Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

साताको साहित्य !

हिमालय टाइम्स
Read Time = 16 mins
A A- A+

✍️ डा. नारायण चालिसे

काठमाडौं देशको राजधानी हो । देशको राजधानी अरू धेरै विषयको पनि राजधानी हुने नै भयो । स्वभावैले काठमाडौं साहित्यको पनि राजधानी हो । यहाँ दैनिक दर्जन जति साहित्यिक कार्यक्रमहरू हुन्छन् । जसरी राजधानीलाई जे विषयको पनि हक हुन्छ त्यसरी नै साहित्यको सन्दर्भमा पनि जेजस्ता कार्यक्रम गर्न पनि हक छ र जेजस्तो कृति दिन पनि छुट छ । दर्जनमध्ये एकदुई कार्यक्रमलाई छोडेर अरू सबै कार्यक्रमहरू दुःख बेसाउने मेलो मात्रैका हुन्छन् । ती सामग्रीले समाजलाई खासै उल्लेख्य योगदान गर्न सकेको लाग्दैन तापनि प्रकाशकहरू भेटिएकै हुन्छन् ।

कार्यक्रमहरू भइरहेकै हुन्छन् । दर्शकहरू जुटेकै हुन्छन् । किताबहरू बिकेकै हुन्छन् । कार्यक्रमको धर्मसङ्कट भनेको गोजीमा पैसा होस् नहोस् नैतिक बन्धनमा परेर किताब किनेरै फर्किनु पर्ने । कहीँ प्रकाशकको निम्तो छ, कहीँ लेखकको निम्तो छ । कहीँ आफूले हार्न नमिल्ने व्यक्तिले बोलाएको छ । कहीँ आफ्नै रुचिले पनि जान मन लाग्छ । गइसकेपछि तत् तत् व्यक्ति वा संस्थाका सामु म आएँ है भन्नै प¥यो । त्यसो भन्नु भनेको एउटा किताब किन्नु र त्यसमा लेखकको हस्ताक्षर लिएर आएँ है भनी प्रमाणित गर्नु हो । सम्बन्धमा पनि कति मिठो गरी व्यावसायिकता घुसेको छ कि भन्न पनि नमिल्ने तर ठूलो सङ्कट बेहोरेर फर्किनुपर्छ ।

लेख्नु मात्र हाम्रो काम हो छाप्नु अरूकै काम हो भन्ने धारणाले हो वा म राम्रो लेखक हुँ मेरो कृति अरूले नै छापेर बाहिर ल्याइदिने हो भन्ने अहंबोधले हो उनीहरू पनि प्रकाशकका हरेक सर्तहरूलाई मानेर प्रकाशमा आउन चाहन्छन् ।

गत साता यस्तै तीन चारवटा साहित्यिक कार्यक्रममा सामेल हुने निम्ता थिए । सकेसम्म इमानदार हुने प्रयत्न गरियो । दिनहुँ हुने यस्ता कार्यक्रममा आउँदिन भन्न पनि नमिल्ने समय निकाल्न पनि धौधौ पर्ने । कुनै न कुनै माध्यमले नाइँ भन्न नमिल्ने ठाउँमा मात्रै जाँदा पनि भ्याइनभ्याई हुने । यसरी दिनहुँ उदाउनेमध्ये धेरैजसो लेखकले मैले के लेखेँ ? यसको कृतिगत मूल्य के कति हो ? के मैले दिएको सामान समाज र जीवनको निम्ति उपयोगी छ त ? भन्ने विषयमा अलिकति सोच्ने हो भने यस्ता कार्यक्रम निश्चय पनि कम हुन्थे तर त्यस्तो पटक्कै छैन । समय र श्रमको बर्बादीमात्र गर्न पनि कार्यक्रममा उपस्थित हुनुपर्छ ।

काठमाडौंका प्रचलित सभाहलहरूमा मानिस खचाखच हुन्छन् । हिजो आज लेखकको भन्दा प्रकाशकको प्रभाव साहित्यमा बढी परेको कुरा भनिरहनु पर्दैन । स्वाभाविक हो अमुक नामको लेखकको कृतिलाई दाउमा राखेर प्रकाशकले लाखौँको जुवा खेलिरहेको हुन्छ । कृति अर्थात् लेखकलाई राम्ररी बिकाउन सकिएन भने प्रकाशकको लगानी डुब्छ । आमातिरको न बाबुतिरको साइनोमै नपरेको लेखकलाई हत्केलामा उठाएर साहित्यको बजारमा उत्रिएका प्रकाशकहरूका आफ्ना तमाम बाध्यता छन् तर कार्यक्रममा लेखक हराएर प्रकाशक मात्रै बढी भेटिनु पनि कत्तिको सुखद समय हो भन्ने अवस्था छैन ।

हो धेरैजसो लेखकसँग आर्थिक हैसियत नहोला तर लेखक हुन गरिब हुनैपर्छ भन्ने छैन । लेखकलाई गरिबको बिल्ला लगाइदिनै पर्छ भन्ने पनि छैन । लेखक हुनु एउटा कृति पनि आफ्नै खर्चले प्रकाशन गर्न नसक्ने पनि अवश्य होइन । कतिपय लेखकहरू धेरै सम्भ्रान्त छन् आफ्नै पैसाले प्रकाशन गृह नै किन्न सक्छन् । केही नगन्य लेखकहरूले बाहेक अधिकांश लेखकहरूले प्रकाशनमा खर्च लगाएको थाहा छैन तर तिनै लेखक पनि आफ्नो कृति आफ्नै खर्चमा छाप्ने उदारता देखाउँन सक्दैनन् वा चाहँदैनन् ।

लेख्नुमात्र हाम्रो काम हो छाप्नु अरूकै काम हो भन्ने धारणाले हो वा म राम्रो लेखक हुँ मेरो कृति अरूले नै छापेर बाहिर ल्याइदिने हो भन्ने अहंबोधले हो वा पैसा खर्च गर्ने डर र दाम कमाउने लोभले हो उनीहरू पनि प्रकाशकका हरेक सर्तहरूलाई मानेर प्रकाशमा आउन चाहन्छन् । भन्न त उनीहरूको पनि तर्क हुन्छ प्रकाशकले वितरण राम्ररी गरिदिन्छन्, प्रचार बढी हुन्छ तर त्यस्तो मात्रै हो भन्ने लाग्दैन । यदि इच्छाशक्ति हुने हो र अठोटले चल्ले हो भने प्रकाशकले गर्ने प्रचारको काम गर्ने अनेक बाटा हुन्छन् । केही पारितोषिक दिएर पनि वितरण व्यवस्था मिलाउन सकिन्छ ।

खासमा लेखक स्वयंले समेत आफ्नो कृतिमा पैसाको जुवा खेल्न डराउँछ र मेरो कृति यस्तो हो उस्तो हो भनेर प्रकाशकलाई नै फकाउन थाल्छ तर अब प्रकाशकहरू पनि त्यति कमजोर छैनन् । जस्तो तस्तो कृतिमा दाउ लगाउँदैनन् । चर्चामा नआएका वा ल्याउन नसकिने कृतिमाथि उनीहरू त्यति भर गर्दैनन् । बरु त्यस्ता लेखकहरूसँग नाम र लोगो दिने सर्तमा पैसा लिन्छन् पनि भनिन्छ । त्यो तर्क त्यति अनुचित पनि होइन । उनीहरूले लगाऊन् पनि किन र ? जब स्वयं लेखक अलमलमा छ भने प्रकाशकले किन त्यो मूल्य चुकाउने ?

तर, कस्तो कस्तो असजिलो किताब विमोचनको क्षणमा देख्न पाइन्छ । प्रकाशकको अधीनमा रहेका लेखकहरू त्यहीँ कतै हराएजस्ता हुन्छन् । प्रकाशकहरू लेखक नै हौँ वा तीभन्दा धेरै ठूला हौँ भन्ने भावमा सभाको केन्द्रमा रमाइरहेका हुन्छन् । बिचरा लेखक केही बोल्न सकिरहेका हुँदैनन् । आफ्नो मनैले खामेका आदरणीय दाइ तिनको नजिक आउँछन् । तिनले आदरपूर्वक नमस्कार गर्छन् । तिनलाई लाग्छ मेरा यी मान्य दाजुको कति धेरै सहयोग छ मप्रति । यिनकै प्रेरणा र हौसलाले आज यतिको लेखक बन्ने अवसर पाएको हुँ । यिनले त्यो समयमा हात झिकिदिएका हुन्थे वा मेरा काँचाकचिला सिर्जनाहरू पनि नछपाइदिएका हुन्थे भने मेरो हौसला मरेर जाने थियो ।

म उही स्थानीय गजलकार मात्र भइटोपल्थेँ । मेरो यो उचाइ कहाँ हुन्थ्यो र ? उनको हातमा मेरो यो सफलताको चिनो थमाइदिन पाए कस्तो हुन्थ्यो । त्यस्तै आफ्नो जिग्री साथी कार्यक्रमस्थलमा उपस्थित छ । सयौँ पटक उसको सल्लाह र परामर्श पछि कृति यत्तिको बनेको हो । आज म लेखकको हैसियतमा छु एउटा किताब उपहारस्वरूप दिएर पठाउन पाए भन्ने कुराले मन कटक्क खान्छ । आफ्नो आदरणीय गुरु कार्यक्रममा उपस्थित हुनुहुन्छ एउटा किताब दिएरै पठाऊँ कि भन्ने मन हुन्छ । यस्ता धेरै कुराले मन तरङ्गित हुन्छ ।

उसले प्रकाशकको अनुहारतिर पुलुक्क हेर्छ । ऊ कठोर मुद्रामा छ । निर्मम छ उसको मन । कतैबाट पनि दया पलाउने लक्षण देख्दैन । ऊ कोमल होओस् पनि किन र ? उसले पनि त व्यवसाय गरेको हो । सबैप्रति कोमल हुँदै जाने हो भने लगानी कसरी उठाउने ? आफैँले खल्तीबाट पैसा झिकेर एउटा किताब किनौँ र उनको हातमा हालिदिऊँ जस्तो लाग्छ । गोजी छाम्छ पनि । अहिलेसम्म प्रकाशकले आश्वासनमात्र दिएको छ । पैसा दिएको छैन । खल्तीमा त्यति पैसा पनि छैन । खोइ बजारको सन्तुलन किन यसरी बिग्रियो ? हाम्रो आर्थिक हैसियत बढेर हो कि पैसा सस्तो भएर हो किताबको मूल्य अलि बढी नै राखिएको हुन्छ हिजोआज ।

महँगो लाग्छ किताबको मोल । सय डेढ सय पृष्ठको किताबलाई हजारको नोट भिडाउन पर्छ । बेलुका कार्यक्रम सकिँदा ढिला भयो भनेँ ट्याक्सीमा डेरा जानुपर्छ । उसले हातमै लिएको हजारको नोट पनि भित्रै छिराउँछ । आफ्नै किताब किन्न पनि सक्दैन । उसले त्यसको अनुमति पाउँदैन । मन कटक्क त हुन्छ तर के गर्ने लेखक, प्रकाशकको अधीनमा गइसकेको छ । तपाईले आफू खुसी कुनै निर्णय गर्न पाउनुहुने छैन । कसैप्रति मोलाहिजा वा कोमल दृष्टि पार्नुहुने छैन । किताबको बाहिर प्रिन्ट भएको मूल्यमा केही प्रतिशत कम गरेर आउने रकम हामीले आफ्नै बाबुआमासँग पनि असुल गर्नेछौँ ।

ती दाइभन्दा धेरै ठूलो अहिले उसको प्रकाशक ऊसँग छ । ऊ नहुँदो हो त आजको यो हैसियत हुने थिएन । मेरो चिनजानले यतिका मानिस यहाँ कसरी उपस्थित हुनु ? लेखक यस्तै विचारमा सोचमग्न हुन्छ । त्यस्तैमा सभामा एउटा प्रकाशकले नपत्याएको लेखक साथी उपस्थित हुन्छ । उसले भन्छ लेखक हुनुजस्तो वाहियात काम अरू केही रहेनछ । मैले आफ्नो विचार, बुद्धि, ज्ञान र विवेकले साहित्य लेख्ने कि प्रकाशकको रुचि, इच्छा र सर्तअनुसारको साहित्य लेख्ने ? मलाई त्यस्तो प्रकाशकको अधीनमा परेको लेखक हुन छैन । म लेख्दिन वा लेखेँ भनेँ आफ्नै खर्चले छाप्ने गरी लेख्छु । आफ्नो इमान र नैतिकता मारेर पनि कोही लेखक बन्छ ?

अब लेखक, लेखक होइन, प्रकाशक लेखक हो । किताब प्रकाशनमा आउँदा लेखकले दिएको पाण्डुलिपि कहाँ पुग्छ पुग्छ । त्यो अर्कै भएर निस्कन्छ । लेखक त उहिल्यै कहिल्यै मरिसकेको हुन्छ । केवल नाम र दामको मोह मात्र त्यहाँ जीवित हुन्छ । केही केहीले असहमति जनाउँन खोज्छन् तर विचरा लेखकको हैसियत नै के हुन्छ र प्रकाशकको सामु ? कुरा सुन्दा अचम्म लाग्छ । यस्तो पनि हुन्छ र ? मैले सोध्छु । उसले भन्छ यसको मतलब तपाईं पनि प्रकाशकले नपत्याएकै लेखक हुनुहुँदो रहेछ । कुरामा दम थियो । तर, जे जसरी आएको भए पनि कृति बाहिर आउँदा चित्तबुझ्दो गरी आयो भने त भइगयो नि । समाजले राम्रो सामग्री पाउँछ भने के नै समस्या भयो र ?

अब लेखक, लेखक होइन, प्रकाशक लेखक हो । किताब प्रकाशनमा आउँदा लेखकले दिएको पाण्डुलिपि कहाँ पुग्छ पुग्छ । त्यो अर्कै भएर निस्कन्छ । लेखक त उहिल्यै कहिल्यै मरिसकेको हुन्छ । केवल नाम र दामको मोहमात्र त्यहाँ जीवित हुन्छ ।

बरु पहिलो ड्राफ्टमा राम्रो सामग्री दिन नसकेको लेखक दोषी भएन र ? भन्न मन लाग्छ । तर, मेरो मित्र प्रकाशकप्रति धेरै नै कठोर भएको देखेर थप प्रश्न गर्न मन लाग्दैन । कुरा पनि के के हुन् के के । घोस्ट राइटिङको नाममा पैसाले साहित्य वा नाम किनेको भन्ने त सुनिँदै आएको हो तर प्रकाशकहरूले पनि त्यही धन्दा गर्नु परेको खबरले मन अमिलो पनि हुन्छ । यो अमिलो एकोहारो प्रकाशकप्रति मात्र पनि हुँदैन । हामी लेखकहरू कस्तो लेख्छौँ ? के लेख्छौँ ? के हाम्रो पनि दायित्व समाजोपयोगी रचना दिनु होइन र ? भन्ने पनि लाग्छ । व्यापारको नाममा प्रकाशकले सस्तो कृतिलाई घातक किसिमको विज्ञापनसहित बजारमा ल्याउने समस्या र गुणात्मक कृति दिन नसक्ने लेखक दुवैप्रति गुनासो गर्न मन हुन्छ ।

यस साता मैले सहभागिता जनाएका केही साहित्यिक कार्यक्रमहरू गुणात्मक थिए । साहित्यिक विमर्श, स्रष्टा सम्मान, पुरस्कार वितरण र पुस्तक विमोचनसम्मका कार्यक्रममध्ये केही कार्यक्रमहरू भने भड्किला जस्ता लाग्थे । नेता अभिनेतासमेत जोडिएका ती कार्यक्रमहरू किताबले दिने शान्तिभन्दा अलि फरक ग्ल्यामर खालका देखिन्थे । विज्ञापनको यो नयाँ शैली साहित्यिक हो कि अरू पनि केही हो छुट्याउन गाह्रो पथ्र्यो । यी कार्यक्रम पनि लेखक र प्रकाशकका विषयमा सुनिँदै र भोगिँदै आएका कथाहरूबाट भने मुक्त थिएनन् ।

ती चर्चित स्रष्टाहरू पनि त्यसरी निरीह भएको दृश्य त्यति प्रिय थिएन । पुस्तक किनेर पढ्ने संस्कार सिकेर लेखक र प्रकाशकलाई सहयोग गर्ने बानी बसाल्नु राम्रो हो तर हरेक कार्यक्रममा किताब किन्ने बजेट सबै शुभचिन्तकहरूसँग हुँदैन । लेखक भएका नाताले अबका दिनहरू लेखन र प्रकाशनका दृष्टिले अलि सम्मानित र अनुकरणीय बन्दै जाऊन् भन्ने कामना गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?