कांग्रेसको चुनाव लक्षित अभियान सम्पन्न

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित पहिलो चरणको ‘जनताको साथमा कांग्रेस’ अभियान सम्पन्न गरेको छ । कांग्रेसले भदौ १० गतेदेखि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित चुनावी अभियान सुरु गरेको थियो । आसन्न निर्वाचन लक्षित पहिलो चरणको चुनावी अभियान शुक्रबार १०९ औं बीपी जयन्तीको अवसर पारेर सम्पन्न गरेको छ । अभियानका लागि कांग्रेसले अभिमुखीकरण गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको थियो ।

कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाहरूबारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने । पार्टीले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनीतिक र आ।िर्थक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने तथा निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने गरी चार मुख्य उद्देश्य राखेर अभियान सुरु गरेको थियो । विभिन्न जिल्लामा आयोजना गरिएको अभियान समापन समारोहलाई पार्टी सभापति शेरबहादुर देउवासहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ । चुनाव लक्षित पहिलो चरणको अभियान सम्पन्न गरेको कांग्रेसले दोस्रो चरणको अभियान समानुपातिकको उम्मेदवारी दर्तापछि जनताको बीचमा जाने अभियान सञ्चालन गर्ने र निर्णायक अभियान प्रत्यक्ष तर्फका उम्मेदवार तय भएपछि अभियान सञ्चालन गर्ने जनाएको छ ।

बिपी कोइरालाको १०९औँ जन्मजयन्ती मनाइयो
नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको शुक्रबार विभिन्न कार्यक्रम गरी १०९औँ जन्मजयन्ती मनाइएको छ । बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस, कांग्रैसका भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी संग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । बिपी जयन्तीका अवसरमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम बिपी जयन्ती मनाएको छ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता संग्राममा भाग लिनुभएको थियो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले कोइराला त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रूपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ । क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभएको थियो । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको परबाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई कोइराला स्वदेश फर्किनुभएको थियो । क्यान्सर रोगका कारण बिपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?