नेकपा एमाले र लोसपाबीच चुनावी गठबन्धनको तयारी

सिट बाँडफाँटको लागि कार्यदल बनाउने, सत्ता गठबन्धनसँग पनि तालमेलको सम्भावना जीवितै रहेको दाबी

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी गठबन्धन गर्ने तयारी भएको छ । पाँच दलीय सत्तागठबन्धनसँग तालमेलको प्रयास सफल हुन नसकेपछि लोसपाले एमालेसँग चुनावी तालमेलको तयारी गरेको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुरले देउवा लोसपालाई गठबन्धनमा ल्याउन सुरुदेखि नै प्रयास गरिरहनु भएको थियो । यसका लागि देउवाले लोसपाका शीर्ष नेताहरूसँग दर्जनौँपटक छलफलसमेत गर्नुभएको छ । देउवा लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई आफ्नो भागबाट दुई सिट दिन तयार हुनुभएको थियो । तर, सत्ता गठबन्धनको घटक एवं लोसपाको क्षेत्रीय प्रतिस्पर्धी दल जनता समाजवादी पार्टी र अध्यक्ष उपेन्द्र यादव लोसपालाई गठबन्धनमा भित्र्याउन बाधक बनेपछि लोसपा एमालेसँग नजिकिएको हो । सत्ता गठबन्धनका तर्फबाट हालसम्म पनि सहकार्यको ठोस प्रस्ताव नआएपछि एमालेसँगको संवादलाई सघन बनाएको लोसपाले जनाएको छ ।

चुनावी तालमेलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच लगातार छलफल भइरहेको छ । दुई पार्टीका अध्यक्षबीच मंगलबार, बुधबार र बिहीबार गरी लगातार तीन दिन छलफल भएको छ । लोसपाका कतिपय नेताहरूले सत्ता गठबन्धनभन्दा एमालेसँगको छलफल बढी सकारात्मक रहेको दाबी गरेका छन् । अध्यक्ष महन्थ ठाकुरको सचिवालयले दुई अध्यक्षबीच वार्ता भइसकेपछि दुवै दलबाट दुई दुई सदस्यीय समिति बनाएर सम्झौतालाई औपचारिक स्वरूप दिने तयारी भएको जनाएको छ । अहिले नै सिट बाँडफाँटको हिसाब नभइसकेको बताउँदै सचिवालयले उक्त विषय सम्झौताकै कुरामा उल्लेख जनाएको छ । ओलीसँग ठाकुरले वार्ता गर्नुअघि एमालेका दोस्रो तहका नेताहरू पनि संवादमा जुटेका थिए । लोसपासँग मिलेर अघि बढ्न एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बाँस्कोटाले पनि वार्ता गर्नुभएको थियो । सत्ता गठबन्धनसँग पनि समानन्तर छलफल गरिरेहको लोसपालाई छलफलका क्रममा एमाले अध्यक्ष ओलीले आफ्नो कित्ता प्रष्ट बनाउन भन्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीनिकट एक स्थायी कमिटी सदस्यले पनि दुई दलबीच वार्ता भइरहेको पुष्टि गर्नुभएको छ । सहमतिको खाकासम्म पुगिनसकेकाले अहिले नै उत्साहित भइहाल्नुपर्ने अवस्था नरहेको बताउँदै ती स्थायी कमिटी सदस्यले भन्नुभयो, ‘कुरा भएको हो, एक चरण दोस्रो तहका नेताहरूबीच संवाद भएपछि दुई अध्यक्ष बिहीबार साँझ भेट्नुभएको हो । अनौपचारिक कुरा भएकाले अहिले नै सहमति हुने भन्न मिल्दैन । तर, कार्यदल बनाएर औपचारिक रूपमा वार्ताबाट सहमतिमा पुग्ने कुरा भएको छ ।’

एमालेसँग केही दिनमै सम्झौता हुन्छ : महतो
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले एमालेसँग तालमेल सम्भावना बढेर गएको बताउनुभएको छ । वरिष्ठ नेता महतोले सत्ता गठबन्धनसँग चुनावी तालमेलको प्रयासमा खासै प्रगति हुन नसकेपछि एमालेसँग मिल्ने सम्भावना बढेको बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे पनि गठबन्धनका केही दल र नेताका कारण सत्ता गठबन्धनमा जाने सम्भावना टर्दै गएको जिकिर गर्दै महतोले भन्नुभयो, ‘हामीलाई तालमेलका लागि दुवै पार्टीले भनेका हुन् । सत्ता गठबन्धनबाट पनि प्रधानमन्त्रीले लोसपालाई आग्रह गरेका थिए । तर, त्यहाँ खासै प्रगति देखिएन । पाँच दलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रूपमा कुरा भइरहेको छ । एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्छु । अबको चुनावमा एमाले र हामी मिलेर जाने कुरा अघि बढिसकेको छ ।’

हुन त एमाले र लोसपाबीच पछिल्लो समय संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयकमा मतभेद छ । एमाले विधेयकको विपक्षमा छ भने लोसपा पक्षमा छ । अहिले सत्ता गठबन्धनमा पनि मधेश प्रदेशका ३२ सिटलाई लिएर चर्को विवाद छ । जसपाले मधेश प्रदेशका ३२ सिटमा बलियो दाबेदारीसहित धनकुटा र मोरङ ५ पनि मागेको छ । लोसपा मधेश प्रदेशका ३२ मध्ये १९ सिट आफूहरूले पाउनुपर्ने पक्षमा छ । स्थानीय चुनावमा राम्रो नतिजा ल्याएको एमाले पनि मधेशमा आफ्नो पकड यो चुनावमा बढाउन चाहन्छ । २०७४ को चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १० र संघीय समाजवादी पार्टी (हालको जसपा) ले नौ सिट जितेका थिए ।

दुवै पार्टीका नेताहरूले संवाद चुनावी तालमेल गर्ने सहमतिको चरणमा पुगेको दाबी गरे पनि लोसपा नेतृ चन्दा चौधरीले भने चुनावी तालमेलको लागि एमालेसँग छलफलको सुरुवात मात्र भएको बताउँदै भन्नुभयो, ‘एमालेसँग छलफल सुरु भएको हो । छलफल धेरै अगाडि बढेको चाहिँ होइन । चुनावमा तालमेल गर्दा कति सिट लिनेदिने भन्ने विषय आउँछ । त्यो चरणसम्म छलफल पुगेको छैन । छलफल सकारात्मक वा नकारात्मक भन्ने विषय त तालमेलको लागि आवश्यक आधारभूत विषयमा छलफलको चरण पुग्नुप¥यो नि । तालमेलको सम्भावना छ । तर, कसरी भन्ने विषय छलफलकै चरणमा छ ।’

सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र लोसपालाई गठबन्धनमा सहभागी गराउन नेतृत्वमाथि तीव्र दबाब छ । प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् लोसपालाई गठबन्धनमा ल्याउन प्रयास गरिरहनु भएको छ । सभापति देउवा र लोसपाका शीर्ष नेताहरूबीच पटक–पटक छलफल भए पनि परिणाम आउन सकेको छैन । लोसपाको सत्ता गठबन्धनमा सहभागिताको च्याप्टर क्लोज भइसकेको चर्चा भइरहँदा लोसपा नेतृ चोधरीले भन्नुभयो, ‘सत्ता गठबन्धनमा लोसपाको सहभागिताको विषय अन्त्य भएको छैन । एमालेसँग तालमेल गर्दा सहज हुन्छ कि कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँदा सहज हुन्छ ? हामी जता सहज हुन्छ, कुरा मिल्छ, सिट बाँडफाँट मिल्छ उतै तालमेल गर्छौं । लोसपाको प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १० सिट हो । त्योभन्दा केही थपघट हुने जोसँग कुरा मिल्छ तालमेल हुनसक्छ । नेपाली कांग्रेसभित्र लोसपालाई गठबन्धनमा सहभागी गराउन ठूलो दबाब छ । त्यसकारण एमाले वा गठबन्धन जोसँग पनि तालमेल हुनसक्छ । दुवैतिर उत्तिकै सम्भावना छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एकातिर चुनावी तालमेलको लागि एमालेसँग सघन छलफल चलाएको छ भने अर्कोतिर मधेशकेन्द्रित साना दलहरूसँग पनि चुनावी तालमेलको तयारी गरिरहेको छ । लोसपाले हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र सिके राउतको जनमत पार्टीबीच चुनावी गठबन्धनका लागि छलफल थालेको छ । शुक्रबार पनि लोसपाले चुनावी सहकार्यका विषयमा ती दलसँग छलफल गरेको छ । चुनावमा तालमेल गरेर जाने विषयमा सबै सकारात्मक रहेको लोसपाको नेता सुरेन्द्र झाले जानकारी दिनुभयो । लोसपाले यसअघि नै मधेश केन्द्रित दलहरूसँग चुनावी तालमेलका लागि छलफल गर्न कार्यदल गठन गरिसकेको छ ।

आवश्यकताको आधारमा तालमेल हुन्छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महासचिव पोखरेलले राजनीतिक रूपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाउँमा मात्र तालमेल हुने जानकारी दिँदै भन्नुभयो, ‘स्थानीयस्तरमा पार्टी कमिटीले नचाहेमा तालमेल हुँदैन, त्यसका केन्द्रको दबाब रहँदैन । एमाले नीतिका आधारमा जनतामाझ जान्छ । एमाले आफ्नो मान्यतामा दृढ छ । निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्छ । मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?