आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक काममा फर्किए

हिमालय टाइम्स
Read Time = 2 mins

विजय रावत/हिटा
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् । ६० जना डाक्टरहरूले दिएको सामूहिक राजीनामा फिर्ता लिँदै डाक्टरहरू नियमित काममा फर्केको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्टार नृपेन्द्र महतले जानकारी दिनुभयो । जिल्लाका सबै राजनीतिक दलहरूले डाक्टरहरूको शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि डाक्टरहरू नियमित काममा फर्केको प्रतिष्ठानका रजिष्टार महतले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा डाक्टरहरूले इमर्जेन्सीबाहेक सबै ठप्प पारेका सेवाहरू नियमितरूपमा शुक्रबारदेखि सुचारु हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाले जनाएको छ । प्रतिष्ठानका डाक्टर करण शाहमाथि लागेको आरोप फिर्ता लिने सहमतिपछि सबै डाक्टरहरू काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ । गत भदौ २ गते डा. करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए ।

एशिया इन्टरनेशनल मोडेल इंग्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ भण्डारीवाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको जनाउँदै बालककी आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो । जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?