशको रक्षा हुने उहाँको विश्वास थियो । देश भनेको ढुंगो माटो होइन जनता हुन् भन्ने उहाँको मान्यता कालजयी छ ।

नेपालका वर्तमान शासकहरू वा भविष्यका शासकहरू के जनतालाई केन्द्रमा राखेर राजनीति गर्नसक्छन् ? यो प्रश्न आज किन महत्वको भएको छ भने बीपीका अनुयायीको आवरणमा शासनमा पुगेकाहरू सत्तालाई केन्द्रमा राख्न लागेका छन् । उनीहरूको र उनीहरूका अनुगामीहरूको सोचमा जनता र सहकर्मीहरू कामदारमात्रै भएको लाग्छ । शासकहरू, नेतृत्वमा बस्नेहरू मालिक आमनागरिक सदस्यहरू नोकर जस्तो व्यवहारले बीपीको विचार सार्थक हुनसक्दैन । सुशासनको कल्पना त सपनामै सीमित हुनेछ, देशको विकास र उन्नति ठट्टा हुनेछ । आजको जस्तो राजनीतिक सोच र व्यवहारले देशमा न सामाजिक आर्थिक रूपान्तरण हुन्छ, न नेपालको राष्ट्रियताको रक्षा हुन्छ न त लोकतान्त्रिक संस्कृतिको प्रबद्र्धन नै हुनेछ । जुन कुरा बीपी कोइरालाका परिकल्पना थिए, विचार थिए ।

बीपीको १०९औं जन्मदिन मनाइरहँदा उहाँका विचारविरुद्ध गरेको घात, बीपीमाथि गरेको तत्कालीन राजकीय अन्याय र आमनागरिक तहलाई दिग्भ्रमित तुल्याउने प्रचारवाजीप्रति क्षमायाचना गर्नुपर्ने हुन्छ । विचार कसैको पेवा हुँदैन । राष्ट्रलाई हाँक्ने विचार दिने नेताहरूलाई सर्वपक्षीय सम्मान दिनु आवश्यक छ । बीपीको जन्मजयन्तीको यस अवसरमा बीपी जस्तो विचारक, चिन्तकलाई सबै पक्षले स्वीकार गर्नुपर्छ र मात्रै उहाप्रतिको सम्मान प्रकट भएको मानिनेछ । अन्यथा स्मृतिको कुनै औचित्य रहने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?