दीपेन्द्र र सीता वर्ष खेलाडी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गरेको एनसिसी सिप्यान वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पुरुषतर्फ दीपेन्द्रसिंह ऐरी र महिलातर्फ सीता रानामगरले जित्नुभएको छ । त्यस्तै, विशेष अवार्ड पारस खड्का, उदीयमान देव खनाल र उत्कृष्ट क्षणको अवार्ड अश्मिना कर्माचार्यले जित्नुभएको छ ।

दीपेन्द्रले गत मार्चमा पपुवा न्युगिनीविरुद्ध ओडिआईमा १०५ र टी-२० आईमा मलेसियाविरुद्ध ११० रनको शतकीय इनिङ खेल्नुभएको थियो । टी-२० आईमा एक खेलमा नेपाली ब्याटरको यो उच्च प्रदर्शन हो । दीपेन्द्र टी-२० आईमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत हुनुहुन्छ ।

दीपेन्द्र आइसिसीको टी-२० आई वरीयतामा शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडीसमेत हुनुहुन्छ । वर्ष क्रिकेट खेलाडीको मनोनयनमा परेका तीव्र गतिका बलर करण केसी, उपकप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेललाई पछि पार्दै दीपेन्द्रले उक्त अवार्ड जित्नुभएको हो ।
यस्तै, वर्ष महिला उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएकी सीता रानामगर नेपाली महिला क्रिकेटबाट अन्तर्राष्ट्रियस्तरमा एक खेलमा सर्वाधिक रन बनाउने ब्याटर हुनुहुन्छ । उहाँले गत वर्ष नोभेम्बरमा कतारविरुद्ध दोस्रो टी-२० आई खेलमा ८२ रनको कीर्तिमानी इनिङ खेल्नुभएको छ । महिला वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा ज्योति पाण्डे, इन्दु बर्मा, सीता रानामगर, कविता कुँवर र रुविना क्षेत्री हुनुहुन्थ्यो ।

त्यस्तै, सिप्यान विशेष अवार्ड पूर्वकप्तान पारस खड्काले जित्नुभयो । पारसले एक लाख ३२ हजार पुरस्कार प्राप्त गर्नुभयो । पारसको कप्तानीमा नेपालले डिभिजन पाँचदेखि तीनसम्मको उपाधि, पहिलोपटक २०१४ मा टी-२० विश्वकप र २०१८ मा ऐतिहासिक ओडिआई मान्यता पाएको थियो ।

सिप्यान उदीयमान खेलाडीको अवार्ड जित्नुभएका देव खनालले स्पिनर सागर ढकाल, अलराउण्डर आदिल अन्सारी, आक्रामक ब्याटर लोकेश बम, लेग स्पिनर हिरान्मई रोयलाई पछि पार्नुभयो । देवले १० खेलमा २ अर्धशतकसहित २५३ रन बनाउनुभएको छ ।
वर्षको उत्कृष्ट क्षणको अवार्ड जित्नुभएकी अश्मिना कर्माचार्यले गत जुनमा टी-२० एशिया कप छनोटको सेमिफाइनलमा युएईविरुद्ध ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?