जनतन्त्र, गणतन्त्र, स्वतन्त्र…. राजतन्त्र

Read Time = 11 mins

✍️ अर्पण

नेपालको इतिहासमा राजतन्त्रले निकै लामो समय ओगटेको छ । नेपालको इतिहास करिब २६ सय वर्ष अगाडिदेखि सुरु भएको मानिन्छ । त्यसभन्दा करिब १५० वर्षअगाडि नै नेपालमा राजसंस्थाको उत्पत्ति भएको विश्वास इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका छन् । उनको मतमा ‘वर्तमान काठमाडौं उपत्यकामा एक प्रकारले एउटा राजसंस्थाको आधारशिला स्थापित भइसकेको झलक प्राप्त हुन आएको छ ।’ नेपाल र नेपाली हिन्दूधर्मावलम्बी तथा पूर्वीय दर्शनबाट प्रभावित भएकै कारण नेपालमा गोपालवंशदेखि नै राजतन्त्रको झलक पाइन्छ । अतः यसरी विकास भएको राजतन्त्रको झलक गोपाल, महिषपाल, किरात, सोमवंश, सूर्यवंश, ठकुरीवंश, लिच्छवि र मल्ल हुँदै शाहवंशसम्म आइपुगेको थियो ।

विशेषतः नेपाल एकीकरणपछि नै सम्पूर्ण राज्यको एकल राजाबाट राज्य सञ्चालन भएको पाइन्छ । विसं १८२५ देखि २०६५ सम्म नेपालमा शाहवंशीय शासकहरू थिए । नेपालमा राजतन्त्रको लामो इतिहास भए पनि विसं २०४६ सालको जनआन्दोलनपछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो । इतिहास हेर्दा राजतन्त्रले निम्त्याएको राणाशासन, राणाशासनले निम्त्याएको २००७ सालको आन्दोलन पुनः राजतन्त्रले निम्त्याएको २०४६ सालको आन्दोलन, दरबार हत्याकाण्ड, २०६२/०६३ को आन्दोलन यसरी हेर्दा देशले परिवर्तन खोज्छ भन्ने कुराको निष्कर्ष निकाल्न सायद कसैलाई अप्ठ्यारो पर्दैन ।

मानिस परिवर्तन चाहन्छ, स्वतन्त्रता चाहन्छ र हकअधिकार खोज्छ । फलतः यसको निवारक रूपी राजतन्त्रप्रति विद्रोह र वितृष्णा हुनु स्वभाविक नै थियो । त्यसैको परिणामस्वरूप २०६२÷०६३ को आन्दोलन जन्मियो । नेपालमा चल्दैआएको २४० वर्षे राजतन्त्रको अन्त्य गरेको थियो भने नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको थियो ।

गणतन्त्र :
इतिहास पल्टाएर हेर्दा विसं २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधानअनुरूप सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना भएको थियो । नेपालमा गणतन्त्र सुरुवात भएको एकदशक पुगिसकेको छ । गणतन्त्रको शाब्दिक अर्थ गणहरू, सर्वसाधारणको शासन व्यवस्था अथवा जनताका प्रतिनिधिहरूले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली भन्ने हुन्छ ।

विसं २०६५ सालमा नेपालमा जनताले गणतन्त्र स्थापना गरी राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरे । दश वर्षे सशस्त्र युद्ध र संघर्षले हजारौं नागरिकका रगतले नेपाललाई गणतन्त्रात्मक त बनायो तर त्यो गणतन्त्र केवल संविधानको पानामा मात्रै निहित हुन पुग्यो । बाहुबल हुनेले जालझेल र षड्यन्त्रले भूमि र सत्ता कब्जा गर्ने अनि त्यसरी कब्जा गरेको भूमिलाई नियन्त्रणमा राख्दै आफ्ना सन्तान दरसन्तान नातावाद र कृपावादलगायत अनेकौं नयाँ वादहरूको जन्म गराउने काम मात्रै भयो तर गणतन्त्रले सर्वसाधारणलाई छुन सकेन ।
सबैभन्दा धेरै मौलिक हक भएको नेपालको संविधान २०७२, ती संविधानको भाग ‘घ’ मा मात्रै निहित रहे स्वतन्त्रताको हक, समानताको हक, न्यायसम्बन्धी हक, यातनाविरुद्धको हक, शिक्षा र स्वास्थ्यसम्बन्धी हकहरू । कुनै युवती घरबाहिर हिँड्न दाजुभाइको साथ चाहिने अवस्था, स्वतन्त्रता र जातजातिबीच गरिने अमानवीय कार्य नै समानताको हक हो कि, न्यायसम्बन्धी हक छ छैन भन्ने कुरा भर्खरै चर्चामा आएकी कुमारी आमा र केही समय पहिलाका निर्मला प्रकरणलगायत अरू थुप्रै प्रकरणबाट नै प्रष्ट देखिएको छ ।

गणतन्त्रलाई निजत्वको भर्‍याङ बनाई अघि बढेको नेपाली राजनीतिले फरक मोड लिन्छ कि जुन परिवेशमा हुर्कियो त्यही परिवेशको हावाले छुन्छ भन्ने कौतुहलता प्रत्येक नागरिकमा रहेको छ भने स्वतन्त्रताका लागि चुनौतीको कुरा रहेको छ । पछिल्लो एकदशकदेखि निर्विकल्प रहेको नेपाली राजनीतिले विकल्प खोजेको छ ।

शिक्षासम्बन्धी हक रहेको देशमा विद्यार्थीको हातमा वर्ष दिनसम्म पुस्तक पुग्दैन, बिरामी भएर हस्पिटल जाँदा नातावाद र कृपावादको प्रमाणपत्र भए बेड पाइने नभए नपाइने अवस्थामा गणतन्त्रले दिएको उत्कृष्ट मौलिक हकको स्वास्थ्यसम्बन्धी हक संविधानको पानामा छ कि जनताको हातमा यो धेरै सोचिरहनु पर्दैन । कुनै पनि व्यवस्था अव्यवस्थित र अस्थिरता भएपछि त्यस व्यवस्थाप्रति युवाहरूमा विद्रोह र आक्रोश उत्पन्न हुनु स्वाभाविक हो र त्यो विद्रोह र आक्रोशले व्यवस्था नै उल्टाउने गर्छ । यसरी हेर्दा जनताका लागि जन्मेको गणतन्त्र सफल कि असफल ? यो कुरा सोच्ने समय आएको छ ।

स्वतन्त्रता :
गणतन्त्रलाई असफल बनाउने नातावाद, कृपावाद, झोलावाद, चम्चावादको विरुद्ध वितृष्णाले उत्पन्न गराएको विद्रोह युवाहरूमा देखिएको छ । तिनै स्वतन्त्र युवाहरूको संगठन गणतन्त्रको संरक्षण र पूर्ववर्णित वादहरूको अन्त्यका लागि लागिपरेको छ । वितृष्णाले विद्रोह जन्माउँछ र विद्रोहले परिवर्तन, के यो विद्रोह परिवर्तनशील हो त ? राजतन्त्र, राणाशासन, प्रजातन्त्र, गणतन्त्रले दिन नसकेको जित्न नसकेको नेपाली नागरिकको मन स्वतन्त्रताले जित्ला ? गणतन्त्रलाई नै ऋणी बनाएर आजसम्म गणतन्त्रको फाइदा निजत्वमा लगाएका अनुहारलाई फेरि त्यही ठाउँमा देख्न नपरोस् भन्ने चाहना धेरैको देखिन्छ ।

तर, यो देखिएको कुरा भेटिन्छ कि फेरि हराउँछ भन्ने कुरा रहस्यमय छ । गणतन्त्रलाई निजत्वको भ¥याङ बनाई अघि बढेको नेपाली राजनीतिले फरक मोड लिन्छ कि जुन परिवेशमा हुर्कियो त्यही परिवेशको हावाले छुन्छ भन्ने कौतुहलता प्रत्येक नागरिकमा रहेको छ भने स्वतन्त्रताका लागि चुनौतीको कुरा रहेको छ । पछिल्लो एक दशकदेखि निर्विकल्प रहेको नेपाली राजनीतिले विकल्प खोजेको छ । के यो विकल्प नेपाली नागरिकले स्वीकार गर्लान् ? गर्दाको फाइदा र बेफाइदा के ? हुन त प्रत्यक्षदर्शीलाई बेफाइदा भनिरहनु पर्दैन भने फाइदा परिणामपछि देखिने कुरा हो । अहिलेको अवस्थामा हेर्दा पत्यार लागेका अनुहार तथा बुढा हजुरबुबाहरूलाई विश्राम दिएर सहयोग गर्न भने पक्कै सकिन्छ । के यसका लागि नेपाली जनता तयार छन् ? छन् छैनन् भन्ने कुरा मंसिर चारको चुनावले देखाउला भन्नु शिवाय अरूको विकल्प रहेन ।

हुन त कुनै पनि व्यवस्था गलत हुँदैन । व्यवस्थाभित्र व्यवस्थित गर्ने प्रतिनिधिहरूको प्रवृत्ति नै गलत हुन पुगेपछि व्यवस्थाले हार मान्नु र असफल ठहरिनुको विकल्प नहुने रहेछ । नेपाल विगत लामो समयदेखि गलत प्रवृत्ति र नियतद्वारा विकास मार्गमा एक शतकपछि रोकिनु परेको छ । नेपाललाई स्विटजरल्याण्ड, सिंगापुर, जापान, अमेरिका, अष्ट्रेलिया बनाउनुपरेको छैन । नेपाललाई नेपाल नै बनाउनु परेको छ र नेपाललाई नेपाल नै बनाऊँ भन्ने प्रवृत्तिको कमी नै नेपाल र नेपालीले भोग्नु परेको मूल समस्या हो । प्रत्येक देशको आफ्नै धर्म, संस्कार, संस्कृति, भाषा र इतिहास हुन्छ । यी सबै देश चल्ने बाटो हुन् र यिनको अभावले बाटामा समस्या देखिन्छ । समस्या देखिएको बाटोमा कतिखेर दुर्घटना हुन्छ भन्ने अनुमानसम्म गर्न सकिँदैन । अतः मंसिर चारले समस्यारहित बाटो रोज्न सकोस् र गति तीव्र बनोस् यही कामना छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Durga
Durga
2022-09-12 2:47 pm

Dammii

रिलेटेड न्युज

छुटाउनुभयो कि ?