रिटर्नी युवा कृषि उद्यमीलाई एक-एक लाख नगद पुरस्कार

Read Time = 5 mins

काठमाडौं । इजरायलबाट नेपालमा फर्किएर कृषि उद्यम गर्ने युवा किसानलाई अवार्ड प्रदान गरिएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था र नेपालस्थित इजरायली राजदूतावासद्वारा काठमाडौंंमा संयुक्तरूपमा आयोजित कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘युथ एग्री अवार्ड २०७९’ प्रदान गर्नुभएको हो । प्रत्येक प्रदेशबाट उत्कृष्ट एक-एकजनालाई एक लाख नगदसहित अवार्ड प्रदान गरिएको छ ।

लर्न एण्ड अर्न कार्यक्रममार्फत् इजरायल कृषि क्षेत्रमा काम गरी स्वदेश फर्केर कृषि उद्यम गरिरहेका सात युवा उद्यमीमा प्रदेश १ बाट झापामा केराखेती गर्दै आउनुभएका चन्द्र बस्नेत, मधेश प्रदेशबाट बारामा तरकारी खेती गर्दै आउनुभएका सन्तोषकुमार यादव, बागमती प्रदेशबाट धादिङमा तरकारी खेती गर्दै आउनुभएका युद्धप्रसाद न्यौपाने, गण्डकीबाट तनहुँमा बाख्रापालन गर्दै आउनुभएका शिवकुमार आले, लुम्बिनीबाट रूपन्देहीमा माछापालन गर्दै आउनुभएकी सिर्जना थारु, कर्णाली प्रदेशबाट सुर्खेतको लाटीकोइलीमा गाईपालन गर्दै आउनुभएका दीपेन्द्र कार्की र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरका विमल भण्डारी हुनुहुन्छ । पुरस्कारका लागि सयजना युवा नमुना कषि उद्यमीबाट २१ उद्यमी छनोट भएका थिए ।

आयोजकका अनुसार इजरायलका विभिन्न कृषि कलेजमा तालिम लिएर फर्केका तीन हजार एक सय ६१ जना युवाका लागि आवेदन खुला गरिएकोमा एक सयभन्दा बढी युवाको सुरुवाती आवेदन प्राप्त भएकोमा प्रत्येक प्रदेशबाट उत्कृष्ट तीन छनोट गरिएको थियो ।
सो अवसरमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले नेपालको कृषि तथा पशुपालन क्षेत्रको रूपान्तरणका लागि इजरायली राजदूतावास र इजरायल सरकारलाई धन्यवाद दिनुभयो । नेपालको कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्व बढाउन इजरायल पुगेर फर्केका साना किसान युवाको योगदानलाई नेपाल सरकारले उच्च महत्व दिनुपर्ने उहाँको भनाइ छ ।

इजरायली राजदूत खनान गोदरले साना किसान विकास लघुवित्त वित्तीय संस्थासँगको सहकार्यमा नेपालका गाउँ तहका साना किसानलाई कृषि र पशुपालनमा व्यावसायिक बनाउने कार्यमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि र पशुपालन क्षेत्रलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले कृषि र पशुपालन क्षेत्रमा युवा सहभागिता बढाउन लर्न एण्ड अर्न कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।

साना किसान परिवारका सदस्यले कुनै पनि कृषि तथा पशुपालन व्यवसाय गर्न चाहेमा आफूहरू पुँजी तथा प्रविधि प्रदान गर्न तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो । इजरायली दूतावासका डिसिएम दाना फिसरले नेपालको कृषि र पशुपालन क्षेत्रमा युवा सहभागिता बढाउन लर्न एण्ड अर्न कार्यक्रममार्फत् आफूहरू पनि सहभागी हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले देशका ७६ जिल्लामा सञ्जाल विस्तार गरेको छ भने पाँच सय ४२ स्थानीय तहमा एक हजार तीन सय नौवटा साझेदारमार्फत् १० लाख ४७ हजार परिवारमा सेवा प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?