पुस्तक : प्रीतिको कविताकृति ‘अनुभूतिको इन्द्रेनी’

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ सुशीला घिमिरे

प्रीति आत्रेय ज्ञवाली नेपाली साहित्यको आकाशमा चम्किलो नक्षत्रका रूपमा उदाउनु भएको साहित्यकार हुनुहुन्छ । उहाँको पारिवारिक वातावरण पनि यसअनुकूलको रहेको थियो । हालै उहाँ आफ्नो एउटा कविताकृति लिएर देखा पर्नुभएको छ ‘अनुभूतिको इन्द्रेनी’ शीर्षकमा । अनुभूतिको इन्द्रेनी गद्यकवितासङ्ग्रह हो । यसमा उहाँका गद्यकविताहरू सङ्गृहीत छन् । पुस्तक डिएमआई साइजमा आकर्षक रूपमा प्रकाशित भएको छ । यसको आवरण पनि आकर्षक छ र यो प्रशस्ति ज्ञवालीले तयार पार्न भएको छ । जून तारासहितको आकाश जस्तो देखिने अमूर्त कला छ यसमा ।

यसैगरी इन्द्रेनीका सात रङ पनि यसमा समावेश गरिएको जस्तो लाग्छ । प्रतीकात्मक रूपमा वनस्पति पनि समावेश गरिएको छ । माथि ठूला रातो किनारका सेता अक्षरमा पुस्तकको शीर्षक ‘अनुभूतिको इन्द्रेनी’ राखिएको छ र तल कवयित्रीको नाम साना नीला अक्षरमा ‘प्रीति आत्रेय ज्ञवाली’ भनिएको छ । पुस्तकको आवरणको पृष्ठभूमि कालो छ । यस पुस्तकको प्रकाशन शब्दार्थ प्रकाशन चावहिल काठमाडौंबाट भएको छ । यसको सर्वाधिकार कवयित्रीमै रहेको छ । पुस्तकको ले-आउट विकुशले गर्नुभएको छ ।

पुस्तकको यो पहिलो संस्करण हो जुन २०७९ साल भदौ ११ गते कुशेऔंसी वा पितासम्मान दिवसको सन्दर्भ पारेर प्रकाशित गरिएको छ । पुस्तकको पृष्ठ आवरणमा कवयित्रीको फोटो र यही पुस्तकको भूमिकामा रहेको प्रा.डा.दुर्गाप्रसाद अर्याल र डा.देवी नेपालको महत्वपूर्ण भनाइलाई उद्धृत गरिको छ । पानाको तल प्रकाशक संस्था शब्दार्थ प्रकाशनको नाम लागोसहित दिइएको छ । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ, छपाइ स्तरीय छ र अशुद्धिहरू पनि कमै मात्र छन् ।

पूर्वजप्रति सम्मान, मानिसको प्रवृत्ति, मानवीय सोच र चिन्तन, समाज चित्रण, मानवीय संवेदना, तनाव, विपन्नता, पुरुषहरूप्रति सहानुभूति, नारी र पुरुषको परिपूरक सम्बध, नारीका समस्या, मानवीय कर्तव्य, सबैप्रति समन्यायिक दृष्टिकोण जस्ता भावाभिव्यक्तिलगायत विविध भाव यस पुस्तकमा समेटिएका कविताहरूले दिएका छन् ।

पुस्तकमा भूमिका खण्डसहित १३२ पृष्ठ रहेका छन् जसले गर्दा पुस्तक छरितो बन्न पुगेको छ । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । यो पुस्तक कवयित्रीले आफ्ना स्वर्गीय पिता विष्णुराज आत्रेय ‘लाटोसाथी’ लाई समर्पण गर्नुभएको छ । अर्थात् उहाँले पितासम्मान दिवसका दिन पारेर पितालाई नै समर्पण गरी यो पुस्तक सार्वजनिक गर्नुभएको पनि हो ।

भूमिका खण्डमा प्रा.डा.दुर्गाप्रसाद अर्यालको ‘अनुभूतिको इन्द्रेनी उपलब्धिपूर्ण सुन्दर कृति’ शीर्षकमा लामो १५ पृष्ठको मन्तव्य रहेको छ । यसैगरी यही खण्डमा नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञ सदस्य डा.देवी नेपालको ‘हार्दिक शुभकामना’ तथा कवयित्री ज्ञवालीको मनका कुरा रहेको छ । यसपछि विषयसूची छ । यस पुस्तकमा प्रीति आत्रेय ज्ञवालीका ५९ वटा छोटा र मझैला खालका गद्यकविता छन् । कवितैपिच्छे फोटा र चित्र समावेश गरिनाले कविताको भावमा अझै ऊर्जा थपेको छ भन्दा अत्युक्ति नहोला ।

यस सङ्ग्रहमा जम्मा ५९ वटा कविता छन् जसमध्ये २४ वटा कविता एक शब्दको, १६ वटा कविता दुई शब्दको, १२ वटा कविता तीन शब्दको, चारवटा कविता चार शब्दको, दुईवटा कविता पाँच शब्दको र एउटा कविता ६ शब्दको शीर्षकमा रहेका छन् । यसबाट कवयित्रीको छोटा शीर्षक चयन गर्ने प्रवृत्ति यहाँ देखा पर्छ । उहाँका कविताको शीर्षक मात्र होइन कविता पनि छोटा नै छन् । १९ वटा कविता एक पृष्ठको, ३३ वटा कविता दुई पृष्ठको, पाँचवटा कविता तीन पृष्ठको र दुईवटा कविता चार पृष्ठको फैलावटमा रहेका छन् । यसरी हेर्दा उहाँका कविता छोटा र मध्यम आयामका रहेका पाइन्छन् ।

पूर्वजप्रति सम्मान, मानिसको प्रवृत्ति, मानवीय सोच र चिन्तन, समाज चित्रण, मानवीय संवेदना, तनाव, विपन्नता, पुरुषहरूप्रति पनि सहानुभूति, नारी र परुषको परिपूरक सम्बध, नारीका समस्या, मानवीय कर्तव्य, सबैप्रति समन्यायिक दृष्टिकोण, कृति राख्नु पर्छ भन्ने भावाभिव्यक्तिलगायत विविध भाव यस पुस्तकमा समेटिएका कविताहरूले दिएका छन् । उहाँका केही कविताहरू निकै छोटा पनि छन् । यहाँ उहाँको ‘खीर’ शीर्षकको कविता यस्तो छ :
दूध झैँ गोरो मुख
चामल झैँ सेता दन्तलहर
चिनी झैँ बोलीमा मिठास
बोल्दा खीर जस्तो लाग्छ
यति भएपछि
खीर नै किन चाहियो
किन पो खीर खानुपर्‍यो !
यसरी खीर शीर्षकमा लेखिएको भए पनि मानिसको आचरण व्यवहारतर्फ यसको आशय लक्षित हुन पुगेको छ । यसैगरी ‘पसिनाको मूल्य’ शीर्षकको लघुकवितामा उहाँ भन्नुहुन्छ :
पसिनाको मूल्य देखिँदैन
पसिनाले कमाएको मूल्य बुझिँदैन
लाग्दो हो पैसा सजिलै फल्छ
त्यसैले मूल्य बढिरहन्छ !
पुस्तक प्रकाशनका लागि कवयित्रीलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना साथै यस्तै अन्यन्य कृतिका लागि उहाँलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?