अर्बौंका सामान चिनियाँ नाकामै रोकिए, चाडबाडमा महँगीको डर

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । यसपालिको दशैँतिहार महँगो हुने देखिएको छ । आयातमा समस्या हुँदा यसपालिका चाडबाडमा उपभोक्ताले महँगीको सामना गर्नुपर्ने देखिएको हो । रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि आयातमा असर पर्न गई नेपाली बजारमा महँगी बढ्ने उभोक्ताको चिन्ता छ । चीनले कोरोना संक्रमण बढेको भन्दै नाकाबाट हुने निर्यातमा रोक लगाएपछि व्यापारीका अर्बौं मूल्यका सामान केरुङमै रोकिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीनले एक्कासि नाकाबन्द गर्दा दशैँका सामान बोकी आएका कन्टेनरहरू सीमापारि नै रोकिएका हुन् । कोरोना संक्रमण नघटे दशैँ र तिहारका लागि ल्याइएका सामान नाकामै रोकिनसक्ने आशंका व्यापारीहरूले गरेका छन् ।

चीनबाट आयात हुने सामान नाकामै रोकिँदा बजारमा उपभोग्य सामग्रीको मूल्य आकासिनुका साथै सामानको समेत अभाव हुने आँकलन गरिएको छ । हरेक वर्ष दशैँ तिहारमा लत्ताकपडाको माग उच्च हुने गरेको छ । विशेषगरी उत्तरी नाकाबाट लत्ताकपडा, फलफूल र इलेक्ट्रिक सामानहरू भित्रिने गरेका छन् । राजधानीलगायत मुलुकका मुख्य बजारमा चिनियाँ सामानकै वर्चस्व छ । अहिलेको नाकाबन्दी लामो अवधिसम्म कायम रहे दशैँ तिहारमा उच्च माग हुने लत्ताकपडा लगायतका सामानको अभाव हुने व्यापारीहरू बताउँछन् । गत वर्षको दशैँ तिहारमा पनि नाकाबन्दीका कारण मागअनुसार सामान भित्रिन नसक्दा उपभोक्ताहरूले अभाव र महँगी खेप्नुपरेको थियो ।

रसुवागढी नाका सञ्चालनबारे पनि अन्योल कायमै रहेको छ । नाका खुल्नेबारे अहिलेसम्म चिनियाँ पक्षबाट कुनै जानकारी नआएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । कति संख्यामा चीनतर्फ सामान रोकिएको भन्नेबारे पनि यकिन जानकारी अझै आइनसकेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोरोनाका कारण चीनले कडा मापदण्ड लागू गरेका कारण पछिल्लो तीन वर्षदेखि चीन-नेपालबीच स्थलमार्गबाट हुने प्यापार प्रभावित हुँदै गएको छ ।

‘नाकामा सामान रोकिँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको छ’
लामो समयदेखि चीनतर्फका नाकाबन्द हुँदा व्यवसायी मर्कामा परेका छन् । दशैँका लागि आयात गरिएका लाखौँ मूल्यका सामान नाकामै रोकिएपछि लगानीसमेत जोखिम परेको व्यापारीले बताएका छन् । राष्ट्रिय व्यापार संंघका महासचिव बैकुण्ठ दाहालले विभिन्न वहानामा चीनतर्फका नाकामा सामान रोकिँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो ।

कोरोना महामारी सुरु भएदेखि नै चीनतर्फबाट हुने आयात प्रभावित हुँदै आएको र पछिल्लो समय पनि विभिन्न बाहनामा चीनले नाकामा कठाइ गरेको महासचिव दाहालको भनाइ छ । नेपाल राष्ट्र बैंकले कर्जा लगानीमा कडाइ गरेको र सहकारीले समेत तरलता समस्या देखाउँदै ऋण दिन छाडेकोले लगानी अभावमा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयोे । ‘उत्तरी नाकामा अवरोध हुँदा व्यवसायी मर्कामा परेका छन्, व्यवसाय चौपट भएको छ । आयात गरिएको सामान नाकमै रोकिँदा सिजनका लागि मगाइएका सामान अफ सिजनमा आइपुग्ने गरेको छ,’ महासविच दाहालले हिमालय टाइम्सँग भन्नुभयो, ‘जसका लगानी नै जोखिम परेको छ, कतिपय व्यवसायी त व्यवसायबाटै पलायन भइसकेको अवस्था छ ।’ चाडवाडको समय भएकाले आयात सहजीकरणका लागि केरुङ र तातोपानी नाका खुलाउन सरकारले कूटनीतिक पहल नगरेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?