नेपाल यू-१७ को सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । श्रीलंकामा भएको पुरुष साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलंकाको कोलम्बोस्थित रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्यो भने भारत पनि उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो ।

समूह ‘बी’ मा नै रहेको भुटान भने अंकविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भारतले पनि भुटानलाई पराजित गरेको थियो । नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले समान १/१ गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता भने भारतले लिएको थियो । खेलको २५औं मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाउनुभएको थियो ।

भारतको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४५औं मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । पहिलो हाफसम्म १-१ गोलको बराबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ४९औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाउनुभयो । यसैगरी खेलको ६८औं मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३-१ गोलको जित दिलाउनुभयो ।

यस जितसँगै नेपालले शीर्ष ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलंका र बंगलादेश गरी छ राष्ट्र सहभागी छन् ।

यस्तै, अर्को खेलमा आयोजक श्रीलंकाले माल्दिभ्सलाई १-० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । श्रीलंकालाई जित दिलाउन मोहमद मुफासले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको दशौं मिनेटमा गोल गर्नुभयो ।

यस जितसँगै समूह ‘ए’ को श्रीलंकाले दुई खेलमा तीन अंक जोड्यो । श्रीलंका समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । यस समूहबाट बंगलादेशले समूह विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ । अब श्रीलंकाले सेमिफाइनलमा नेपालको सामना गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?