श्रीलंकाले पाकिस्तानलाई हरायो

हिमालय टाइम्स
Read Time = 3 mins

दुबई । श्रीलंकाले युएईमा जारी टी-२० एशिया कपको सुपर फोरमा पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ ।

जितका लागि १२२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । श्रीलंकाका ओपनर पाथुम निसंकाले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन जोड्नुभयो । निसंकाको यो लगातार दोस्रो अर्धशतक हो । भारतलाई हराउन निसंकाले ५२ रनको योगदान दिनुभयो ।

त्यसबाहेक भानुका राजपक्षे १९ बलमा २ छक्कासहित २४, कप्तान दासुन शनका १६ बलमा १ चौका र २ छक्कासहित २१, धनञ्जय डि सिल्भा ९ र वानिन्दु हसरंगाले १० रन बनाउनुभयो । पाकिस्तानका मोहम्मद हसनैनले ३ ओभरमा २१ रन खर्चेर २ तथा हरिस रौफले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९.१ ओभरमा सबै विकेट गुमाएर १२१ रनमात्रै बनाउन सक्यो । पाकिस्तानका बाबर आजमले २९ बलमा २ चौकासहित ३०, ओपनर मोहम्मद रिजवान १४, फखार जमान र इख्तिखर अहमदले १३-१३ रन बनाउनुभयो ।
श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिनुभयो । महेश थिक्सनाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिनुभयो । डेब्यु खेल खेलेका प्रमोद मदुशानले २.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिनुभयो ।

आइतबार फाइनलमा उपाधिका लागि श्रीलंका र पाकिस्तानबीच नै प्रतिस्पर्धा हुनेछ । भारत र अफगानिस्तान भने सुपर फोरबाटै बाहिरिए । श्रीलंकाले सुपर फोरमा भारतलाई ६ विकेट र अफगानिस्तानलाई ४ विकेटले पराजित गरेको थियो । पाकिस्तानले भारतलाई ५ विकेट र अफगानिस्तानलाई एक विकेटले हराएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?