सन्दीप भन्छन् : म निर्दोष छु, छिट्टै नेपाल फर्कँदैछु

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको र केही दिनमा नेपाल फर्कन लागेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्दीपले शुक्रबार एक पोष्ट गर्दै आफू निर्दोष रहेको र हाल खेलिरहेको क्यारेवियन प्रिमियर लिग (सिपिएल)बाट बिदा भएर नेपाल आउने बताएका हुन् । ‘म निर्दोष छु र मलाई नेपालको नेपालको कानुनमा पूर्णतः विश्वास छ । मैले सिपिएल छाड्ने निर्णय गरेको छु र म केही दिनमा आफ्नो देश फर्कनेछु,’ उनले लेखेका छन्, ‘म आधारहिन आरोपको सामना गर्न तयार छु । निर्दोषले न्याय पाउने छन् । यसमा संलग्न सबैको राम्ररी अनुसन्धान हुनेछ र कानुन सबैका लागि बराबर हुने विश्वास छ ।’
यसअघि सन्दीपले बिहीबार क्यानका कार्यवहाक सचिव प्रशान्त मल्लसँग कुराकानी गर्दै कानुनी लडाइँका लागि साथ दिन क्यानसँग आग्रह गरेका थिए । अभिभावक संस्थाका रूपमा वकिलको व्यवस्था आफूहरूले गरिदिने मल्लले जनाउनुभएको थियो ।

तर बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । प्रहरी वृत्त गौशालामा मंगलबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको थियो । सन्दीपमाथि एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । किशोरीले ०७९ भदौ ५ गते राति जबर्जस्ती करणी गरेको अरोप उल्लेख गर्दै मंगलबार प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार पीडितको स्वास्थ्य परीक्षण सकेर थप अनुसन्धान अघि बढाइएको हो ।

सन्दीप गत ६ भदौमा टी-२० सिरिज खेल्नका लागि केन्या गएका थिए । त्यहीबाट उनी वेष्ट इण्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए । पीडितले दिएको जाहेरीमा केन्या जानु एक दिनअघि उक्त घटना भएको हो । प्रहरीका अनुसार ती किशोरी लामिछानेकी समर्थक हुन् । उनीहरूबीच सामाजिक सञ्जाल स्न्यापच्याट र हृवाट्स एपमार्फत कुराकानी हुन्थ्यो ।

सामाजिक सञ्जालमार्फत नै उनीहरूले भेट्ने प्रस्ताव गरेका थिए । किशोरीलाई लिन लामिछाने आफ्नो कार लिएर किशोरीको होस्टल पुगेका थिए । होस्टलबाट उनीहरू नगरकोट गएका थिए । नगरकोटबाट फर्कँदा रातिको झण्डै ११ बजिसकेको थियो । त्यतिञ्जेलसम्म होस्टल बन्द भइसकेकाले सन्दीपले होटलमा बस्ने प्रस्ताव गरे ।

त्यसपछि दुवैजना पिंगलास्थानस्थित होटलमा पुगेका थिए । युवतीले जाहेरीमा राति होटेलमा सन्दीपले उनीमाथि दुई पटक बलात्कार गरेको उल्लेख गरेकी छन् । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टिभी फुटेज पनि संकलन गरी अनुसन्धान थालिसकेको छ । त्यसबाहेक होटलका कर्मचारीहरूसँग पनि सोधपुछ जारी छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै लामिछानेलाई ४ पुस २०७८ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान घोषणा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?