भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

हिमालय टाइम्स
Read Time = 7 mins

चितवन । सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।

सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ । अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा रु ९३ करोड ५८ लाख ९५ हजार बीमा दाबी भुक्तानी लिएको छ ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरुमा बीमा दाबी रकम बढेको छ । यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले रु १३ करोड ३२ लाख ४३ हजार दाबी भुक्तानी पाएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार दाबी भुक्तानी लिएको थियो । बीमामा बिरामीको आकर्षण बढेकै कारण सङ्ख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो ।

पौडेलले भन्नुभयो, “दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो”, स्वास्थ्य बीमा बोर्डबाट हालसम्म चार सय ५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ । बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ । उहाँले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताउनुभयो ।

स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् । रिफर भएर आउने बिरामीसहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।” बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन् । अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा शाखामार्फत गरिएका मेहनत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्वपूर्ण छ ।” यसरी लाग्नेलाई संस्थागत रुपमा अस्पतालले सधैँ सम्मान गर्ने भन्दै उहाँले अस्पतालमा ओएनएम सर्वेअनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताउनुभयो ।

छ सय शय्याको अस्पतालमा नेपाल सरकारका एक सय ७५ कर्मचारी रहेका छन् । बाँकी अस्पताल विकास समितिले धान्दै आएको छ । ओएनएम सर्वेअनुसार एक हजार ८५ कर्मचारी नेपाल सरकारका हुनुपर्दछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सेवाग्राहीलाई सोचेजस्तो सेवा अझै दिन नसकिएको भन्दै उहाँले क्रमशः सेवामा गुणस्तरीयता वृद्धि गरिँदै लगिने बताउनुभयो । विगतको तुलनामा बिरामीले राम्रो सेवा पाउँदै गएको भन्दै उहाँले जनशक्तिका कारण अस्पतालले चाहे जति गर्न नसकेको बताउनुभयो । बीमा कार्यक्रम अस्पताल सञ्चालनको मुख्य मेरुदण्ड भएको भन्दै उहाँले थप व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालको बीमा कार्यक्रम राम्रो रहेको बताउनुभयो । अस्पतालले बीमा दाबी गर्दा आवश्यक कागजात पुर्‍याएर गरेकाले दाबी गरिएका अधिकांश फाइल सदर हुँदा धेरै रकम लिन सफल भएको उहाँले बताउनुभयो । पछिल्ला वर्षहरुमा अस्पतालको गुणस्तरमा सुधारसँगै बढेका बीमाका बिरामीले राम्रो सेवा पाएको बसौला बताउनुहुन्छ । बोर्डले स्थापना भएपछि हालसम्म रु २४ अर्ब निकासा गरेकोमा सरकारी सेवा प्रदायक सबैभन्दा धेरै रकम भरतपुर अस्पताल गएको उहाँले जानकारी दिनुभयो ।

बोर्डले साउनमा चार सय ५० अस्पताललाई रु दुई अर्ब ६७ करोड भुक्तानी गर्दा भरतपुर अस्पताललाई रु १३ करोड बढी पठाएको छ । बोर्डले सेवालाई व्यवस्थित गर्दै असारसम्मको बाँकी रकम एक महिनाभित्रमा भुक्तानी गर्ने गरी काम गरिरहेको बसौला बताउनुहुन्छ । असारसम्म अस्पतालले भुक्तानी पाउनुपर्ने रकम रु दुई अर्ब ५० करोड हाराहारी छ । स्वास्थ्य बीमा कार्यक्रममा ६० लाख सदस्य बनिसकेका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?