तीन ठूला सहकारी मर्ज हुँदै

Read Time = 3 mins

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठूला सहकारी मर्ज हुने भएका छन् । खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र जावलाखेलस्थित कल्याण उपकार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एकीकरण सम्झौता भएको हो ।

एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुराँस सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने सम्झौतापत्रमा उल्लेख छ । एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरीवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीनवटै सहकारीले साधारणसभा छिट्टै सकेर एकीकृत सभा गरी एकीकरणलाई अन्तिम रूप दिने सहमति भएको छ ।

एकीकरणपछि सेयर सदस्य संख्या ११ हजार चार सय ५९ पुग्नेछ भने सेयर पुँजी ३१ करोड सात लाख ७२ हजार दुई सय ४० रुपैयाँ कायम हुनेछ । संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार चार सय ६५ रुपैयाँ, अन्य कोषमा तीन करोड ८२ लाख ८१ हजार पाँच सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार तीन सय ७४ रुपैयाँ हुने बताइएको छ ।

त्यस्तै, कुल बचत रकम आठ अर्ब ३३ करोड ७५ लाख ९६ हजार चार सय पाँच रुपैयाँ र ऋण लगानी सात अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने प्रस्तावित संस्थाका अध्यक्ष राईले जानकारी दिनुभयो । एकीकरण सम्झौता कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेकप्रसाद चौलागार्इं, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष खेम सुवेदी, उपाध्यक्ष सीता ढकाललगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?